Loading...
जनकपुरमा आन्दोलन भए गोर्खा चुप लाग्दैन, रोल्पामा भए बिरगंज सहन सक्दैन- उपेन्द्र यादव

जनकपुरधाम, जेष्ठ १२ । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच भएको एकीकरण पछि नेता कार्यकर्ताहरुलाई एकताको आवश्यकता र औचित्य बारे जानकारी गराउने उद्देश्यले जनकपुरमा आज आयोजित प्रादेशिक अभिमुखी करण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले राज्यसत्ताबाट विभेदमा परेका मधेशी, आदिवासी, जनजाति, दलित मुस्लिम र विभेदमा परेका खस आर्यलाई एकता सुत्रमा बाँधी सम्मुन्नत राष्ट निर्माणको दिसामा पार्टी अघि बढने उदघोष गर्नु भयो ।
पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबु राम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही मायनेमा राष्ट्रिय एकता कायम गर्ने दावी गर्नु भयो । उहाँले हालको संविधानले राष्ट्रको सार्वभौम सत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभए सम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गर्नु भयो । पहिलो संविधान सभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १को संघीय प्रणालीनै मुलुकको आवश्यकता रहेको जिकीर समेत गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदन हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गर्नु भयो ।
अध्यक्ष यादवले राज्यको स्रोत साधानमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको वरावरको अधिकार नभए सम्म मुलुकमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने उल्लेख गर्नु भयो । नेपाली जनता स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको उल्लेख गनुृ हुँदै उहाँले त्यस विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भयो ।
समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरु विभिन्न खाले अफवाहहरु फैलाई रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढन कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भयो ।
मुलुकमा रहेको तीन वटा क्लस्टर मधेशी –थारु, आदिवासी –जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दावी गर्नु हुँदै उहाँले अन्य पार्टीहरु एकल जातिय र क्षेत्रीय मात्र रहेको टिप्पणी समेत गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ नेता अशोक राईले जनताको निर्देशनलाई आत्मसात गर्दै मुलुकलाई दह्रो विकल्प दिन अहिलेको एकता भएको स्पष्ट पार्नु भयो । उहाँले मुलुकलाई समतामुलक नेतृत्व दिन समाजवादी पार्टी विचार मिल्नेहरु संगको एकता प्रक्रियालाई अझै निरन्तरता दिने उल्लेख गर्नु भयो ।
समृद्धिको अखण्ड किर्तनले मात्र मुलुक समृद्ध नहुने जिकीर गर्नु हुँदै बरिष्ठ नेता राईले समृद्धिको लागि शान्ति, मेलमिलाप, विभेद रहित समाजको निर्माण, समान अधिकार, समावेशिता आदि इत्यादी आवश्यक भएको हुँदा संविधानको संशोधन एक मात्र विकल्प रहेको दावी गर्नु भयो ।
कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पुरा गरेको उल्लेख गर्नु हुँदै समाजवादी पार्टीले अगामी दिनमा देशकै नेतृत्व लिने दावी गर्नु भयो ।
मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्त बारे गाँउ गाँउमा पु¥याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
पार्टीका केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य उर्मिला साह, राम रिझन यादव, प्रदेशका मुख्य सचिव शम्भु झा सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रिय सचिव प्रशान्त सिंहले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *