Loading...
पूर्ण प्रेस स्वतन्त्रता, धारा १९को सञ्चारको हक, २७को सूचनाको हकको पक्षमा छौ- सांसद श्रेष्ठ
काठमाडौं, ४ जेठ । समाजवादी पार्टी, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई जनताभन्दा माथि ठान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताएको छ । उनले उक्त कुरा रिपोर्टस नेपालसँगको साक्षात्कारमा बताएको हो । उनले सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै भने, ‘संविधानको धारा ६६ को उपधारा २ मा राष्ट्रपतिबाट सम्पादन गरिने सबै काम नेपाल सरकारको सिफारिस र सम्मतिबाट हुने व्यवस्था छ । यस अनुसार उनले मेरो सरकार होइन नेपाल सरकार भन्नु पर्दथ्यो ।’
नेता श्रेष्ठले प्रश्न गरे, के ओली नेतृत्वको सरकार राष्ट्रपति भण्डारीको सरकार हो ? उनले ओलीमाथि कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो बनाउन खोजेको छ । आफूलाई जनताभन्दा माथि ठान्नेहरू नामका कम्युनिष्ट भए पनि कामका सामन्ती सरदार हुन ।’ उनले भने, ‘कम्युनिष्ट हो भने त त्यहीअनुसारको आचरण र व्यवहार पनि हुनुपर्छ ।’ उनले सङ्घीय गणतन्त्रात्मक युगमा नयाँ संस्कृति बनाउनुपर्नेमा पुँजीवादी देशका अनुुकरण गर्न खोजेकोमा ओलीको कटाक्ष गरेको हो ।
सांसदहरूलाई माननीय भन्ने ट्याग हटाउनुपर्छ  
प्रतिनिधिसभाका सदस्य समेत रहेका सांसद श्रेष्ठले नेताहरूले सङ्घीय गणतन्त्रको युगमा कस्तो संस्कृति बसाउने भन्नेतर्फ विशेष ध्यान दिनुपर्ने सुझाए । पछिल्लो समय नेताहरूबिच कसले कति किलोको माला लगाउने भन्ने गलत संस्कारको विकास भएकोमा उनले चिन्ता व्यक्त गरे । त्यस्तै, उनले जनसेवक हुनुपर्ने सांसदहरुलाई माननीय भनेर सम्बोधन गर्ने व्यवस्था हटाउनुृपर्ने धारणा राखे । उनले भने, ‘सांसदहरूलाई सम्बोधन गर्दा उनीहरू जुन पदमा निर्वाचित भएको हो तद्अनरूप सम्बोधन गरे पुग्छ, पुँजीवादी देशको नक्कल गर्नु हुँदैन, सांसदहरूलाई माननीय भन्ने ट्याग हटाउनुपर्छ ।’
कार्यबाहक अध्यक्ष श्रेष्ठले आफ्नो पार्टी संविधानको प्रस्तावनाले प्रत्याभुति गरेको पूर्ण प्रेस स्वतन्त्रता, धारा १९ को सञ्चारको हक र धारा २७ को सूचनाको हकको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे । उनले भने, ‘संविधानले नै प्रेस स्वतन्त्रताबारे प्रष्ट व्यवस्था गरेको छ । हामी प्रेसलाई कुण्ठित गर्ने कुराको विरोध गर्दछौं । तर प्रेस पनि मर्यादित हुनु पर्छ, गलत समाचारहरू सम्प्रेषण गर्नु हुँदैन ।’
उनले एभिन्यूज टेलिभिजनका पत्रकारले आफ्नो पार्टीका अध्यक्ष एबम् नेपाल सरकारका उपप्रधानमन्त्रीजस्तो व्यक्तित्वलाई मर्यादाबाहिर गएर प्रश्न गरेको र पटकपटक तपाई जान सक्नुहुन्छ भनेको कुरा पत्रकारिताको धर्म विपरित भएको टिप्पणी गरे । उनले भने, ‘पत्रकारहरूले मर्यादाभित्र बस्ने कुरालाई ध्यान दिनुपर्छ ।’
पार्टीको मुख्य नीति जनसङघर्ष   
सरकारबारे गरेको प्रश्नको सन्दर्भमा उनले भने, ‘आफ्नो पार्टीको मुख्य नीति जनसङघर्ष नै हो । सरकारले आफ्नो पार्टीसँग गरेको संविधान संशोधनसँग सम्बन्धित २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने हामी सरकारबाट बाहिरिने छौं र सडक तथा सदनमा सङ्घर्ष अगाडि बढाउँछौँ ।’
राष्ट्रिय जनता पार्टीसँग पार्टी एकताको विषयमा सोधेको प्रश्नको जवाफमा उनले नेपाली विशेषतायुक्त समुन्नत सङ्घीय समाजवादलाई सिद्धान्तको रूपमा स्विकार गर्ने जुनसुकै पार्टीसँग पनि एकता हुने तर नमान्नेसँग एकता नहुने स्पष्ट पारे । उनले भने, ‘यदि राजपाले सङ्घवाद र समाजवादलाई स्विकार्छ भने एकता हुन्छ ।’ उनले राष्टिय जनमुक्ति पार्टी लगायत अरु पार्टीहरूसँग पनि पार्टी एकताको ढोका खुल्ला रहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *