
नरेन्द्र साह,माघ २०,रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले राती माइक बजाएर ध्वनि प्रदुषण गर्नेलाई कारवाहीको दायरामा ल्याउने भएको छ। रौतहटको सदरमुकाम गौर लगायत बिभिन्न क्षेत्रमा रातभरि ठूलो आवाजमा माइक बजाएर ध्वनि प्रदुषण भएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरेको छ। अनुमति बिना संचालन भएका यान्त्रिक साधनबाट ध्वनी निष्कासन गरी सर्बसाधारणको स्वास्थ्यमा हानी पुर्याएको भन्दै त्यस्तालाई कारवाहीको दायरामा ल्याउन र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय लाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताएका छन्।
बिभिन्न धार्मिक पर्व, अनुष्ठान, बिबाह, ब्रतबन्ध, आदिका नाममा रातभर ठूलो आवाजमा माइक लगाई ध्वनि प्रदुषण गर्ने काम भइरहेकोले यसलाई नियन्त्रण गर्न आबश्यक रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतबाट अनुमति लिएर मात्रै यस्ता यान्त्रिक साधन बजाउन समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरेका छन्। धार्मिक वा सामाजिक कार्यको नाममा राति १० बजेदेखि बिहान ६ बजेसम्म ध्वनि प्रदुषण हुँदै आएको छ।
यसको उल्लघन गर्ने ब्यक्ति या समूहलाई प्रचलित कानुन बमोजिम कैद वा जरिवाना वा दुबै हुन सक्ने जनाइएको छ। मुलुकी अपराधसहिता (ऐन) ०७४ को दफा ११२ को उपदफा २ बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनि प्रदुषण गर्नै नपाइने नियम रहेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले अनुमति लिएर मात्र संघ संस्था तथा ब्यक्तिले सिसि क्यामरा जडान गर्न आग्रह गरेको छ।
Facebook Comments