Loading...
नेपाल देश हाम्रो हो, तर राज्य हाम्रो होइन – कुमार लिङ्देन ‘मिराक’

देश, जनता, समुदाय, राष्ट्र, राज्य जस्ता राजनैतिक शब्दावलीहरुको बारेमा छलफल गर्नु सान्दर्भिक नै हुन्छ। देश भनेको भूगोल जमिन हो, जनता भनेको उक्त देशमा बस्ने मान्छेहरु हुन्, समुदाय भनेको निश्चित भूगोलमा बस्ने एउटै पहिचान भएको मान्छेहरुको समूह हो, राष्ट्र भनेको त्यो देशमा बस्ने मान्छेहरुको यस्तो समुदाय हो जसको आफ्नो स्वायत्तता प्रति एकै प्रकारको धारणा हुन्छ र राज्य भनेको त्यो जनताहरु माथि लादिएको शासन प्रशासन हो। खासगरी धेरै मान्छेहरु देश, राष्ट्र र राज्य जस्ता शब्दहरुको अर्थमा झुक्किएको पाउँछौं। देश भनेको भूगोल वा जमिन, राष्ट्र भनेको जनताको भावना र राज्य भनेको प्रहरी अदालत वा प्रशासन हो। त्यसैले नेपालका आदिवासीहरुले भन्छन् – नेपाल देश हाम्रो हो, तर राज्य हाम्रो होइन। यो भनेको नेपालको माटो हाम्रो हो, तर यहाँ भएको अदालत, सरकार, प्रशासन हाम्रो होइन, हामीलाई सिध्याउने उपनिवेशीहरुको हो। यसरी नै हामी आदिवासीहरु आफ्नै सोच, योजना र सपना भएको समुदाय वा राष्ट्र बन्न चाहन्छौं, तर यहाँका उपनिवेशी शासकहरुले हामीलाई उनीहरुको मन हाम्रो मनमा कोच्ने प्रयास गरिरहेका छन्। उनीहरुको सोच, योजना र सपना हाम्रो मनमा कोचेर उनीहरुको सपना हाम्रो पनि सपना बनाउने प्रयास गरिरहेका छन्। हाम्रो सोच वा भावना हाम्रो राष्ट्र हो, शासकहरुको सोच वा भावना उनीहरुको राष्ट्र हो। यो राष्ट्र भन्ने शब्द मन, भावना, सोचसँग सम्बन्धित छ। देश र राज्य जस्ता शब्दहरु झट्ट बाहिर वा भौतिक रुपमा पनि देख्न सकिन्छ, तर राष्ट्र (Nation) भन्ने शब्द बाहिर देखिंदैन। यो मान्छेहरुको मन, मस्तिष्कमा हुने तरंग हो। मनभित्र, दिमागभित्र बस्ने हुनाले राष्ट्रलाई देख्न सकिंदैन। यो अनुभूति मात्र गर्न सकिन्छ।

हुनत यी दुई शब्दहरु समुदाय र राष्ट्र उस्ताउस्तै पनि लाग्छन्, तर यी शब्दहरुमा भिन्नता पनि छन्। खासगरी यो राष्ट्र (Nation) भन्ने शब्दलाई हामी आदिवासी, पहिचानवादी, दलित शिल्पी, खश, मधेशीहरुले एकदमै गहिरो तरिकाले बुझनु पर्दछ। किनकि, आजको दिनमा मुख्य लडाईं नै यो राष्ट्र भन्ने शब्दमा केन्द्रित भएको छ। हामी पहिचानवादीहरु भन्छौं – नेपालमा बहुराष्ट्र (multi nations) वा बहुभावनाको अवस्था छ, तर एकात्मक उपनिवेशी शासकहरु भन्छन् – नेपालमा एक राष्ट्र (single nation) वा एक भावनाको अवस्था छ। त्यसैले हामी पहिचानवादीहरु भावनाहरुमा आधारित वा राष्ट्रहरुमा आधारित राष्ट्र राज्य (nation state) १०+१ प्रान्तको माग गर्छौं, तर सत्ताधारी उपनिवेशीहरु एक भावना (जो उनीहरुको मात्र भावना) वा एक राष्ट्रको राज्य (state nation) ७ प्रान्तको कुरा गर्छन्। राजनैतिक शब्दावलीमा हामी पहिचानवादीहरुले खोजेको राष्ट्र राज्य (nation state) र उपनिवेशीहरुले भनेको राज्य राष्ट्र (state nation) आकाश धर्ती जत्तिकै फरक कुराहरु हुन्। हामी पहिचानवादीहरु भन्छौं – सभ्यता/इतिहास/मातृभाषा/भावना/राष्ट्रको आधारमा प्रान्तहरु निर्माण हुनुपर्छ र त्यसलाई राष्ट्र राज्य (nation state) भनिन्छ। तर, सत्ताधारी उपनिवेशीहरु भन्छन् – प्रशासन चलाउन सजिलोको लागि केन्द्रले प्रशासनिक इकाईहरु (राज्यहरु) छुट्टयाई दिने अनि त्यो प्रशासनिक इकाईभित्र बस्ने जनताहरुले केन्द्रको शासकले जे सोच्छ त्यही सोच्ने, जुन भाषा बोल्छ, त्यही भाषा बोल्ने वा त्यो प्रशासनिक इकाईभित्र बस्नेले एउटै सोच वा भावना विकसित गर्नुपर्छ, यसलाई राज्य राष्ट्र (state nation) भनिन्छ। पहिचान/भावना/राष्ट्रको आधारमा प्रान्त निर्माण नगर्ने बरु प्रशासन चलाउन सजिलोको लागि प्रान्त बनाउने अनि त्यो प्रशासनिक प्रान्त वा राज्यभित्र बस्नेले जबर्जस्ती एउटै खाले सोच वा राष्ट्रियता विकास गर्नुपर्छ भन्ने विचार नै राज्य राष्ट्रको पक्षधर हुन्, त्यही सोचले ७ प्रान्तको निर्माण भएको हो। भावना वा राष्ट्र अनुसार राज्य (प्रान्त) कि पहिले राज्य (प्रान्त) अनुसार भावना निर्माण हुने यही दुईवटा सोचबीचको द्वन्द्व नै अहिलेको नेपाली राजनीतिको केन्द्रीय वा प्रमुख द्वन्द्वको बिषय हो।

यसरी अहिलेको नेपाली राजनीतिको प्रमुख द्वन्द्व बहुराष्ट्र वा एक राष्ट्र (बहुसोच/बहु भावना वा एक सोच/एक भावना) बीचमा भइरहेको छ भन्ने बुझेपछि हामी १०+१ प्रान्त माग्ने समुदायहरु राष्ट्र (nation) बन्ने काम गरिरहेका छांै कि छैनौं गम्भीर भएर सोच्न जरुरी छ। माग चाहिँ बहुराष्ट्र वा १०+१ को कुरा गर्ने, तर आफ्नो समुदायलाई राष्ट्रमा विकसित गर्न सिन्का नभाँच्ने वा त्यो राजनैतिक लाइनमा हिँड्दै नहिँड्ने पो भइरहेको छ कि यसबारे गम्भीर हुन जरुरी छ, बुझेर लाग्न जरुरी छ, नबुझी लागियो भने आजीवन लाग्दा मात्र केही हँुदैन। नेपालका सम्पूर्ण पहिचानवादी, आदिवासीहरुलाई यो गम्भीर सवाल सम्प्रेषण गर्न चाहन्छु – कि हामीले खोजेको बहुराराष्ट्र १०+१ प्रान्त, जुन कुरा प्रान्त माग्ने सम्बन्धित समुदायहरु समुदायबाट राष्ट्रमा विकसित नभइ सम्भव नै छैन वा कुनै नेताले दिएर आउने नै होइन १०+१ प्रान्त। यस्तो अवस्थामा तपाईं जुन पहिचानवादी पार्टीमा लागिरहनु भएको छ, त्यो पार्टीको संरचनाहरुले तपाईंको समुदायलाई समुदायबाट राष्ट्रमा विकसित गर्न सहयोग पुगिरहेको छ कि वा कुनै नेताको मन्त्री हुने स्कोर वा नम्बर मात्र बढाइरहनु भएको छ, गम्भीर हुनु होला, नेपालको पहिचानवादी आन्दोलनको मुख्य कुरा १०+१ प्रान्त हो अनि त्यसको पनि मुख्य कुरा चाहिँ माथि उल्लेखित सवाल नै हो। हामीले माग्ने १०+१ प्रान्त जो बहुराष्ट्रको जगमा मात्र निर्माण हुनसक्छ, अनि आफ्नो समुदायलाई राष्ट्र बनाउन केही दु:ख नगर्ने, जता सजिलो छ उतै कुद्ने, तब १०+१ प्रान्त प्राप्त हुन्छ त?

२०४६ सालपछि देखि नै नेपालमा जातीय मुक्तिको लागि पार्टीहरु स्थापना भएका छन्। ठूला ठूला नेताहरु पनि देखिनु भयो, उहाँहरुले कोशिष पनि गर्नुभयो, तर अपेक्षाकृत सफल हुन् सकिरहेको छैन। यसरी जातीय मुक्ति आन्दोलनले सफलता हासिल गर्न नसक्नुको पछाडि हामीबाट पनि केही सैद्धान्तिक वा संरचनात्मक कमी कमजोरीहरु भयो कि भनेर गम्भीर समीक्षा भएको देखिंदैन। हामीले खास चाहेको के हो त्यस बारेमा आन्दोलनकारी नै प्रस्ट भएनौं कि? जस्तो – सम्पूर्ण आदिवासी जनजाति, मुलवासी, मंगोलहरु एक होऔं, एउटा पार्टीमा गोलबद्ध होऔं भन्ने नारा दिने हो भने त्यसले सिंहदरबारमा प्रधानमन्त्री पद खोसेर लिने भन्ने लाइन दिशाबोध गर्छ। तर, प्रस्तावित प्रान्तका समुदायहरु प्रस्तावित प्रान्तको नाम सहित आफ्नै झण्डा खडा गरेर संघीय रुपमा एक होऔं भन्ने लाइनले समुदायहरु राष्ट्रमा परिणत गर्दै १०+१ प्रान्त स्थापनाको बाटो तय गर्छ। त्यसकारणले सबै भन्दा पहिले हामी अगुवाहरु नै स्पष्ट हुनुपर्छ। सबै आदिवासी वा मंगोल एक होऔं भन्ने नाराले मात्र वा मेरो पनि पार्टीले १०ं१ प्रान्तको माग उठाएको छ भन्ने कुराले मात्र १०ं१ प्रान्त आउँदैन। माथि भनिए झैं १०+१ प्रान्त बहुराष्ट्र माग हो। यो प्राप्तिको लागि समुदायहरुलाई राष्ट्रमा विकसित गराउने स्पष्ट लाइन हुनुपर्छ। हाम्रो पार्टीको घोषणा पत्रमा १०+१ लेखिएको छ भनेर मात्र हँुदैन वा हामी सबै आदिवासी, दलित शिल्पी, खश, मंगोल मिलेर चुनाव जित्ने प्रधानमन्त्री बन्ने अनि पाँच वर्षमा फेरि हस्याङफस्याङ गर्दै चुनावमा जानु नै पर्‍यो अनि फेरि हार्ने वा जित्ने त्यही खेल मात्र खेल्न खोजेको हो भने भिन्नै कुरा हो, तर हामी चुनावमा हारौं वा जितौं तर हाम्रो मातृभाषा, हाम्रो ऐतिहासिक थातथलो भूमिहरुले यो इक्साखाम्बेक (आकास धर्ती) रहिञ्जेल हार्नु हँुदैन, नामेट हुनु हुँदैन, सह–अस्तित्वको सिद्धान्तमा रहेर बाँचिरहनु पर्छ। सबैलाई जिताउँदै आफू पनि जितिरहनु पर्छ भनेर लागेको वा लडेको हो भने हामीलाई बहुराष्ट्रिय १०+१ प्रान्त चाहिन्छ र यसको लागि हाम्रो नारा हाम्रो संरचना पनि अलिक फरक नै हुनुपर्‍यो। सबै मेरो पार्टीमा आउ, सबैले मेरो झण्डा स्वीकार गर होइन कि सबै जनाले आ–आफ्नो ठाउँबाट प्रस्तावित १०+१ मध्ये आफ्नो प्रान्तको झण्डा बोकेर उठ, आन्दोलित होउ र सबै मिलेर एउटा संघ निर्माण गरौं। सायद यही गुदी कुरा बुझन नसक्दा आदिवासी क्षेत्रको राजनैतिक आन्दोलनले भने जति गति लिन नसकेको हो। तर, हामी अगुवाहरुले कुरा बुझ्ने र सोही अनुसारको कार्यनीति बन्ने हो भने भविष्यको नेपाली राजनीतिको सबै भन्दा बढी पोटेन्सियल शक्ति (लुकेको शक्ति) आदिवासी, दलित शिल्पी, मधेशी, खशहरुमै छ।

अब यहाँ सम्म छलफल गर्दा हामीले थाहा पायौं कि – सबै भन्दा ठूलो कुरा १०+१ प्रान्तसँग सम्बन्धित समुदायहरुलाई राष्ट्रमा विकसित गर्ने कार्यनीति, सिद्धान्त, बुझाई, संरचना नै सबै भन्दा महत्वपूर्ण रहेछ। त्यसैले समुदाय र राष्ट्रबीचमा के फरक छ, अनि कसरी समुदायहरु राष्ट्रमा विकसित हुन्छन् भनेर छलफल गर्नु उपयुक्त हुनेछ। झट्ट हेर्दा समुदाय र राष्ट्र उस्तै देखिन्छ, तर पनि यो दुईवटा अवस्थाहरु बीचमा निकै फरक छ। अनि, समुदायहरु राष्ट्रमा विकसित हुनको लागि अलजेब्रा गणितको जस्तै ठ्याक्क ठ्याक्क सूत्रहरु पनि छैनन्। समुदायहरु राष्ट्रमा विकसित हुनको लागि संघर्ष, आन्दोलन, लडाईंका केही कठिन प्रक्रिया र चरणहरु छन्।
समुदाय भन्नाले – A community is a small or large social unit -a group of living things that has something in common, such as norms, religion, values, or identity. Communities often share a sense of place that is situated in a given geographical area (e.g. a country, village, town, or neighborhood) or in virtual space through communication platforms. समुदाय भनेको एउटै मूल्य मान्यता, बुझाइ, धर्म, पहिचान, थातथलो भएको मानिसहरुको समूह भन्ने बुझिन्छ।
राष्ट्र भन्नाले – A nation is a stable community of people, formed on the basis of a common language, territory, history, ethnicity, or psychological make-up manifested in a common culture.
A nation is more overtly political than an ethnic group; it has been described as ‘a fully mobilized or institutionalized ethnic group.’
It is a cultural-political community that has become conscious of its autonomy, unity, and particular interests.

साझा भाषा, साझा भूमि, साझा इतिहास, साझा जातीय संस्कृति र उक्त जातीय संस्कृतिमा विकसित भएको साझा मनोविज्ञान भएको समुदायलाई नै राष्ट्र भनेर बुझिन्छ।

राजनैतिक रुपमा प्रस्ट रुपले विकसित भएको समुदायहरुलाई नै राष्ट्र भनिन्छ। पूर्ण रुपमा गतिशील र राजनैतिक रुपमा पनि संस्थागत भएका समुदायहरु नै राष्ट्र हुन्।

सांस्कृतिक – राजनैतिक समुदाय जो आफ्नो स्वायत्तता, एकता र विश्वमा आफ्नो पहिचान बनाउने लक्ष्यको बारेमा सधैं सचेत हुन्छन्, यो स्तरको समुदायलाई राष्ट्र भनिन्छ।

यसरी अन्तर्राष्ट्रिय विद्वानहरुले स्थापित गरेको समुदाय र राष्ट्रको परिभाषा पढेपछि हामी साधारणतय एउटा बुझाइमा पुग्छौं – च्याब्रुङ नाचांै, साकेला, डम्फु, स्याब्रु नाचौं, आफ्नो भाषा बोलौं, आफ्नो पोशाक लगाउँ भन्ने सम्मको बुझाइ वा सोचहरु सामुदायिक सोचहरु हुन्। तर च्याब्रुङ, साकेला, डम्फु, स्याब्रु आदिको सदाकालीन संरक्षणको लागि अधिकार सम्पन्न लिम्बुवान, खम्बुवान, तामाङसालिङ, शेर्पा प्रान्त, नेवा:, तमुवान, मगरात, खशान, थरुहट, मधेश, दलित शिल्पी प्रान्त चाहिन्छ भन्ने राजनैतिक बुझाइको तह चाहिँ राष्ट्र हो।

अहिलेको हाम्रो मुख्य कार्यदिशा समुदायलाई राष्ट्रमा विकसित गर्ने (Community to Nation) नै हो। समुदायलाई राष्ट्रमा विकसित गर्नु एउटा कठिन कार्य पनि हो तर यो कठिन कार्य हामीले जसरी पनि गर्नु परेको छ। संसारले थाहा पाओस् कि यो १०+१ प्रान्त चाहने समुदायहरुमा साँच्चिकै राजनैतिक चेतना, आकांक्षा र शक्ति आइसकेको छ र अब उनीहरु प्रान्त पाउन योग्य छन्। त्यसको लागि हामीले आ–आफ्नो प्रस्तावित प्रान्तहरुको झण्डाहरु उठाउने, आ–आफ्नो प्रान्तको नाम जोडिएको राजनैतिक संगठनहरु खोल्ने, संगठन अघि बढाउने, सचेतना कार्यक्रमहरु, आन्दोलनहरु अघि बढाउने हिम्मत गर्नुपर्छ। प्रान्त पाउन समुदाय राष्ट्रमा विकसित हुनुपर्छ र राष्ट्र भनेको राजनैतिक रुपमा सचेत र संगठित समुदाय हो भनिसकेपछि अहिलेको जस्तो जिल्ला प्रशासन कार्यालयमा दर्ता जातीय सस्थाहरुले कुनै हालतमा मुक्ति दिदैन भन्ने प्रस्ट नै छ। यसरी नै कुनै पनि पार्टीहरुको भात्री संगठनहरुले पनि समुदायलाइ राष्ट्रमा विकसित गर्न सक्दैन।

राष्ट्र हुनको लागि त आफै निर्णय गर्न पाउनु पर्‍यो, अनि कतिपल्ट आफ्नो निर्णयहरु असफल हुन्छ, चोट हण्डर ठक्कर खाइन्छ, कति पल्ट असफलता र क्षतिहरु बेहोर्नु पर्ने हुन्छ अनि मात्र परिपक्वता आउँछ – समुदाय बिस्तारै राष्ट्रमा परिणत हुन्छ। संसारमा सबै भन्दा गाह्रो काम नै समुदायलाई राष्ट्रमा परिणत गर्ने हो – संसारमा जति समुदायहरुले आफूलाई राष्ट्रमा परिणत गर्ने लडाईं लडे, ती सबै लडाईंहरु कति कठिन छ, कति योद्धाहरुको रगत, पसिना, आँशु बगेको छ। विश्व अनुभवहरुले तितो सत्य सिकाएको छ – रगत, पसिना, आँशु नबगाई कुनै पनि समुदाय राष्ट्रमा परिणत भएको छैन।

यो पंक्तिकारले लिम्बुवान आन्दोलनको नेतृत्व गरिरहँदा कति हण्डर ठक्कर खाइयो, कति टुटफुटको सामना गर्नु, कति असफलताहरु भोग्नु पर्‍यो, तर पनि आफ्नो बाटोमा अडिकताको साथ हिँडियो। किनकि, मनमा त्यही कुरा आइरहन्थ्यो – लिम्बुवानलाई समुदायबाट राष्ट्रमा परिणत गर्न खोजिरहेका छौं। यो प्रक्रिया वास्तवमा नै कठिन हुन्छ। यसरी समुदाय राष्ट्रमा परिणत हुँदाको कठिनता थाहा नहँुदा धेरै मान्छेहरु बीच बाटोमा नै अलमलिन्छन्।
सबै भन्दा सजिलो चाहिँ अरुले खोलिदिएको पार्टीमा ओत लाग्नु, आफूले कुनै दु:ख नगर्नु नै हुन्छ। तर, के गर्ने त्यो सजिलो बाटो रोजियो भने आफ्नो समुदाय कहिले पनि राष्ट्रमा परिणत हँुदैन अनि आफूले कहिले प्रान्त पाइन्दैन। मानांै, कुनै देशब्यापी पार्टीमा लागियो रे – उक्त पार्टीले रुकुममा कार्यक्रम गर्‍यो भने, मगरातको कास्कीमा कार्यक्रम गर्यो भने तमुवानको नाम आएन अनि त्यहाँ नेतृत्वहरुले पनि खतरा मोल्नु परेन। जुन नामको आधारमा भोलि हामी प्रान्त स्थापना गर्न खोजेका छौं, त्यो नाम आजैदेखि बहसमा आएन भने कसरी एक्कासी भोलि स्थापना गर्न सकिन्छ र? अनि खतरा मोल्ने गरी निर्णय लिने अधिकार वा आँट भएन भने त्यो समुदाय कहिले पनि राष्ट्रमा विकसित नै हुँदैन। तर, मगरात र तमुवान नाम जोडिएका राजनैतिक संगठनहरु छन् भने ती संगठनहरुले जत्रो कार्यक्रम गरे पनि मगरात तमुवानको नाम आउँछ। मगरात तमुवानको बहस हुन्छ अनि बिस्तारै मगर, गुरुङ समुदायहरु राष्ट्रमा परिणत हुन्छन् र १०ं१ प्राप्तिको बाटो तय हुन्छ।

अन्त्यमा, हामी पहिचानवादीहरु आ–आफ्नो तरिकाले लागि नै रहेका छौं। अब नयाँ आउने पुस्ताहरु लाग्ने नै छौं। तर, लाग्नु भन्दा पहिले राम्ररी बुझेर लागौं किनकि लागेर मात्र हँुदैन लगाई सही पनि हुनुपर्छ। यदि हामीले १०+१ प्रान्त खोजेको हो भने त्यो बहुराष्ट्र राज्य हो जसको लागि प्रान्त माग्ने समुदायहरुले अनिवार्य रुपमा राष्ट्रको तहमा आफूलाई विकसित गर्नै पर्छ। प्रान्त कसैको आशीवार्दले प्राप्त हँुदैन। प्रान्तको लागि सम्बन्धित समुदायहरु आफै लड्नु पर्छ र त्यही लड्ने क्रममा नै समुदायहरु राष्ट्रमा परिणत हुन्छन् र प्रान्त पाउँछन्। यदि तपाईं हाम्रो बुझाइ १०ं१ प्रान्त नै हो भने आफूले आस्था गरेको पार्टी वा अब लाग्ने पार्टीको संरचना, स्टाइलले सम्बन्धित समुदायहरु राष्ट्रमा परिणत हँुदैछ कि छैन गम्भीर गरी चिन्तन मनन गरेर लाग्नुहोस्।

यो संसारमा समुदायलाइ राष्ट्र (community to nation) मा लाने जति महान र कठिन काम मैले केही देखिन, समुदाय राष्ट्रमा पुगिसकेपछि त प्रान्त मात्र होइन के के पाउँछ नि। सबै पहिचानवादीहरुलाई मेरो बिनम्र अनुरोध छ – यो अमूल्य जीवनमा आफ्नो समुदायलाई राष्ट्रमा परिणत गर्ने इतिहासकै महत्वपूर्ण र गाह्रो काममा एउटा भए पनि ईंटा थपौं, वाहियतमा अमूल्य जीवन खेर नफालौं। हाम्रो महान त्यागले एकपल्ट हाम्रो समुदाय राष्ट्रमा परिणत भइसकेपछि हाम्रो समुदाय वा हाम्रो राष्ट्र धेर त भन्न सकिदैन एक लाख वर्षसम्म इज्जतपूर्वक यो धर्तीमा माङगेना (शीर उठाएर) सहित बाँच्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *