Loading...
राष्ट्र सेवकलाई उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्टहरूलाई सुहाउँदैन : सांसद श्रेष्ठ
काठमाडौँ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दशैँ भाइचारा र मित्रताको चाड भएको बताउँदै दशैं, तिहार, नेपाल संवतको न्हूदँ, छठ, उभौली, ल्होसार लगायतका सम्पूर्ण राष्ट्रिय पर्वहरूको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ । यहि तिथिमा नेवाः समुदायले हजारौँ वर्ष अगाडीदेखि मोहनी चाड मनाउने गरेकोमा भिंतुना दिए । उनले एउटै तिथिमा विभिन्न समुदायले विभिन्न चाड मनाउने गरेको कुरा अन्य राष्ट्रिय पर्वहरूमा पनि रहेको उदाहरण दिए । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले उक्त कुरा काठमाडौँस्थित नेपाः ब्यान्क्वेटमा समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिको आयोजनामा शनिवार भएको शुभकामना आदानप्रदान तथा स्वास्थ्य परामर्श कार्यक्रममा बताएको हो ।
सङ्घीयताविद् श्रेष्ठले देश धर्मनिरपेक्ष भइसकेपछि पनि कम्युनिष्ट शासकहरूले समेत दशैंलाई राज्यधर्म बनाउन खोजेकोमा आपत्ति जनाए । उनले केही वर्ष अधिदेखि देशको राष्ट्रपतिले जनतालाई घुँडा टेकाएर दशैँमा टीका लगाई दिनु ‘राजसी शैली’ भएको बताउँदै यसले वडामहारानीको झल्को दिएको बताए । उनले भने, ‘सङ्घीय गणतन्त्र नेपालमा सामन्ती महाराजको शैलीमा टीका ‘बक्सने’ काम देशको राष्ट्रपतिलाई सुहाउँदैन ।’ उनले गत वर्ष प्रधानमन्त्रीले समेत टीका लगाउन उर्दी जारी गरेको स्मरण गर्दै भने, ‘प्रधानमन्त्रीले दशैंमा सर्वसाधारणलाई लाइन लगाएर टीका लगाउने काम पञ्चायतमा समेत थिएन । सेना, प्रहरी र कर्मचारी लगायतका राष्ट्रसेवहकरूलाई उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्ट प्रधानमन्त्रीलाई सुहाउँदैन ।’
नेता श्रेष्ठले त्यस अवसरमा राष्ट्रिय वैकल्पीक शक्ति निर्माणलाई साकार गर्न समुन्नत सङ्घीय समाजवादको सैद्धान्तिक मार्गचित्रको आधारमा ससफो नेपाल र नयाँशक्ति पार्टीबिच एकीकरण भएको बताउँदै यस काममा सफलता प्राप्त होस भन्ने शुभकामना दिए । उनले आफ्नो पार्टीले समानुपातिक समावेशीकरणसहितको सङ्घीयता चाहेको हुँदा जनताले साथ दिने बताउँदै समाजवादी पार्टीको स्थापनाले एकल जातीय ढङ्गले राज्य चलाइरहेका पुराना पार्टीहरूको आशन हल्लिएको बताए । उनले अब सबै नेता कार्यकर्ताहरू सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद निर्माणको दिशामा लाग्नुपर्ने बताए ।
समतिको अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा स्थास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख डा. महेशमान श्रेष्ठ, सहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. युवराज लिम्बू र पोषणविद् शिला शर्माले स्वस्थ रहनका लागि सन्तुलित खाना, आहार–विहार, ब्यायाम र विश्राम आदि विषयमा स्वास्थ्य परामर्श दिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष हिसिला यमी, ३ नम्बर प्रदेशका इन्चार्ज कृष्णवहादुर घःजु, सहइन्चार्ज लालवहादुर तामाङ, उपाध्यक्ष न्हुच्छेलाल महर्जन, मुख्यसचिव मोहन बराइली, सचिव मानुषी यमी भट्टराई, नेवाः प्रदेशका इन्चार्ज पञ्चलाल महर्जन, सहइन्चार्ज राधाकृष्ण महर्जन र डि.वि. लिम्बू, पार्टीका केन्द्रीय सदस्य पवित्र महर्जन, शान्तकुमार प्रधान लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेवाः राष्ट्रिय समितिका मुख्यसचिव परिवर्तन भट्टराइले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *