Loading...
फोरम नेपालको लक्ष्य विभेद मुक्तिसंगै राजनीतिक स्वतन्त्रता र आर्थिक समृद्धि- सहअध्यक्ष श्रेष्ठ
काठमाडौँ, २१ माघ । सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं ९ र ३१ को प्रथम वडा अधिवेशन पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले दीप प्रज्वलन गरी संयुक्त रूपमा सिनामंगलमा उद्घाटन गरेको छ । अलग अलग रूपमा नेतृत्व चयनका लागि भएको बैठकबाट सर्वसम्मतीले नतृत्व पनि चयन भएको छ ।
पार्टीका ३ नम्बर प्रदेशका सदस्य शहरमान राईको अध्यक्षतामा भएको उक्त संयुक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पार्टीका सहअध्यक्ष श्रेष्ठले, ‘ससफोको लक्ष्य विभेद मुक्तिसँगै राजनीतिक स्वतन्त्रता र आर्थिक समानता तथा समृद्धि हो’ भने । उनले आफ्नो पार्टीले सङ्घीय शासन, समाजवादी व्यवस्था, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक प्रतिनिधित्व, स्वशासन र स्वायत्तता, समतामूलक समृद्धि जस्ता परिवर्तनकारी मुद्दाहरू यसैका लागि उठाएको बताएको छ ।
नेपालको कम्युनिष्ट पार्टीहरू एकल जातीय पार्टी भएको हुँदा कम्युनिष्ट पार्टी सत्तारुढ हुँदा समेत राज्यमा सबै क्षेत्रमा सबैको बरावरी अधिकार हुन नसकेको बताउँदै उनले भने, ‘जस्तो समाज उस्तै पार्टी नबनेसम्म राज्यमा समानुपातिक समावेशीको एजेण्डा स्थापित हुन सक्दैन ।‘ उनले भने, ‘मानिसले मानिसलाई गर्ने सबैखाले शोषणको अन्त्यका लागि अब नयाँ विचार बोकेर मात्र हुन्न संगठनात्मक क्षेत्रमा पनि नयाँपन हुनु पर्दछ । त्यसका लागि समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय ढाँचाको राष्ट्रिय चरित्रको पार्टी आवश्यक छ ।’
अधिवेशनमा बोल्दै पार्टीका के.स. तथा ३ नम्बर प्रदेशका उपाध्यक्ष मञ्जु अन्सारीले काठमाडौँमा पनि संगठन सुदृढ हुँदै गएको बताइन । उनले भनीन्, ‘दिनानुदिन पुराना पार्टीहरू छोड्दै सङ्घीय समाजवादी फोरममा प्रवेश भइरहेकाले पार्टीमा उत्साह बढ्दो छ ।’
ससफो केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज पवित्र वज्रचार्यले नेकपाका नेताहरूको जीवन शैलीको सनदर्भमा प्रश्न गर्दै भने, ‘चप्पल लाएर काठमाडौँ छिरेका कम्युनिष्ट पार्टीका नेताहरू कसरी रातारात धनाद्य भए ? के यो भ्रष्टाचार होइन ?’ उनले भने, ‘अव सुशासन र देश विकासका लागि एक मात्र आशा ससफो हो ।’
पार्टीका केन्द्रीय सदस्य रीता अग्रवाल, वैकल्पीक के.स. तथा काठमाडौँ जिल्ला अध्यक्ष मनरत्न शाक्य, केन्द्रीय परिषद सदस्य राकेश राईले समेत शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रममा पार्टी के.स. तथा ३ नम्बर प्रदेश अध्यक्ष लालवहादुर तामाङ, केन्द्रीय निर्वाचान समिति सदस्य हिरण्यमान मानन्धर, जिल्ला समिति सदस्य मंगलरत्न ताम्राकार र दीपक खड्गी आदिको पनि उपस्थिति रहेको थियो ।
पार्टीका वैकल्पीक केन्द्रीय सदस्य सन्तोष सिलवालले सञ्चालन गरेको उक्त अधिवेशनमा कामपा वडा नम्बर ९ का अध्यक्ष गोपाल तण्डुकारले स्वागत गरेका थिए । अधिवेशनमा पुरानो समितिको तर्फबाट वडा नं. ९ को राजनीतिक प्रतिवेदन बागधन राईले तथा वडा  नं. ३१ को प्रतिवेदन धर्मानन्द राईले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी करीव ५० जना नेता कार्यकताहरू ससफोमा प्रवेश गरेका थिए ।
अधिवेशनले कामपा वडा नम्बर ९ मा पुनः गोपाल तण्डुकारकै अध्यक्षतामा १५ सदस्यीय वडा समिति तथा कामपा वडा नम्बर ३१ मा रविन राईको अध्यक्षतामा १५ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । कार्यक्रमको अन्त्यमा नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष रविन राईले आफ्नो वडामा ससफोलाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए भने जिल्ला अध्यक्ष मनरत्न शाक्यले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *