
काठमाडौँ । संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता गर्न सहमति भएको छ । शक्रबार अबेरसम्म चलेको छलफलपछि एकताको सहमति भएको हो । सहमति पछि एकीकृत पार्टीको नाम भने समाजवादी पार्टी नेपाल राख्ने जनाइएको छ । पार्टीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई संघिय समितिको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने जानकारी प्राप्त भएको छ ।
आजै दुवै पार्टीको केन्दीय समिति बैठक बसेर केन्द्रीय समिति भंग गर्नेछन् भने वैशाख २३ गते पार्टी एकता घोषणा हुने भएको छ ।
पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।
फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।
स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ ।
Facebook Comments