
काठमाडौं, ११ भदौ
ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट संकलित रकम हस्तान्तरण गरिएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले संकलन गरेको उक्त रकम सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
मगर अन्तराष्ट्रिय मञ्चको आह्वानमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, जनप्रगतिशिल मञ्च, लाङघाली स्पोर्टस् समूह, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले कुमार रानाको जीवन रक्षाका लागि साउदी अरबमा संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
नेतृत्वकर्ता सुनारीका श्रीमती कुमारी सुनारी मगरको उपस्थितीमा नेपाल मगर संघका विदेश विभाग सचिव रक्षबहादुर रैका मगर, संघका कोषाध्यक्ष कमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज सादीका अर्जुन, गमन तामाङले ‘कुमार राना बचाउनका निम्ती ब्लडमणी संकलन अभियान’का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाका श्रीमती अम्बिका रानालाई हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा रकम बुझ्दै अभियानका संयोजक ढकालले राउदी अदालतले तोकेको २ लाख ९४ हजार रियलमध्ये पीडित पक्षसँग कुराकानी गर्दा ४४ हजार रुपैयाँ पीडित पक्षले माफी दिने लिखित सहमति भएको बताउदै कुमारले काम गर्ने कम्पनिले ५० हजार रियल दिने मौखिक सहमति गरेको बताए। तर कम्पनिले लिखित सहमति नगरेका उक्त रकम अहिलेसम्म निश्चिित नभएको बताए।
ढकालले कम्पनिले रकम उपलब्ध गराएमा अदालतले तोकिएको ब्लडमणी संकलन भइसकेको र कम्पनिले आश्वासन दिएको रकम नआएमा अझै थप ७ लाख रुपैयाँ जति आवश्यक पर्ने बताए। अभियानका अनुसार हालसम्म करिब ६७ लाख १६ हजार बढी रकम संकलन भइसकेको छ ।
रोजगारीका लागि साउदी गएका गोरखाका कुमार राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए । दुर्घटनामा साउदीका नागरिक घाइते भई ८३ लाख रुपैयाँ माग दाबी गर्दै उनलाई जेल पठाइएको थियो ।
यसअघि सुनारीको नेतृत्वमा ब्लडमणी तिर्न नसकेर साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ती मगरलाई बचाउन ९ लाख २७ हजार १ सय १८ रुपैयाँ सहयोग गरेको थियोे ।
Facebook Comments