Loading...
सिँहदरवारमा बस्नेहरू सङ्घवाद आधारभूत मान्यताहरूको बारेमा अध्ययन गर्नुपर्छ- सांसद श्रेष्ठ
काठमाडौँ, १९ माघ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं २० को प्रथम वडा अधिवेशन पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले दीप प्रज्वलन गरेर उद्घाटन गरे ।
अध्यक्ष कुमार डंगोलको अध्यक्षतामा भएको उक्त अधिवेशनमा प्रमुख अतिथि श्रेष्ठले भने, ‘नेपाल जस्तो विविधतायुक्त मुलुकमा सामन्ती अधिनायकवादीहरूको भजन गाएर होइन, सङ्घीय समाजवादी बाटो अंगालेर मात्र नेपालको राष्ट्रिय एकता जोगाउन र समतामूलक समृद्धिको ढोका खोल्न सकिन्छ ।’ उनले भने, ‘ससफोले अंगीकार गरेको दुई वाद– सङ्घवाद र समाजवाद नेपालको राष्ट्रिय एकता र समृद्धिको आधार हो ।’
नेता श्रेष्ठले सङ्घीयतालाई विकेन्द्रीकरणको रूपमा नभई शक्ति बाँडफाड र साझेदारीको रूपमा बुझ्न नसक्नु र बुझेर पनि बुझ पचाउनु नेपालका शासक वर्गको षडयन्त्र भएको बताए । उनले सिँहदरवारमा बस्नेहरूले सङ्घवाद भनेको के हो र त्यसको आधारभूत मान्यताहरू के के हुन् भन्ने कुरा अध्ययन गर्नुपर्ने बताए ।
प्रमुख अतिथि श्रेष्ठले मातृभाषामा शिक्षाका लागि संसदमा ऐन कानुन बनाएर मात्र पार्टीको दायित्व पूरा नहुने भन्दै त्यसका लागि ससफोले प्रत्येक स्थानीय तहमा त्यहाँ बाहुल्यता भएको राष्ट्रिय भाषामा स्कूल खोल्न जनदवाव सृजना गर्नुपर्ने बताए ।
अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका प्रमुख डा महेशमान श्रेष्ठ, केन्दीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्राचार्य, जिल्ला अध्यक्ष मनरत्न शाक्य तथा पार्टी जिल्ला सदस्य  एवम् महानगर अध्यक्ष श्री मंगल रत्न ताम्राकारले पनि शुभकामना मन्तब्य दिएका थिए । अधिवेशनमा जिल्ला समिति सदस्यहरू सुरज महर्जन, सुर्यमान डंगोल, ओमरत्न ताम्राकार, ओम राज, महानगर उपाध्यक्ष विजय डंगोल तथा वरुण प्रसाद बैद्य, नन्दकाजी श्रेष्ठ लगायतका स्थानीय बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो  ।
चन्दन श्रेष्ठले उद्घोषण गरेको उक्त अधिवेशनको बन्द सत्रले पुनः कुमार डंगोलकै अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *