Loading...
धार्मीक विधि अनुसार क्षमा पुजा गर्दै शुरु गरियो बौद्ध स्तुपाको मर्मत कार्य

धार्मीक विधि अनुसार ‘क्षमा पुजा’ गर्दै बौद्ध स्तुपाको मर्मत कार्य शुरु गरिएको छ । बौद्ध स्तुपा मण्डलाको पहिलो तलाको सतहको केही भाग उकिएर भत्किएपछि शनिवारबाट मर्मत कार्य शुरु गरिएको हो । धार्मीक परम्परा अनुसार बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक परमपुज्य औतारी धर्मगुरु रेम्पोर्छे चिनिया लामा भूपति बज्र लामाले विहान ९ बजेको शुभ साइतमा ‘क्षमा पुजा’ गरेपछि मर्मत कार्य शुरु गरिएको हो ।

विश्वको एक मात्र चिन्तामणीको रुपमा रहेको बौद्ध स्तुपामा कुनै पनि मर्मतसंहार लगायतका कार्य गर्दा क्षमा पुजा गरेर मात्र शुरु गर्नु पर्ने चलन छ । मर्मतका क्रममा केही कम्जोरी भए सबै भक्तहरुलाई क्षमा होस् भनेर धार्मीक मान्यता अनुसार क्षमा पुजा गर्ने परम्परा रहेको आचार्य छेवाङ रिग्जिन तामाङले बताए । चार लाख ९० हजारको लागतमा उक्त मर्मत कार्य गर्न लागिएको बौद्ध नाथ क्षेत्र विकास समतिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

मौसमले साथ दिए १५ दिन भित्र मर्मत सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष लामाले बताए । मर्मतका लागि पुरातत्व विभागको स्वीकृति र मापदण्ड अनुसार सूर्की, चुन, बालुवा, चाकु लगायतका परम्परागत निर्माण सामग्री प्रयोग हुने बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाहकार समितिका संयोजक आनन्दु लामाले बताए । बौद्ध स्तुपामा कुनै पनि मर्मत लगायतका कार्म गर्दा पुरातात्वीक मापदण्ड र धार्मीक विधि पुरा गरेर मात्र शुभारम्भ गर्ने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्र र पर्यटकिय गन्तव्यको रुपमा रहेको छ ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *