Loading...
सहमतिपछि समाजबादी-राजपाबीच कहिले हुदैछ एकता घोषणा ? यस्तो भने इस्तियाक राई

काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीचको पार्टी एकता वार्ता अन्तिम चरणमा पुगेको छ । समाजवादी र राजपाका शीर्षनेता पार्टी एकताका लागि अन्तिम छलफलमा रहेका स्रोतले जनाएको छ ।

पार्टी एकताको छलफलमा समाजवादी पार्टीबाट डा. भट्टराई, यादव र अर्का नेता अशोक राई तथा राजपाबाट ठाकुरसहित राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु छलफलमा जुटिरहेका छन् । दोस्रो तहका नेताहरु पनि निरन्तर छलफलमा रहेका स्रोतले जनाएको छ ।

समाजवादी पार्टीका नेता एवं शहरी विकास मन्त्री मोहम्मद इस्तेयाक राईले दुवै पक्षबीच पार्टी एकताको सैद्धान्तिक सहमति भैसकेको बताएका छन् । नागरिकखबरसँगको कुराकानीमा उनले भने, ‘हामी दुवै पक्ष पार्टी एकताको अन्तिम छलफलकै क्रममा छौँ । छिट्टै एकता गर्ने गरी अहिले छलफल चलिरहेको छ । सैद्धान्तिक कुरा मिलिसकेका छन् ।’

मिल्न बाँकी विषय के ?

समाजवादी र राजपाबीचको पार्टी एकता नेतृत्वको मोडल तथा नेताहरुको व्यवस्थापनमा केन्द्रित भएको छ । एकल वा सामुहिक नेतृत्व, केन्द्रीय कार्यसमितिको संख्या, जिम्मेवारी बाँडफाटलगायतका विषयमा कुरा मिल्न बाँकी रहेको छ । तर समाजवादी पार्टीले भने पार्टी नेतृत्वमा आफ्नो हुनुपर्ने तर्क गरेको छ ।

तराई मधेसमा राजपाभन्दा ठूलो शक्तिको रुपमा स्थापित भएकाले समाजवादी पार्टीबाट मुल नेतृत्व हुनुपर्ने तर्क समाजवादी पार्टीका नेताहरुले गरेका छन् । तर राजपा नेपालका नेताहरुले भने सामुहिक नेतृत्व अर्थात् धेरै अध्यक्ष बनाउने गरी पार्टी एकता हुनुपर्ने बताएका छन् ।

समाजवादी पार्टीका नेता राईले भने पार्टी एकताको सैद्धान्तिक छलफल टुंगिएकाले अहिले नेताहरुको व्यवस्थापन, नेतृत्वको मोडललगायतका विषयमा छलफल चलिरहेको जानकारी दिए । उनले मिल्न बाँकी विषयहरु पनि चाँडै मिल्ने र छिट्टै पार्टी एकताको चरणमा प्रवेश गर्ने बताए ।

nagarikkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *