
रुकुम पूर्व – कुटपिटबाट घाइते भएका पूर्व सहायकमन्त्रीसहित दुई जनालाई थप उपचारके लागि काठमाण्डौ पठाइएको छ । रुकुम पूर्वको सदरमुकाम विवादमा भइरहेको आन्दोलनका क्रममा स्थानीयले शानिबार रुकुम पश्चिमबाट रुकुमकोट जाँदै गरेका पूर्व सहायकमन्त्रीसहित रुकुमपूर्वका ४ जना नेतालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते पूर्व सहायकमन्त्री एवम् नेपाली कांग्रेसका नेता केशरमान रोका र नेकपाका नेता सतमान पुनलाई आइतबार काठमाण्डौ पठाइएको छ ।
रुकुमकोटमा सदरमुकामको माग गर्दै आन्दोलितआन्दोलनकारीले नेपाली कांग्रेस रुकुम पूर्वका सभापतिसमेत रहेका पूर्व सहायकमन्त्री रोकासहित नेकपाका नेता पुन, पुनिराज घर्ती र कांग्रेस नेता ध्रुवकुमार पुनलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट पुनिराज र ध्रुवलाई सामान्य चोट लागेको भए पनि पूर्व मन्त्री रोका र सतमानलाई बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
उनीहरु दुवै जनालाई नेपाल वायुसेवा निगमको जहाजमार्फत आइतबार रुकुम पश्चिमबाट नेपालगञ्ज हुँदै काठमाण्डौ पठाइएको छ। जिल्ला अस्पतालका डाक्टरको सल्लाहअनुसार उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको उहाले बताउनुभयो ।
नयाँ जिल्लाको रुपमा स्थापित रुकुम पूर्वको सदरमुकामबारे विवाद कायमै छ । उक्त जिल्लाको सदरमुकाम रुकुमकोटमा कि खोल्गाडामा राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । २०७४ माघ ११ गते नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिल्लाको सदरमुकामको केन्द्र पुथा उत्तरगंगागाउँपालिका–१२ को गोल्खाडामा राख्ने निर्णय गरेको थियो ।
रुकुमकोटवासीले सरकारले गरेको निर्णय खारेजको माग गर्दै रुकुमकोटमै स्थायी सदरमुकाम कायम गरिनुपर्ने बताएका छन् । माघ १६ गते अधिवक्ता गणेश हमाल र स्थानीय कृष्ण रेग्मी, दत्तबहादुर बस्नेतले सरकारको निर्णयको खारेजी माग गर्दै सर्वाेच्चमा रिट दर्ता गरेका थिए । यस विषयमा सर्वाेच्चले अहिलेसम्म १६ पटक पेशी सार्दै आएको छ । आगामी २७ गते सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
rajaneeti.com
Facebook Comments