Loading...
लेखेर राख्नुस माग पूरा नभए यो संविधान टिक्दैन, नयाँ संविधान लेखिन्छ – सांसद श्रेष्ठ

समाजबादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले अन्तरिम संविधानको धारा १३८ (क)ले नेपालमा पहिचान सहितको संघीयता हुने स्पष्ट व्यवस्था गरेकोमा त्यसलाई उल्टाएको, संविधान सभाले बनाएको राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई रद्दीको टोकरीमा फालेको, धर्मनिरपेक्षताको व्याख्यामा अनावश्यक रूपमा स्पष्टिकरण राखी भ्रम सृजना गरेको तथा अन्तरिम संविधानको ६० प्रतिशत समानुपातिक समावेशी हुने व्यवस्थालाई ४० प्रतिशतमा झारेको बताउँदै यो संविधानले २०६२-६३ सालको शान्तिपूर्ण जनक्रान्तिको जनादेशलाई कुल्चेको बताए । उनले यो कुरा समाजवादी पार्टीले विराटनगरमा आयोजना गरेको संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रममा बताएको हो ।
श्रेष्ठले भने, ‘यस्तो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्नु महाभारतको एक पात्र घृतराष्ट्रले आफूले जन्माएको सन्तान भएकाले दुर्योधनलाई उत्कृष्ट सन्तान भनेजस्तै हो । नेपालका के.पि. ओली लगायतका कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरू धृतराष्ट्रजस्तै अन्धो बनेका छन् ।’ उनले नेपालमा २०६२-६३ को शान्तिपूर्ण जनक्रान्ति, १० वर्षे जनयुद्ध तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू पुर्नस्थापना गर्न सफल मधेस जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए ।
नेता श्रेष्ठले १० जोड १ को पहिचानसहितको संघीयतामा जान ढोका खोल्नका लागि आफ्नो पार्टी सरकारमा गएको वखत भएको दुई बुँदे सहमती अनुरूप यथासिघ्र संविधान संशोधन गरी देशमा राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउँदै विगतको सहमति कार्यान्वयन नगरे समाजवादी पार्टी सरकार छोडेर आन्दोलनको बाटोमा लाग्ने बताए । उनले उर्दी जारी गरेर संविधान दिवस मानेको भरमा यो संविधान टिक्दैन भन्दै आदिवासी जनजाति, मधेसी लगायतका उत्पीडित समुदायको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन नगरे जनताको आन्दोलनले पुनः नयाँ संविधान लेखिने बताए ।
यहि शुक्रवार विराटनगरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष प्रविण चाम्लिङको अध्यक्षता र प्रभुराम श्रेष्ठले सञ्चालन गरेको अन्तर्क्रिया कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले संविधान संबशोधनका लागि देशब्यापी दवाव सृजना गर्न सातवटै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम राखेको बताउँदै पहिचानमा आधारित संघीयताका लागि आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव परशुराम बस्नेत, १ नम्बर प्रदेशका सांसद जयराम यादव, पार्टीका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका सल्लाहकार के. के राई लगायतका वक्ताहरूले पनि वर्तमान संविधान संशोधन गर्नुपर्ने बताए । उनीहरूले आफ्नो पार्टीले यो संविधान जारी भएको दिनलाई दिपावली वा कालो दिनको रूपमा नभई संविधान संशोधनको अपरिहार्यता र आवश्यकतालाई जनताको बिचमा लानुपर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *