Loading...
३ नं. प्रदेशको नाम नेवा-तामसालिङ हुने प्रस्तावक र समर्थकहरु दावी, (बिज्ञप्ति सहित)

काठमाडौं । प्रदेशसभामा प्रदेशको नाम नेवाः–तामसालिङ राख्नुपर्ने भनी प्रस्ताव दर्ता गरेका प्रस्तावक र समर्थकहरुले ३ नं. प्रदेशको नाम नेवाः–तामसालिङ रहने दावी गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले आफ्नो प्रस्ताव पारित हुने र प्रदेशको नाम नेवाः–तामसालिङ रहने दावी गरेका हुन् ।
प्रदेशसभा सदस्यहरु ओमबहादुर घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक र रत्नप्रसाद ढकाल, सिता अधिकारी र प्रेमबहादुर तामाङ समर्थक रहेर नेवाः ताम्सालिङ नामाकारण गर्न जेठ ९ गते नै प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेका छन् । अहिलेसम्म प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर राख्न माग गर्दै प्रदेशसभा सदस्यहरुले तीनवटा प्रस्ताव दर्ता गरेका छन् ।
पत्रकार सम्मेलनमा नेवाः–तामसालिङको प्रस्तावक र समर्थकहरुले आफ्नो प्रस्ताव नै सबैभन्दा बढी वैज्ञानिक र व्यवाहारिक भएको दावी गर्दै पारित हुने दावी गरे । समर्थक प्रदेशसभा सदस्य रत्न ढकालले नेवाः तामसालिङ जस्ता एजेण्डाबाटै नेपालमा गणतन्त्र लगायतका परिवर्तन आएकाले आफूहरुको प्रस्ताव सहि रहेको दावी गरे ।
‘संघीयता त धेरै देशमा अभ्यास भएकै छन् । हामीले भनेको संघीयता पहिचान सहितको हो । वागमती, पशुपतिनाथ, स्वयम्भुनाथको आफ्नै पहिचान छन्, तीनको पहिचान स्थापित गर्नुपर्दैन’, उनले भने, ‘नेवाः तामसालिङको आधार बनाएर नेपालमा गणतन्त्र आएको हो । यसको आधार र यो प्रदेशमा रहेका उत्पीडित समुदाय १७ प्रतिशत नेवाः र २० प्रतिशतको पहिचान र भूगोलको सभ्यताका लागि पनि यो प्रदेशको नाम नेवाः–तामसालिङ राखिनुपर्दछ ।’
प्रस्ताव प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले आफूहरुले दर्ता गरेको प्रस्ताव दर्ताका लागि दर्तामात्र नभएर पास हुने दावी गरिन् । आदिवासी जनजातिको बाहुल्य रहेको यो प्रदेशमा नेवाः र तामाङको बाहुल्यता रहेको भन्दै उनले जनस्तरमा निरन्तर उठ्दै आएको मागको सम्बोधन पनि प्रदेशको नाम नेवाः–ताम्सालिङ राखेर हुने बताईन् ।
प्रस्तावको समर्थक रहेकी प्रदेशसभा सदस्य सीता अधिकारीले ऐतिहासिक सभ्यता नेवाः र तामाङ समुदाय रहेको भन्दै पहिचानमा आधारित नामाकरण गरेर अघि बढ्न सबैमा आव्हान गरिन् । नेवाः तामसालिङ संघर्ष समितिको व्यवस्थापनमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ् नेकपाका केन्द्रीय नेता र नेवाः तामसालिङ संघर्ष समितिका नेताहरुको समेत सहभागिता थियो ।
यस्तो दावी छ प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्नुपर्ने आधार
जेठ ९ गते प्रदेशसभामा दर्ता गरिएको प्रस्तावमा प्रदेशको नाम नेवाः–तामसालिङ राख्नुपर्नुका विभिन्न आधारहरु प्रस्तुत गरिएका छन् । उनीहरुले प्रस्तुत गरेको पहिलो आधारमा ‘संविधानसभाद्वारा सर्वसम्मतिले पारित तथा दोस्रो संविधानसभाद्वारा संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामथ्र्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्न’ का लागि पनि नेवाः–ताम्सालिङ नामाकरण गर्नु उचित हुने भनिएको छ ।
त्यस्तै, ‘दोस्रो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरुले पहिलो संविधानसभाद्वारा दिइएको म्याण्डेटलाई आधार बनाउँदै आफ्नो घोषणापत्रमार्फत पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने, बहुपहिचान तथा पहिचानसहितको संघीयताको नारा लगाएको र उक्त नारालाई नेपाली जनताले अत्यधिक बहुमतका साथ निर्वाचनमा मत जाहेर गरी अनुमोदन गरेको तथ्यलाई स्मरण गर्दै नेवाः ताम्सालिङ नाम उचित हुने’ प्रस्तावमा जिकिर गरिएको छ ।
प्रदेश ३ क्षेत्रमा नेवार र तामाङ समुदायको मुख्य बाहुल्य एवं सांस्कृतिक भूगोल तथा ऐतिहासिक क्षेत्र मिलाएको तथ्य प्रस्तुत गर्दै ती सांसदहरुले नेवाः ताम्सालिङ नामाकरण गर्न प्रस्ताव गरेको छ ।
नेवाः ताम्सालिङ नामाकरणका लागि नौं बुँदे आधार र कारण प्रस्तुत गर्दै सांसदहरुले बुझाएको प्रस्तावबारे अहिलेसम्म कुनै छलफल भने भएको छैन । ती सांसदहरुले जनतासमक्ष आफूहरुले ३ नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्नाको कारणबारे सार्वजनिक रुपमा अभियान नै सञ्चालन गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

पत्रकार सम्मेलनमा जारी वक्तव्य र प्रदेशसभामा दर्ता गरिएको प्रस्तावको पूर्ण पाठ

मितिः २०७६÷०२÷२५

आदरणीय पत्रकार मित्रहरु,
सर्वप्रथम, हामी यहाँहरु सबैलाई यो पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्दछौं ।
हामी ३ नं. प्रदेशसभाका सांसदहरु (मा. ओम बहादुर घलान, मा. प्रतिमा श्रेष्ठ, मा. रत्न ढकाल, मा. प्रेम तामाङ र मा. सिता अधिकारी) ले प्रस्तावक र समर्थक भएर नेपालको संविधान (२०७२) को संक्रमणकालीन व्यवस्थाको धारा २९५(२) को कार्यान्वयनका लागि ३ नं. प्रदेशको नाम “नेवाः ताम्सालिङ” राखियोस् भनी यही २०७६ जेठ ९ गते ३ नं. प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका छौं ।
खासमा आज हामी यही प्रस्तावका सम्बन्धमा यहाँहरु समक्ष ३ नं. प्रदेशका जनतामाझ यहाँहरुको लोकप्रिय सन्चार माध्यममार्फत् यो प्रस्तावबारे जानकारी गराईदिन अनुरोध गर्न उपस्थित भएका हौं ।
आदरणीय पत्रकार मित्रहरु,
नेपालको संविधान एउटा लामो प्रक्रियाबाट बनेको छ । यो संविधान बनाउन ९ वर्ष लागेको हामी सबैलाई थाहा छ । संविधान बनाउने क्रममा हामी सबैलाई थाहा भएको कुरा हो कि हाम्रो पहिलो संविधान सभाले संघीय संरचना बनाउन २ मुख्य आधार तय गरेको र त्यसलाई एकमतले पारित पनि गरेको थियो । ती दुई आधारमाः पहिचान र सामथ्र्य मुख्य आधार थिए । पहिचानका पनि ५ आधार तय गरिएको थियो ः जसमाः जातीय, भाषिक, साँस्कृतिक, भौगोलिक एवं ऐतिहासिक निरन्तरता थिए । र, सामथ्र्यमा ४ आधार निर्धारण गरिएको थियो जसमाः आर्थिक अन्तरसम्बन्ध र सामथ्र्यता, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र श्रोतको उपलब्धता र प्रशासनिक सुगमता मुख्य हुन् ।

यसैलाई दोस्रो संविधानसभाले अनुमोदन ग¥यो र सोही अनूरुप संघीय संरचनाको खाका बनाइयो तर ७ वटा प्रदेश बनाउने सहमति हुँदा मुख्य मुख्य समुदायको ऐतिहासिक थातथलो जोडियो । र, त्यही अनुरुप २ र ६ नं. प्रदेशबाहेक अन्य प्रदेशहरुको संरचना बन्न गयो । यही क्रममा ३ नं. प्रदेश नेपालको यो भूभागको मानव आवादीलाई बत्तिस हजार बर्ष पुरानो बनाउने ताम्सालीङ सभ्यता र नेपाललाई अरु मुलुकभन्दा भिन्न र बिशिष्ट ऐतिहासिक सभ्यता दिने नेवा सभ्यता (विभिन्न सभ्यताहरुको योगको रुपमा नेवा सभ्यता) को साँस्कृतिक भूगोललाई जोडेर बन्यो । यसरी ३ नं. प्रदेशले ऐतिहासिक रुपमा नै बहुपहिचानलाई प्रतिनिधित्व गरेको छ । तर संविधान निर्माणको समयमा विविध कारणले प्रदेशको नामाकरण गर्न सम्भव भएन । अतः यही वस्तुगत धरातलीय आधार एबम् ऐतिहासिक बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः ताम्सालिङ नामाकरणको प्रस्ताव उपयुक्त छ भन्ने हाम्रो विश्वास हो ।

यो अन्तर्राष्ट्रिय मान्यता र प्रचलन अनुरुप पनि रहेको छ । विश्वको प्रमुख लोकतान्त्रिक देश मानिने संयुक्त राज्य अमेरिकामा पचास प्रतिशतभन्दा बढि राज्यहरुको नामांकन त्यहाँको आदिवासी समुदायको जातीय पहिचानको आधारमा राखिएको छ । हाम्रा दक्षिणपट्टिका छिमेकी देश विश्वकै ठूलो लोकतन्त्र भारतमा अधिकांश राज्यहरु भाषिक, जातीय तथा ऐतिहासिक, साँस्कृतिक आधारमा बनेका छन् । हाम्रा अर्का उत्तरी छिमेकी देश समाजवादी चीनले अल्पसंख्यकहरुको भूगोल र जातीय पहिचानलाई मान्यता दिएर स्वायत्त क्षेत्र (उदाहरणका लागि तिब्बत स्वायत क्षेत्र) हरु बनाएको छ । उक्त उल्लेखित देशहरुमा ऐतिहासिक थातथलो, भाषिक, जातीय (राष्ट्रिय) एवं साँस्कृतिक हिसावले राखिएका राज्य वा प्रदेशको नामलाई साम्प्रदायिक मानिएको छैन र त्यही कारणले राज्य साम्प्रदायिक स्वरुपको भएको छैन । त्यसकारण हाम्रो प्रस्ताव अन्तर्राष्ट्रिय मान्यता र अभ्याश अनुरुप पनि रहेको हाम्रो ठहर छ ।

नेपाल विभिन्न सभ्यताहरुको योग हो । खसआर्य सभ्यता, थारु सभ्यता, मिथिला सभ्यता, किरात सभ्यता, लिम्बुवान् सभ्यता, तमु सभ्यता, मगर सभ्यता आदि विविध सभ्यताहरु हाम्रा आफ्नै सभ्यता हुन् र त्यसप्रति हामी गर्ब गर्दछौं । संघीय देशमा रहेका विविध साँस्कृतिक सभ्यताहरुको संरक्षण र सम्मान गर्दा नै समुदायहरुवीचको विभेदको अन्त भइ सुदृढ बलियो आन्तरिक राष्ट्रिय एकताको निर्माण हुन्छ भन्ने हाम्रो बलियो विश्वास हो । प्रदेशहरुको नामले स्थानीय विविधतालाई सम्मान र प्रतिनिधित्व गर्ने हो भने संघले सबैको साझा एकता र बाह्य रुपमा समष्टीगत राष्ट्रियता (इन्द्रेणी राष्ट्रवाद) को प्रतिनिधित्व गर्ने हो । यसले मात्र सबैको स्वाभिमान र अपनत्व बोध हुन्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो संविधानले प्रदेशको शासकीय संरचनामा कुनै पनि समुदायलाई विशेष अधिकार दिएको छैन । यो स्थितिमा स्थानीय आवादीले बनाएको सभ्यता, भाषा र इतिहासलाई सम्मान गर्दा अर्को कुनै पनि समुदायको अहित हुने तथा आजको संविधानले दिएको अधिकारमा तलमाथि हुने पक्कै होइन । बरु यसले राष्टियतालाई अरु सुदृढ एवं संघीयतालाई अरु बलियो बनाउँछ र देशको विविधताको संरक्षण हुन्छ ।

साथै, ३ नं. प्रदेशभित्र थुप्रै साँस्कृतिक सभ्यता भएका अल्पसंख्यामा रहेका समुदायहरु पनि छन् । हाम्रो संबैधानिक व्यवस्था तथा संविधानसभाले तय गरेको सिद्धान्तका आधारमा सबै भिन्न पहिचान भएका अल्पसंख्यक समुदायहरुको विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको निर्माण हुनु पर्दछ भन्ने मान्यताप्रति पनि हामी प्रतिवद्ध छौं ।

अतः संविधानसभाले तय गरेका मुख्य त पहिचानका ५ आधार र सामथ्र्यका ४ आधार तथा संघीयताको अन्तर्राष्ट्रिय अनुभवलाई टेकेर हामीले यो प्रस्ताव अघि बढाएका छौं । हाम्रो प्रस्तावलाई जनसमक्ष पु¥याउन सहयोग गरिदिन हुन यहाँहरु सबैमा सादर अनुरोध गर्दछौं । हाम्रो प्रस्ताव यसप्रकार रहेको कुरा पनि अनुरोध गर्दछौंः

मितिः २०७५।०२।०९ गते

मा. सभामुखज्यू,
प्रदेश सभा, ३ नं. प्रदेश हेटौंडा,
मकवानपुर ।
विषयः प्रस्ताव सम्बन्धमा ।
सभामुखज्यू,
नेपालको संविधानको धारा २९५ को उपधारा (२) तथा प्रदेश नम्बर तीनको प्रदेश सभा नियमावली, २०७४ को परिच्छेद १०, नियम ६१ र ६८ को अधिनमा रहि तीन नं. प्रदेशको नामाकरणको सम्बन्धमा प्रदेश सभासमक्ष हामी तपसिल बमोजिमका प्रदेश सभा सदस्यहरु निम्न बमोजिमको प्रस्ताव प्रस्तुत गर्दछौं ः
प्रस्ताव ः यस ३ नं. प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ प्रदेश राखियोस् ।

आधार र कारण ः

१) पहिलो संविधान सभाद्धारा सर्वसम्मतिले पारित तथा दोस्रो संविधानसभाद्धारा संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुर्नसंरचना गर्दा ‘पहिचान र सामथ्र्य’लाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्दै,

२) दोस्रो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरुले पहिलो संविधानसभाद्धारा दिइएको उपरोक्त म्याण्डेटलाई आधार बनाउदै आफ्नो घोषणापत्रमार्फत् ‘पहिचान पनि भेटिने, द्धन्द पनि मेटिने’, ‘बहुपहिचान’ तथा ‘पहिचानसहितको संघीयता’ को नारा लगाएको र उक्त नारालाई नेपाली जनताले अत्याधिक बहुमतका साथ निर्वाचनमा मत जाहेर गरी अनुमोदन गरेको तथ्यलाई स्मरण गर्दै गराउर्दै,

३) दोस्रो संविधानसभाले पहिलो संविधानसभाको उपरोक्त म्याण्डेट बमोजिम नेपालको संघीय संरचनाको निर्माण गर्दा बहुपहिचानलाई जोड्दै यथासम्भव समुदायगत बाहुल्य भूगोल वा क्षेत्रलाई मिलाएर नै ७ प्रदेशको संरचना गरिएको तथ्यलाई मनन् गर्दै,
४) सो बमोजिम मुल तः नेवार र तामाङ समुदायको मुख्य बाहुल्य एवं साँस्कृतिक भूगोल तथा ऐतिहासिक क्षेत्र मिलाएर ३ नं. प्रदेशको संरचना गरिएको तथ्यलाई स्वीकार गर्दै,
५) हाम्रा दक्षिणपट्टिका छिमेकी देश भारतमा अधिकांश राज्यहरु भाषिक, जातीय तथा ऐतिहासिक, सांस्कृतिक आधारमा राज्य, प्रदेश र स्वायत्त क्षेत्रको सिमांकन र नामांकन गरिएको, हाम्रा अर्का उत्तरी छिमेकी देश चीनले अल्पसंख्यकहरुको भूगोल र जातीय पहिचानलाई मान्यता दिएर स्वायत्त प्रदेशहरु बनाएको र संयुक्तराज्य अमेरिकामा पचाश प्रतिशतभन्दा बढि राज्यहरुको नामांकन त्यहाँको आदिवासी समुदायको जातीय पहिचानको आधारमा राखिएको अन्तर्राष्ट्रिय अनुभव र अभ्याशलाई मध्यनजर राख्दै,
६) अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, आदिवासीजातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र, अल्पसंख्यकको राष्टसंघीय घोषणापत्र मार्फत् अन्तर्राष्ट्रिय समुदायद्धारा बहुजातीय देशमा शान्ति, विकास र स्थायीत्वका लागि जातीय, क्षेत्रीय, लिगींय तथा वर्गीय विभेदको अन्त्य गर्न आदिवासी तथा अल्पसंख्यक समुदायका पहिचानलाई सम्मान गर्नुपर्ने र स्वायत्त शासन प्रदान गरेर राज्यको मुलधारमा ल्याउनुपर्ने स्थापित मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै,
७) यस प्रदेशका मुख्य बाहुल्य एवं ऐतिहासिक समुदायहरु नेवार र तामाङ समुदायलगायतले ३ नं. प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ नै राख्न लामो समयदेखि माग तथा संघर्ष गरिरहेको सन्दर्भलाई समेत पुनः स्मरण गर्दै गराउँदै,
८) देशका सबै सँस्कृति, सभ्यता र तिन्को पहिचानलाई सम्मानकासाथ मुख्य त बहुपहिचानसहितको संघीयता स्थापनाद्धारा नेपालका विभिन्न सभ्यताहरुको संम्मान गर्दै संघीयतालाई मजबुत (बलियो) बनाउन तथा नेपालको विभिन्न सभ्यताहरुको संरक्षण र प्रबद्र्धन गर्दा मात्र देशको विविधताको रक्षा गर्न र समुन्नति सम्भव हुने कुरालाई आत्मसात् गर्दै,
९) संविधानसभाद्धारा स्थापित पहिचान र सामथ्र्यको आधारमा राज्यको संरचना गर्ने सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन र अभ्याश तथा यस प्रदेशका बाहुल्य एवं ऐतिहासिक साँस्कृतिक समुदायको माग समेतलाई सम्बोधन गर्न र हाम्रो संविधानको धारा ५६(६) द्धारा प्रदत्त बहुलता र समानतामा आधारित समतामूलक समाज, समाबेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने छन् भन्ने कुराको प्रत्याभूति दिलाउन आवश्यक भएकाले ३ नं. प्रदेशको नामाकरण ‘नेवाः ताम्सालिङ’ राख्न प्रस्ताव गर्दछौं ।

प्रस्तावक ः मा. सांसद ओमबहादुर घलान ।
मा. सांसद प्रतिमा श्रेष्ठ ।
समर्थक ः मा. सांसद रत्न ढकाल ।
मा. सीता अधिकारी ।
मा. प्रेमबहादुर तामाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *