Loading...
अन्ततः १४ बर्ष देखिको महरा र रोशनीको प्रेम, बलात्कारको रुप लियो ! यस्तो छ कथा

दिलनिशानी मगर

असोज १७, २०७६

घटना हुनुअघि गत भदौको २२ गते पनि निजी सुरक्षाकर्मी नै लिएर तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमै काम गर्ने कर्मचारी रोशनी शाहीको डेरामा पुगेका थिए । पहिला झैं उनले छिटो आउने भए आउनुहोस्, नत्र जे पनि गर्छु भनेर महरालाई फोन गरेकी थिइन् । भदौ महिनामा महरा रोशनीको डेरामा पुगेको १४ र १८ गतेपछि यो तेस्रोपटक थियो ।

कहिले औषधि सकियो, कहिले आत्महत्या गर्छु, त कहिले भएको औषधि एकैपटक खाइदिन्छु भन्ने धम्की दिने गरेका कारण महरा पटक–पटक रोशनीको निवासमा पुग्थे ।

भदौ १४ गते महरालाई रोशनीको फोन आयो ।

‘मेरो औषधि सकियो, के गर्ने हो आउनुहोस्, नत्र म मर्छु’ भनेपछि महराले औषधि लिन आफ्ना निजी सुरक्षाकर्मीलाई नर्भिकको फार्मेसीमा पठाए । ५ एमजीको क्लोनाजेपाम भन्ने औषधि किनेर ल्याउनुस् भनेका थिए ।

यस्तो औषधि जो पायो त्यसलाई दिन नमिल्ने, स्वयं बिरामी नै उपस्थित हुनुपर्ने र डाक्टरको हस्ताक्षरविना नदिने भनेर फार्मेसीका कर्मचारीहरूले भनेपछि महराले आफ्ना छोरा राहुल महरालाई नै त्यहाँ पठाए ।

राहुलले नर्भिकका डाक्टरहरूसँग परिस्थितिबारे बताएपछि फार्मेसीका कर्मचारीहरू क्लोनाजेपाम नामको औषधि दिए । निजी सुरक्षाकर्मीले त्यो औषधि रोशनीको डेरामा पुर्‍याएका थिए । राहुल भने गेटमै बसेका थिए ।

यसअघि पुसमा रोशनीले आत्महत्याको प्रयास गरेकी थिइन् । उनले भएभरका क्लोनाजेपाम एकैपटक निलेर ओभरडोज लिएकी थिइन् । यो ओभरडोजको जानकारी सबैभन्दा पहिला महराले नै पाए । ‘मलाई केही भयो भने महरालाई नै भन्नू’ भनेर रोशनीले आफ्नी एक सहकर्मीलाई सुनाएकी रहिछन् ।

ती कर्मचारी पनि संसद् सचिवालयमै काम गर्छिन् । तिनै कर्मचारीले महारालाई फोन गरेर भनेकी थिइन्– ‘रोशनी त बेहोश छे, बर्बराएकी छे, के गर्ने होला ?’ त्यतिखेर महराले आफ्नो स्वकीय सचिवालयका एक सदस्यलाई रोशनीबारे बुझ्न पठाए । ती सदस्यले प्रहरी र अस्पतालसँग समन्वय गरेर रोशनीलाई निवास फर्काएका थिए । निवासमा फर्केको ३ दिनपछि महरालाई रोशनीले फोन गरेर झपारिछन्– ‘म मर्न लाग्दा पनि तिमी नआउने, अरूलाई नै पठाउने ? चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो ?’

महराले चाहिँ ‘म व्यस्त छु, के कसो गर्नुपर्ने हो राहुललाई भन्दा हुन्छ नि !’ भनेर भने ।

औषधिले काम गर्न छाडेको र आफूलाई रक्सी पठाइदिन आग्रह गर्ने रोशनीको डेरामा महराको सचिवालयका कर्मचारी सातामा एकपटक रक्सीको बोत्तल पुर्‍याउन जाने गर्थे ।

रक्सी पुर्‍याउने काम सबैभन्दा धेरै महराकै सचिवालयका एक कर्मचारीले गर्थे । हिमालयन रिजर्भ भन्ने रक्सी रोशनीकै फेभरेट थियो । एकपटक उक्त रक्सी दरबारमार्गमा नपाउँदा ठमेलसम्म पुगेर खरिद गरी रोशनीका लागि पुर्‍याइएको थियो ।

रक्सीकै मामिलामा एकपटक महरा र उनका निकै विश्वासपात्र मानिने ती कर्मचारीबीच झगडा समेत भएको थियो ।

परेछ के भने– रोशनीले दुई बोत्तल रक्सी मगाएकी थिइन् । महराले खुसुक्क दुई बोत्तलकै पैसा दिएका थिए । एक बोत्तल मात्र रक्सी पुगेपछि रोशनीले फोन गरेर महरालाई थर्काइछन्, ‘म खान नपाएको मान्छे हैन, तपाईंको एक बोत्तल रक्सी तपाईंलाई नै फिर्ता पठाएको छु ।’ सुनेर महरा झस्किएछन् ।

उनले जवाफ दिएछन्– ‘मैले त दुई बोत्तल नै पठाएको हो, त्यस (रक्सी पुर्‍याउन जिम्मेवारी दिएका कर्मचारी)ले बाटोमै खायो कि क्या हो, मुख सुँघ त ।’

यो रक्सीको झगडा निकै लामो समयसम्म चल्यो र ती कर्मचारीले लामो श्वास तान्दै लुकाएर राखेको पैसाले फेरि हिमालयन रिजर्भ रक्सी किनेर ल्याइदिएका थिए ।

त्यतिखेर ती कर्मचारीलाई रोशनीले झपारेपछि उनले राहुल महरासँग दुखेसो पोखे । राहुलले उल्टै गुनासो गरेछन्– ‘के गर्ने यार, आफ्नो आमाभन्दा यस (रोशनी)को धेरै गाली खानुपरेको छ, यो जिन्दगी धिक्कार छ !’

चैत १२ गते ‘खुशीको खबर छ, डियर !’ भन्दै महरालाई फोन गरेकी रोशनी त्यसपछि १४ दिन दिल्ली बसेर आइन् । त्यसको खर्च महराले नै बेहोरेका थिए । शुरूमा १ लाख भारु पठाइएको थियो । रोशनीले पुगेन भनेपछि २ पटक गरी करीब ५० हजार भारु थप पठाइयो ।

नेपाल आएपछि पनि रोशनीको कचकच यथावत रह्यो । ‘तैंलै गर्दा मैले काम गर्न सकिनँ, म कमजोर भएँ, तालिममा दिल्ली गएको भन्ने कुरा श्रीमानलाई बुझाउन गाह्रो भयो’ भन्नेजस्ता गुनासो निरन्तर आइरह्यो ।
यसबीचमा महरा अर्की एक महिलासँग नजिकिएको भन्ने कुरा रोशनीले चाल पाइन् । त्यसपछि उनले मलाई व्यवस्थापन गर्नुपर्‍यो भनेर महरालाई दबाब दिन थालिन् ।

यसरी दबाब आउन थालेको कुराबारे छोरा राहुल महरा पनि जानकार थिए । उनले परिवारका अन्य सदस्यसँग समेत यो कुरा शेयर गरे । घरमा सानोतिनो लफडा नै भयो ।

पारिवारिक रूपमा कुरा उठेपछि महराले रोशनीसँग नजिकिनु आफ्नो भूल भएको स्वीकारेका थिए । अहिले डिप्रेसनको बिरामी भएका कारण रोशनीलाई गाली/बेइज्जती नगर्न परिवारका सदस्यलाई सम्झाएका थिए । समस्या आफैं हल गर्ने भनेर उनले पत्नीसँग माफी समेत मागेका थिए ।

महरा र रोशनीबीच चिनजान भएको १४ वर्ष बितिसकेको थियो । वीर अस्पतालमा कार्यरत नर्स रोशनीलाई महराले नै काजमा संसद् सचिवालयमा बोलाएका थिए ।

डिप्रेसनको कहानी …

रोशनी शाही बाइपोलर डिसअर्डरकी बिरामी हुन् । यसको कारण छ, त्यो के भने २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई रोशनीलाई शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको शिकार भइन् । त्यति बेलाबाटै औषधि खान थालिन् । आमा दुर्घटनामा पर्दा उनलाई सम्हालिन महराले निकै सहयोग गरेका थिए । आमाको काजकिरियाका बेला महरा स्वयं रोशनीकोमा पुगेका थिए ।

रोशनीले निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलैबाट हो । डिप्रेसनकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो । हालैको प्रकरणमा पनि उनले फरक–फरक मिडियासँगको कुराकानीमा फरक–फरक धारणा राखेकी छन् ।

केही समयअघि ओभरडोज हुने गरी स्लीपिङ ट्याब्लेट लिएपछि रोशनी झण्डै मृत्युको मुखमा पुगेकी थिइन् । त्यतिबेला उनलाई बचाउन महराले भूमिका खेले । उपचार खर्च पनि महराले नै तिरेका थिए ।

रोशनीका पति चित्रजंग शाही स्वास्थ्य मन्त्रालयकै कर्मचारी हुन् । उनी महराका साथी पनि हुन् । यी सबैकुरा थाहा भएपनि उनी सामाजिक प्रतिष्ठा र इज्जतका कारण चुप थिए । महरा आफ्नै नेता भएकाले पर्ख र हेरको अवस्थामा थिए, उनी ।

चित्रजंग मात्र होइन, रोशनी पनि नेकपा निकट स्वास्थ्यकर्मीहरूको ट्रेड युनियनकी नेत्री हुन् । सोही कारण यो अवैध सम्बन्ध बाहिर आउन सकेको थिएन ।

यो सम्बन्धमा महरा मात्र नभएर दुवैको कमजोरी छ । रोशनी निको भएपछि यसको व्यवस्थापन गर्न सक्ने सम्भावना थियो । तर बीचैमा रोशनीको धैर्यताको बाँध फुट्यो अनि १४ वर्षदेखिको प्रेम बलात्कारको आरोपमा पुगेर टुंगियो ।

प्रेममा मान्छे पागल हुन्छ भन्छन्, यहाँ प्रेमले धैर्यताको सीमा नाघ्दा हुनबिधि भएको छ । महराको त पद र राजनीतिक प्रतिष्ठा नै समाप्त भएको छ ।

प्रश्न उठ्छ, रोशनीको अस्वाभाविक स्वास्थ्य अवस्थाबारे जानकार महरा उनी एक्लै भएको बेला घरमा किन गए ? जवाफ– ‘रोशनीले नै म बिरामी छु, आइज भनेर पटक–पटक फोन गर्ने गरेकी थिइन् ।’

महरा–रोशनी प्रकरणपश्चात् केही कुरा नाटकीय रूपमा रचिएका छन्, थपघट गरिएका छन्, पानीमाथिको ओभानो बन्न दूधले नुहाएको बन्ने प्रयास पनि भएका छन् ।

हरेक गम्भीर घटनामा आरोप–प्रत्यारोप हुन्छ नै । तर मुख्य कुरा रोशनी र महराको भेट यो नै पहिलोपटक भने थिएन । १४ वर्षभित्र खोलामा धेरै पानी बगेको छ ।

रोशनीले ‘म डिप्रेसनको रोगी हुँ’ भनेर दिएको निवेदनकै आधारमा महरा जोगिने अवस्था छैन, बरू रोशनी मेरी प्रेमिका हुन् भनेर भन्न सक्नुपर्छ ।

प्रेमिका नभइकन भीभीआईपी मान्छे सामान्य स्तरको कर्मचारीको निवासमा जाँदैन, यो कमनसेन्सको कुरा हो । विगतमा पनि कुनै न कुनै प्रकारको हिमचिम, आत्मीयता तथा गहिरो सम्बन्ध नभएसम्म एक्कासि अप्रत्याशित रूपमा प्रलय नै हुने गरेर महरा कमरेड ती दिदीको कोठामा पुगेका हैनन् भन्ने मेरो बुझाइ छ । भन्छन् नि– ‘इशाराले बोलाउनु पर्दैन, माया भए डराउनु पर्दैन …।’

पहिलोपटक रोशनीले अन्तर्वार्ता दिएको भिडियो हेर्नुहोस्, रोशनी लरबराएर बोलेकी छिन् । महरा रोशनीको कोठामा पुगेर झगडा भएपछि रोशनीलाई व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा उनले आलटाल गरे ।

त्यतिबेला रोशनीले महराको ज्याकेट समातेर झम्टिएकी थिइन् । मलाई कि मार् कि पाल् भन्दै उफ्रिएकी थिइन् । यही बीचमा महराको चश्मा फुट्यो । ल, यस विषयमा भोलि फ्रेश मूडमा कुरा गरौंला भनेर महरा निस्किन लाग्दा रोशनीले महराकै खुट्टा समाइन् । महराको जुत्ता खोसेर फ्याँकिन् । महाराको जुत्ता तानातान गर्दा जुत्ताको भित्री खोल रोशनीको हातमा पर्‍यो । तनावका कारण त्यो दिन महराले बिर्से ।

त्यस दिन रक्सी महराले बोकेर गएका थिएनन् । बरू भएको के थियो भने रोशनीले पिउँदै गरेको रक्सी महरालाई खान दिएकी थिइन् । उक्त रक्सी ३ दिन अगाडि महराले नै पठाएका भने हुन् । रोशनीले भन्ने गर्थिन्, म औषधिले हैन, रक्सीले निको हुन्छु ।

स्रोतका अनुसार, पत्रकार रोशनीको निवासमा पुग्दा उनले ‘क्लोनाजेपाम’ नामक औषधिको ८ वटा गोली खाइसकेकी थिइन्, त्यसैले उनको बोली लर्बरिएको थियो । ‘उक्त औषधि कति मात्रामा खानुपर्ने हो भनेर उनलाई डाक्टरले लेखिदिएका छैनन्, आवश्यक पर्दा खाने भन्ने छ । तर रोशनीले मर्ने नै गरेर खाने गरेकी थिइन् । एक प्याकेट औषधि एक हप्ता नपुग्दै सकियो भन्दै महरालाई फोन गर्थिन् ।

यो क्लोनाजेपाम भन्ने औषधि किन्न सहज थिएन । अतः राहुल महराले निकै दुःख पाए । जति मन लाग्छ र जतिबेला मन लाग्छ, त्यो औषधि खाइहाल्थिन् । रातमा औषधिको साथमा अलिकति रक्सी खानु रोशनीको दैनिकीजस्तै भइसकेको थियो।

चिकित्सकहरूका अनुसार, ‘क्लोनाजेपाम’ सँग रक्सी खाँदा त्यसको असर तीन गुणा बढी हुन्छ । त्यसपछि बिरामी सुस्ताउँछन् या उत्तेजक बन्छन् ।

त्यस दिन महरा रोशनीकोमा पुग्दा उनले औषधि र रक्सीसँगै खाएर बसेकी थिइन् किनभने महरा आफ्नो निवासमा आउने कुरा उनलाई पहिल्यै जानकारी थियो । हेर, म कति साह्रै बिरामी छु भन्ने कुरा देखाउन चाहन्थिन् रोशनी । तर सिधा व्यवहार गरेका महरालाई त्यो कुरा थाहा भएन । भनिन्छ– ठूला मानिसका अगाडि धेरै मानिस लागेका हुन्छन्, उनीहरूको सम्बन्धबारे जानकार नै पो पछि लागेका हुन् कि ?

धार्मिक हिसाबले जुठो सुत्केरोमा गहुँतले चोख्याइन्छ भने अपराधको आरोप लागेमा राजनीतिक पावर, पैसा वा पहुँचले चोख्याउन प्रयास गरिन्छ । तर महाराको केसमा यो रणनीति पनि लागू हुन सकेन, बरू विश्वका प्रतिष्ठित सञ्चारमाध्यममा समेत यस प्रकरणले प्राथमिकताका साथ स्थान पायो ।

यस्ता केसमा विश्वका धेरै चर्चित व्यक्तिहरू बदनाम भएका इतिहास छन् । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोई, चर्चित पादरी एन्थोनी अपुरोन र चीनका प्रसिद्ध भिक्षु स्वेच्याङमाथि यसरी नै यौन दुराचारको आरोप लाग्यो । यसो हुनुका पछाडि कारण मात्र हैन, चरित्रका कुराहरू पनि मुख्य हुन्छन् ।

गुवामको क्याथोलिक चर्चका विश्वचर्चित पादरी एन्थोनी अपुरोन बालकहरूसँग यौन दुराचारको आरोप लागेपछि ७१ वर्षको उमेरमा निलम्बनमा परेका थिए ।

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन् । पैंतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्टोबरमा उनलाई दुईपटक यौन दुराचार गरेको आरोप लगाइएको छ ।

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन् ।

प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरूलाई यौन दुराचार गरेको र उनीहरूलाई वशमा पारी शारीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाइएको थियो । तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका थिए । बेइजिङस्थित ल्वङस्वाङ मन्दिरमा आबद्ध रहेका भिक्षुमाथि तथ्यलाई तोडमोड गर्न खोजेको आरोप समेत लगाइएको छ ।

चीनमा ‘ह्यासट्याग मी टू’ मुभमेन्टले चर्चा पाइरहेको अवस्थामा यौन दुराचारको अभियोगमा मुछिने स्वेच्याङ पछिल्ला सार्वजनिक व्यक्ति हुन् । उनी चीनको बौद्ध संघका प्रमुख समेत हुन् । उनी सो पद सम्हाल्ने सबैभन्दा कम उमेरका भिक्षु हुन् । साथै उनी सरकारका राजनीतिक सल्लाहकारका रूपमा पनि परिचित छन् ।

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेज भनेर सार्वजनिक ‘स्क्रीनशट’मा लेखिएको छ– ‘फर्गेट एस्टर्डे’, तर यो प्रकरण त कसरी फर्गेट होला र ?

लोकांतर डट कमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *