
जनकपुरधाम, फागुन १७ । मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी समायोजनको नाउँमा मुलुकमा अन्यौलता सृजना गर्ने कार्य हुन लागेको बताउनु भएको छ ।
डिप्लोमा इन्जिनियर्स एशोसिएन नेपाल प्रदेश नं. २को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले हालको कर्मचारी समायोजन प्रक्रियाले मुलुकमा द्वन्द सृजना गर्ने खतरा रहेको औल्याउनु भयो ।
उहाँले प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीहरुलाई दोस्रो दर्जा सरह व्यवहार हुनु मुलुकको हितमा नहुने उल्लेख गर्नु हुँदै त्यस्ता कामलाई अविलम्ब सच्याउन संघीय सरकार संग आग्रह गर्नु भयो ।
मुलुकको विकास निर्माणमा डिप्लोमा इन्जिनियरहरुको ठूलो भूमिका रहेको उल्लेख गर्नु हुँदै उहाँले विकास निर्माणको लागि इमान्दारिताको लाग्न आग्रह गर्नु भयो ।
प्रदेश नं. २का संयोजक दशरथ यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सार्क डिप्लोमा इन्जिनियर्स फोरमका अध्यक्ष कामेश्वर प्रसाद सिंह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो।
अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सम्पन्न हुने छ।
Facebook Comments