Loading...
फोरम नेपाल र सरकारबीच खटपट : पार्टीले दियो सरकारबाट बाहिरिने चेतावनी

संघीय समाजवादी फोरम नेपाल सरकारमाथि दबाब बढाउन शुरु गरेको छ । सविधान संशोधन, निलम्बन सांसद हरिनारायण रौनियारको फुकुवा लगायतका विषयमा रुष्ट रहेका फोरम नेपाल सरकारप्रति कडा हुँदै गइरहेको छ ।

फोरम नेपालका सांसदहरुले आज सभामुख महरासँग भेटेर निलम्बन फुकुवा गर्न दवाव दिएका छन् ।

भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न दवाव दिनका लागि फोरम नेपालका सांसदहरु हिजै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेट्न समय माग गरेका थिए । तर, सभामुख महराले व्यस्तता देखाउँदै समय दिएका थिएनन् ।

त्यसपछि फोरम नेपालका महासचिव एवं सांसद रामसहाय यादवको नेतृत्वमा गएका सांसदको टोलीले सभामुखको कार्यालयमा पत्र दर्ता गराएर फर्केका थिए । पत्र दर्ता गराएको जानकारी पाएपछि महराले आज १२ का लागि समय दिए ।

आजको भेटघाटमा फोरमका सांसदहरुले निलम्बन सांसद रौनियारलाई फुकुवा गर्नुपर्ने माग राखेका राखेका छन् । संसदीय दलका उप नेता समेत रहेका महासचिव यादवको नेतृत्वमा गएको टोलीले नियमावली विपरित गरिएको निलम्बन फुकुवा हुनुपर्ने माग गरेको छ ।

सभामुख महराले कानुन मन्त्रीसँग सल्लाह गरेर यस विषयमा अगाडि बढ्ने आश्वासन दिएको महासचिव यादवले बताए । ‘सभामुख महरा सकारात्मक हुनुहुन्छ, कानुनमन्त्री भानुभक्त ढकाललाई सबै डकुमेन्टस् दिएर यसको अध्ययन गरी प्रकृया अगाडि आजै बढाउने भन्नुभएको छ,’ यादवले भने, ‘हामीलाई विश्वास छ, रौनियारको निलम्बन फुकुवा हुन्छ । यदि भएन भने त्यसपछि पार्टी बैठक बसेर अरु थप निर्णय लिन्छ ।’

माघ १८ गते फोरम नेपालको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले असोज २१ गते संघीय संसद सचिवालयले सूचना जारी गरी प्रतिनिधिसभाका सांसद हरिनारायण रौनियारलाई गरिएको निलम्बन संविधान र प्रतिनिधिसभा नियमावली २०७५ को विपरित रहेको ठहर गरेको महासचिव यादवले बताए ।

यसअघि, फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको नेतृत्वमा गएका टोलीले पुस २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ratopati मा प्रकाशित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *