Loading...
नेकपालाई सत्ता भष्मासुरलाई वरदान दिए जस्तो भएको छ : सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

भक्तपुर, ७ आषाढ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम भएको बताएको छ । उनले भने, ‘भारतको पश्चिम वंगालमा ३४ वर्ष लगातार कम्युनिष्ट पार्टीले सत्ता चलाए । तर नेपालमा ओलीको सत्तारोहणको डेढ वर्ष नवित्दै जनताले भन्न थाले नेकपालाई सत्ता भष्मासुरलाई वरदान जस्तो भएको छ । अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले उक्त कुरा पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा  बताएको हो । उनले संविधानको धारा २६ को उपधारा २ ले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई नै दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन खोज्नु सरकारको असंवैधानिक कदम भएको बताएको छ ।
सहअध्यक्ष श्रेष्ठले भने, ‘गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र जनआस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र हो ।’ उनले भने, ‘गुठीयारहरूले नै गुठी सञ्चालन गर्ने संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न दिनु पर्छ र संविधानको अनुसूची ६ बमोजिम प्रदेशले गुुठी व्यवस्थापन समिति बनाई त्यसको व्यवस्थापन गर्नु पर्छ ।
नेता श्रेष्ठले गुठी सञ्चालनका लागि जग्गा मात्र नभइ गुठीघरको बहाल, अक्षय कोष लगायत अन्य चल अचल सम्पत्ति पनि राख्ने चलन भएकाले यस सम्बन्धी विधेयक भूमि व्यवस्थाबाट नभई संस्कृति मन्त्रालयबाट आउनु पर्दछ । उनले भुमिहिन किसान, कमैया र सुकुम्बासीहरूलाई उनीहरूकै थातथलोमा भूमि र आवासको व्यवस्था गर्नु पर्छ । गुठीलाई भोगाधिकार प्राप्त व्यक्तिसँग जोड्नु ‘फालि मासी सियो’ भनेजस्तै कुरा हो ।
नेता श्रेष्ठले पार्टी एकीकरणको महत्वबारे बोल्दै भने, ‘समाजवादी पार्टी नयाँ ढङ्गको राष्ट्रिय पार्टी हो । यो पुरातनपन्थी कांग्रेस कम्युनिष्ट जस्तो नेता प्रधान पार्टी नभई नीति प्रधान पार्टी हो । पार्टीको सार्वभौमसत्ता कार्यकर्तामा रहने सङ्घीय ढाँचाको पार्टी भएको हुँदा यसले संगठनात्मक क्षेत्रमा गतिशीलता ल्याउने छ ।’
उक्त  कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र प्रधानले पार्टी एकीकरणपछि भक्तपुरमा पार्टीप्रति जनआकर्षण बढेको कुरा बताए । कार्यक्रममा सुरेन्द्र प्रधान, दिना लामा, श्याम शिल्पकार लगायतले पनि मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *