Loading...
पाइतालामा पाठेघर हुँदैन, पाइतालाबाट बच्चा जन्मिदैन – कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ

काठमाडौँ, २०७६ असोज १० । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको बताउँदै भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा जन्मने कुरा कल्पना गर्न सकिन्न । कसैको मुख वा पाइतालामा पाठेघर हुँदैन । यो विज्ञानसम्मत कुरा नै होइन ।’ उनले उक्त कुरा पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा रामशाहपथमा भएको शिल्पीहरू पहिचान र संस्कृति विषयक कार्यशाला गोष्ठीमा बताएको हो ।
नेपाल बास्तवमा सम्पूर्ण स्रोत साधनले सम्पन्न भए पनि मनुवाद र वर्णवादले पछि परेको बताउँदै प्रमुख अतिथि श्रेष्ठले भने, ‘कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित देव, असूर, स्वर्ग, नर्क आदिको कथा रचे । शिल्पी समुदायमाथि तथाकथित दलितको संज्ञा दिई अछुतको व्यवहार गरे ।’ उनले भने, ‘यहि कुरा सुधार्नका लागि नै देशमा सङ्घीयता, समानुपातिकता र समावेशीता, आवश्यकता भएको हो ।’ उनले गैरभौगोलक सङ्घीयता सम्भव छैन भन्नेहरूलाई अष्ट्रिया, रुस आदि देशको अनुभवबाट सिक्न चुनौति दिए ।
नेता श्रेष्ठले समाजवादी पार्टीले शिल्पीहरूका लागि नेकपा र नेपाली काङ्ग्रेसले जस्तो भातृ सङ्गठन मात्र नबनाई पार्टी सरंचनाको रूपमा गैरभौगोलिक सङ्घीयताको मान्यताअनरूप शिल्पी विशेष प्रदेश समेत बनाएको बताउँदै भने, ‘अब शिल्पी समुदायले पनि पहिचानसहितको सङ्घीयताको झण्डा उठाउनु पर्छ र देशमा सङ्घीय गणतन्त्रभित्र राजकीय सत्ता र शासनाधिकार सहितको विशेष प्रदेशका लागि सङ्घर्ष गर्नु पर्छ । शिल्पी विशेष प्रदेश नबने सङ्घीयतामा शिल्पीहरूको पहिचान र शासनाधिकार स्थपित हुँदैन ।’
उक्त कार्यक्रममा पार्टीका उपमहासचिव दानवहादुर विश्वकर्मा र शिल्पी विशेष प्रदेशका मुख्यसचिव डिबी नेपालीले शिल्पी समुदायको पहिचान र संस्कृतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शिल्पी विशेष प्रदेशका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा पार्टीका उपाध्यक्ष नवराज सुवेदी र हिसिला यमी, महासचिव गंगा नारायण श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी र डम्बर खतिवडा लगायतका केन्द्रीय नेताहरूको पनि अर्थपूर्ण सहभागिता थियो । गोष्ठीको सञ्चालन साजन घटानीले र स्वागत ज्ञान कुमार परियारले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *