Loading...

दार्चुलाको व्यासँ गाउँपालिका वडा नम्बर ३ सिनामा धार्मिक तथा पर्यटकीय स्थल तातोपानी रहेको छ । यसको उत्पत्ति परापूर्व कालमा नै भएको हो भन्ने मान्यता रहिआएको पाइन्छ । तातोपानी भएको ठाउँलाई परम्परागत मान्यता अनुसार “देवताको थलो” समेत मान्दैँ आएका छन् ।
तातोपानी भएको ठाउँमा जानका लागि पहिले झण्डै डेढ सय मिटर तल जुत्ता चप्पल खोलेर जाने प्रचलन थियो । त्यो समयमा त्यहाँको ठाउँमा केही फलफुलका बोटबिरुवाहरु पनि रहेका थिए । ति फलफुलका बोटहरु बह्म दह तलाउनमा एउटा झाँक्री डुबेर ६ महिनापछि तातोपानी हातमा फलफुलसँगै ल्याएर निस्केको किवंदन्ती छ । किवंदन्ती अनुसार ती फलफुलका दानाहरु लगाउँदा त्यसबाट फल फले । त्यसपछि ती रुखहरुबाट फलफुलहरु टिपेर घरमा ल्याउँदा आधा बाटोमै सर्प, भ्यागुतो तथा अन्य वस्तुहरुमा परिनत हुन्थे भन्ने भनाई रहेको छ । तर ति फलफुलहरुलाई मन्दिरमा चढाउँदा तथा त्यही खाँदा मनले चिताएको कुरा पूरा हुन्थ्यो भन्ने कथन छ । त्यस ठाउँलाई सिद्धनाथकी रानी बस्ने ठाउँ पनि भनिन्छ ।
यहाँ रजस्वला भएकी महिला तथा मृत परिवारको मानिस जाँदा बिच बाटोमा सर्पले रोक्ने कार्य गर्ने स्थानीयहरु बताउँछन् । यस ठाउँलाई पवित्र तीर्थस्थलका रुपमा परम्परादेखि मान्दै आएका र हाल पनि हरेक वर्ष महाशिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । यहाँ मेला लाग्नु पूर्व भक्तजनहरुले पूजा आराधना गर्ने गर्छन् । महाशिवरात्रीका दिन यहाँ हरेक मानिसले स्नान गर्ने, जल चढाउने तथा पुजाआराधना गर्ने गर्दछन् । यस ठाउँमा जाने हरेक मानिसहरुले आफुले मनले चिताएको कुरा माग्ने गर्दछन् । महाशिवरात्री मेलामा नेपालका विभिन्न ठाउँका साथै भारतको पिथौरागढ, चम्पावत, लोहाघाट लगायत क्षेत्रहरुबाट मानिसहरु आउने गर्दछन् । तातोपानी क्षेत्र पवित्र तीर्थस्थल, पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थल भएकाले २०६८ सालमा यहाँका स्थानियहरुले यसक्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा घोषणा गरेका थिए ।
घोषणा पश्चात तातोपानी क्षेत्रको संरक्षण, प्रचारप्रसार, प्रवद्र्धन गर्नका लागि यहाँ गोतु तातोपानी नामक संस्थाको स्थापना भएको थियो । यस संस्थाले हरेक वर्ष महाशिवरात्रीमा तातोपानी क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।
२०७० सालमा महाकालीमा आएको बाढीसँगै तातोपानी क्षेत्रमा पनि बाढीपहिरो गएको थियो । २०७० साल असार २ गतेका दिनको बाढीपहिरोको कारण तातोपानीका धारा, मन्दिर लगायत त्यहाँका सबै वस्तुहरुलाई बाढीले बगाई दियो । गोतु तातोपानी संस्थाले हाल पनि तातोपानी क्षेत्रको संरक्षण तथा पवद्र्धन गर्ने कार्य गरीरहेको छ भने यस्तो पौराणीक महत्व बोकेको क्षेत्रलाई सम्वन्धित निकायले संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको छ ।(अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *