Loading...
मधेशमा भएको विद्रोहको राप तापले मुलुक नै खरानी भए, तर मधेशले के पाए, के गुमाए ?

कुमार कश्यप

आज असोज ३ गते विहान विहानै मनमा एउटा खुलदुल्लीले डेरा जमाएको छ । आजकै दिन तत्कालिन ठूला तीन दल काँग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको हो । मधेशी ,आदिवासी, जनजाति लगायतका पिछडा वर्गले गर्दैको आएको विरोधलाई वाइपास गर्दै दुई तिहाईको बलमा आएको हो यो संविधान, अर्थात नेपालको संविधान २०७२ । आदिवासी जनजातिहरुले सांकेतिक विरोध गरि रहे पनि मधेशको विद्रोहको राप तापले मुलुकनै जलि रहेको थियो । ६ महिने आन्दोलनमा भएको त्यो नाकाबन्दी जसले मुलुकको अर्थतन्त्रलाई नै धारासायी बनायो । मधेशमा ६० जना भन्दा सपुतहरुले शहादत दिए । तर ठूला तीन दल टसका मस पनि भएन । संविधान जारी मात्र भएन, कार्यान्वयनका बाटोमा समेत अगाडी बढ्यो । तीनै तहका निर्वाचन सम्पन्न भए ।
मधेश आन्दोलनको नेतृत्व लिएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ढिलो चाँडो चुनावमा सहभागी पनि भए । संघीय संसद र प्रदेश सभामा उपस्थिति समेत जनाए । फोरम नेपाल केन्द्रिय सरकारमा उपप्रधामन्त्री सहित सहभागी छन भने राजपा नेपाल बाहिर। बाटै सरकारलाई समर्थन गरेको छ । प्रदेश नं. २मा त फोरम नेपालको नेतृत्वमा फोरम र राजपाको सरकार नै छ । स्थानीयतहमा पनि दुबै दलको कमोवेस उपस्थिति छ । तर प्रश्न उठ्दछ , आखिर मधेशले के पाए, के गुमाए ? यही प्रश्नको उत्तर खोज्ने प्रयास आज मेरो मनमस्तिस्कले विहानै देखी गरि रहेको छ । प्रश्न अलि गाह्रो नै छ । तर उत्तर त खोज्नै पर्दछ । यो प्रश्नको उत्तर मैले मात्र नभई म जस्तै हजारौ युवा हरुले खोजि रहेका छन, होलान । २०६३ सालमा अन्तरिम संविधान जारी भए लगतै शुरु भएको मधेश विद्रोहले आफनो १२ वर्ष पुरा गरि रहदा यस्ता प्रश्नहरुको उत्तर खोतल्नु आवश्यक पनि । किन भने , आन्दोलनमा होमिएकाहरु मध्ये कतिपय सत्तामा छन भने कतिपय अहिले पनि आन्दोलनकै विगुल फुकि रहेको छ । कतिपय त सत्तामा पनि छन, आन्दोलनको राग पनि अलापी रहेका छन । ई कुरा हरु आ–आफ्नो ठाँउमा छदैछ । तर पनि प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
आन्दोलनकारीको मनोभावलाई मात्र व्याख्या नगरि समग्र मधेश आन्दोलनकै उपलब्धि र अवसानवारे सूक्ष्म विश्लेषण गर्नु आवश्यक देखिन्छ । २०६३मा मधेश आन्दोलनको शंखनाद हुँदा बखत संघीयता, समग्र मधेश एक प्रदेश, आत्म निर्णयको अधिकार सहितको प्रादेशिक स्वायत्तता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशिता लगायतका मुद्दाहरु प्रखर रुपमा अघि बढेको थियो । यही मुद्दाका लागि भएको पहिलो मधेश विद्रोहले तत्कालिन सरकारलाई झुकाउन बाध्य समेत बनायो । अन्तरिम संविधानमा संशोधन पनि भयो । संघीयताले स्थान पायो, मधेश लगायत अन्य प्रदेशहरु स्वायत्त हुने समेत लेखियो । समावेशिताले केही हद सम्म स्थान पायो । पहिलो संविधान सभाको निर्वाचन भयो । परिवर्तनकारी शक्तिले राम्रो स्थान पाएकै थियो । तर दुई तिहाई पुग्न सकेन । र अन्ततः संविधान निर्माण नै नभई पहिलो संविधान सभाको अवसान भयो । लगतै भएको दोस्रो संविधानसभाको निर्वाचनले राजनीतिक कोर्षनै परिवर्तन भयो । काँग्रेस ठूलो दलको रुपमा उदाए भने , परिवर्तनकारी भनिएका दलहरु पुछारमा समेटिए । त्यसैको प्रतिफल माओवादीको सशस्त्र विद्रोह र मधेशको जनविद्रोहले उठाएका मुद्दाहरु ओझेलमा परे । आज पुनः मधेशमा आन्दोलनको राप देखिदैछ । राजपा नेपाल सडकमा कालो दिवस मनाई रहेका छन । भने फोरम नेपाल मौन बसेका छन ।, नत संविधान दिवस मनाई रहेका छन , नत विरोधमा कुनै कार्यक्रम गरि रहेको छ । संघीयता, समावेशिता स्थापित भएका कारण आन्दोलनमा लागेकाहरु केही हद सन्तुष्ट पनि देखिएका छन। भने केही पूर्ण समानुपातिकता नभएको, संघीयतालाई विकृत बनाएको भन्दै असन्तुष्टि जनाइ रहेका छन । हुन त यो निर्मणको चरणमा छ ।
हतारमा गरिएको संविधान निर्माणले आज शासक वर्ग आफै संकटमा परिरहेका छन । संविधान त्रुटिपूर्ण छ भनी स्वीकार समेत गरि रहेका छन । प्रदेशहरु पानी विनाको माछा झै छट्पटाई रहेका छन । कालो दिवस मनाउनेहरुको मन छटपटी नै रहेको छ भने दिपावली मनाउनेहरु समेत आजको मितिमा सन्तुष्ट देखिएका छैनन् । मधेशले के पाए, के गुमाए ? यस प्रश्नको उत्तर अहिलेनै खोजी हाल्ने अवस्था आएको छ जस्तो मलाई लाग्दैन । मधेश आन्दोलनका दुई सारथीले लिएका फरक फरक विचारमा कुन सही हो यसको उत्तर खोज्न केही वर्ष पर्खिनै पर्ने हुन्छ ।

Chat Conversation End

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *