Loading...
डुङ्गा दुर्घटनाका मृतक परिवारलाई मुख्यमन्त्रीद्वारा २ लाख दिने घोषणा, घाइतेलाई २५ हजार

रौतहट, ११ भदौं । मुख्यमन्त्री लालबाबु राउतले गौर नगरपालिका ४ टिकुलिया स्थित लालबकैया नदीमा डुंगा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका मृतक परिवारलाई तत्काल राहत स्वरुप २ लाख रुपैया राहत र क्रिया खर्च बापत २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
घटना स्थलको स्थलगत निरीक्षण पछि मुख्यमन्त्री राउतले राहतको घोषणा सहित घाइते हरुलाई २५ हजारको दरले उपचार खर्च उपलब्ध गराइने समेत बताउनु भयो ।
गौर नपा ४ टिकुलिया औरैयाको विचमा रहेका बकैया नदीमा निर्माणाधिन पक्कि पुलको पिलरमा ठोक्किएर गत शनिवार साँझ डुंगा दुर्घटनाग्रस्तहरु पाँच जनाको मृत्यु भएको थियो भन्ने करिब २० जना घाइते भएका छन ।
मुख्य मन्त्री राउतले डुंगा दुर्घटनामा परेर मृत्यु भएका परिवार प्रति समवेदना प्रकट गर्दै पुल निर्माणमा भएको ढिलाई बारे संघीय सरकार संग समन्वय गरेर छानविन समेत गरिने बताउनु भयो । उहाँले भन्नु भयो,‘ यो घटना दुःखदायी हो , यस्तो घटना पुनः नदोहरियोस त्यसलाई छानविन गरि दोषी माथि कारबाहीको प्रक्रिया अघि बढाइने छ ।’
सो क्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, संघीय सांसद एवं पूर्व मन्त्री अनिल झा, प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद, नागेन्द्र यादव, बाबुलाल साह , गौर नपाका मेयर अजय गुप्ता, देवाही गोनाही नपाका मेयर धर्मेन्द्र पटेल सहित स्थानीय जनप्रतिनिधि र जिल्लाका प्रशासनीक अधिकारीहरुको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री राउतले आजै बागमती नदीले राजदेवी नगरपालिकाको बसतपुर र ब्रह्मपुरीमा गर्दै आएको कटानको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।
निरीक्षणको क्रममा उहाँले बागमति सिचाई योजनाको पदाधिकारीहरुलाई तत्काल कटान नियन्त्रण गर्न निर्देशन दिदै कटान नियन्त्रणका लागि प्रदेश सरकारले समेत सहयोग गर्न तयार रहेको बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *