
काठमाडौं- पार्टी नेतृत्वको विषयमा सञ्चार माध्यममा आइरहेको समाचारहरुप्रति ध्यानाकर्षण भएको समाजवादी पार्टीले जनाएको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादवका बीचमा सरकार छाडेर आन्दोलनमा जाने कि सरकारमै बसिरहने भन्ने विषयमा फरक मत रहेको समाचार सार्वजनिक भइरहेका बेला पार्टीले विज्ञप्तिमार्फत खण्डन गरेको हो।
‘पार्टी नेतृत्वमा राजनीतिक सवाल र मुद्दाहरुमा कहीं कतै मतभेद वा कुनै किसिमको अलग–अलग धार नरहेको स्पष्ट गर्न चाहन्छौं’, पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पार्टीले सरकारमा जाने र छाड्ने राजनीतिक दलका लागि विशुद्ध राजनीतिक र रणनीतिक सवाल भएको स्मरण गराएको छ। ‘यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त हुदैन,’ विज्ञप्तिमा भनिएको छ।
Facebook Comments