
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल काठमाडौँ महानगरपालिका वडा नं २५ को अधिवेशन माघ १२ गते शनिवार प्रदिप्त पुस्तकालयको हलमा सम्पन्न भएको छ । उक्त भेलामा प्रमुख अथिति पार्टी सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालभाषामा सम्बोधन गदै नेवाः एउटा समुदाय मात्र नभई राष्ट्रियता भएको बताए ।
नेता श्रेष्ठले गोर्खा राज्य विस्तार पूर्व यहाँ कामको खोजीमा आएर बसेका सबै जातिहरू यहाँसम्म कि इराकबाट आएर बसेका मुस्लिम समेत ‘नेवाः मुस्लिम’ कहलिएको बताए । उनले मिथिला, सेन राज्य, कपिलवस्तु जस्तो तराई मधेसबाट आएर बसेका व्यक्तिहरू समेत यहाँको भाषा, संस्कृति ग्रहण गर्दै नेवाकरण भएको बताए । उनले भने, ‘तर अब यो प्रकृया अवरुद्ध भएको छ । त्यसैले हामीले पहिचान सहितको सङ्घीयता माग गरेका हौँ ।’
सङ्घीय शासन व्यवस्थाका एक आर्किटेक्ट कहलिएका श्रेष्ठले सङ्घीय संसदका दुबै संसदबाट स्थानीय तहले प्लस टु सम्म मातृभाषामा शिक्षा दिने गरी विधेयक पारित भइसकेको सन्दर्भमा काठमाडौँ महानगरपालिकालाई नेपालभाषामा स्कूल खोल्न समेत अनुरोध गरे ।
अधिवेशनका विशिष्ट अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय सुरेन्द्र कुमार यादवले नेवाः र मधेस एक आपसमा परिपूरक भएको बताउँदै आफूलाई नेवाः प्रदेशमा बस्दा गर्भको अनुभूति भएको बताए । उनले नेवाः प्रदेशका जनतालाई पुरानो सत्ताले शोसन र शासन गरेको बताउँदै त्यसबाट मुक्तिका लागि सङ्घीय समाजवादी पार्टीसँग फोरम नेपाल एकीकरण भएको बताए ।
राज्यमन्त्री यादवले सङ्घीय समाजवादी फोरम समावेशी राष्ट्रिय पार्टी भएको बताउँदै पहिचान र अधिकार सहितको सङ्घीयताको आन्दोलन अब उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठहरू जस्तो बौद्धिक नेताहरू भएको यस पार्टीले बाहेक अरुले गर्न नसक्ने भएकाले यस पार्टीमा संगठीत हुन सबैलाई आह्वान गरे ।
अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समिति प्रमुख डा. महेश मान श्रेष्ठ, केन्द्रीय सदस्यहरू आङकाजी शेर्पा, लालवहादुर तामाङ, पवित्र वज्राचार्य, काठमाडौ जिल्लाका अध्यक्ष तथा वैकल्पीक केन्द्रीय सदस्य मनरत्न शाक्य, कामपा २५ वडाका वडाध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता नीलकाजी शाक्यले पनि शुभकामना मन्त्ब्य दिएका थिए ।
अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न सो अधिवेशनमको अध्यक्षता जिल्ला सदस्य सृजन श्रेष्ठ तथा सञ्चालन जिल्ला सचिव सुवर्ण श्रेष्ठले गरेका थिए । अधिवेशनमा जिल्ला समिति सदस्यहरू श्याम कृष्ण प्रजापति, वि. जि. रत्न, मंगल रत्न ताम्राकार, आशारत्न डंगोल, चन्द्र कुमार महर्जन, राजाराम तण्डुकार, सुरज महर्जन, मनिष श्रेष्ठ, रुद्र देवभण्डारी लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
अधिवेशनले मनोज कर्मचार्यको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ । पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन आगामी बैशाख २८,२९ र ३० गते तय भएकोले अहिले देशैभरि वडा, नगर र गाउँ अधिवेशनहरू सम्पन्न भइरहेको छ ।
Facebook Comments