Loading...
समाजवादी पार्टी जनयुद्ध, मधेस विद्रोह र पहिचानको आन्दोलनको उतराधिकारी हो : सांसद श्रेष्ठ  

काठमाडौँ, २५ जेठ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेस जनविद्रोह र पहिचानको आन्दोलन सबैको उतराधिकारी भएको बताएको छ । उनले यो कुरा नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टी, नेपालमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बताएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बिच एकीकृत भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता प्राप्त गर्न सफल भए पनि जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू भने एकीकरणसँगै विर्सजन भएको बताए । उनले १० वर्षे जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू आन्दोलनकोे माध्यमबाट पुर्नस्थापना गर्न सफल मधेस जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए ।
नेता श्रेष्ठले नेपाली समाज परिवर्तनको नयाँ सिद्धान्तको रूपमा सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै आगामी आम निर्वाचनसम्ममा समाजवादी पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरे । उनले भने, ‘समाजवादी पार्टी विचार, सङ्गठन र कार्यशैली हरेक दृष्टिले नयाँ ढंगको पार्टी हो । यसले पहिचान सहितको सङ्घीयतालाई जातीय मुक्तिको आधारका रूपमा र सामाजिक न्यायसहितको समृद्धिलाई समतामूलक समाज निर्माणको आधारको रूपमा लिएको छ । यहि विचारलाई हामीले समुन्नत सङ्घीय समाजवाद भनेका हौँ ।’
यहि शनिबार काठमाडौंको नेपाः व्यान्क्वेटमा ससफो जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले अध्यक्षता र सचिव शर्मिला सुवालले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष श्रेष्ठले खादा लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालले पनि नवप्रवेशीहरूलाई स्वागत र शुभकामना दिएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *