Loading...
चिनियाँ राष्ट्रपति सी सरकारको प्लानमा आएका होइनन् घमण्ड नगरौ, बढी नफुर्क- डा भट्टराइ

चिनियाँ राष्ट्रपति इण्डिया गएर किन आए ? मुख्य विषय यो हो । नेपालमा सीधै नआइकन मोदीसँग शिखर वार्ता गरेर अनि यता आउनुको अर्थ छ । उनीहरु नेपाल सरकारको प्लानमा आएका होइनन् । यसमा कसैले घमण्ड गरेर हुँदैन । हामीले बढी फुर्कनु पनि हुँदैन ।
मोदीलाई भेटेर नेपाल आउनुको अर्थ, चिनियाँहरु एकदमै परिपक्व छन् । हाम्रोजस्तो जटिल भूराजनीति भएको देशमा चीनजस्तो एउटा उदीयमान शक्तिले त्यत्तिकै ख्यालठट्टा गरेर लौ तिमीहरुले भनिहाल्यौ भनेजस्तो हुँदैन । हामीभन्दा उनीहरु धेरै परिपक्व छन् ।
चीनले ग्लोबल पावर भइसकेपछि अहिले जुन युरोप र अमेरिका डोमिनेटेड जुन विश्व छ, त्यससँग प्रतिस्पर्धा गर्नु छ । त्यसो गर्नका निम्ति एशियाका देशहरु र मुख्यतः उदीयमान शक्ति भारतलाई साथमा नलिएसम्म चीनको नेतृत्वमा भनिएको एशियन एक्काइशौं शताब्दीको लक्ष पूरा गर्न गाह्रो छ । यो कुरा चीनले राम्रोसँग बुझेको छ । त्यसो भएको हुनाले भारतसँग राम्रो सम्बन्ध नराखेसम्म यो सम्भव हुँदैन भन्ने स्पष्ट धारणा छ ।
चिनियाँ राष्ट्रपति पहिले भारतको महाबलीपुरम गएर यता आउनु भनेकै भारतको विश्वास लिएरमात्रै तपाईहरुसँग सम्बन्ध राख्छौं है, भारतलाई चिढ्याउने गरी तपाईहरुसँग सम्बन्ध राख्न अहिले हामीले राख्न मिल्दैन भनेको हो । यो कुरा हामी आफैंले बुझ्नुपर्छ ।
अमेरिका र भारतलाई चिढ्याउनु हुँदैन:
मेरो त प्रष्ट धारणा के छ भने हामीले भारतसँगमात्र होइन, अमेरिकासँग पनि मित्रता राख्नुपर्छ । भारत, चीन र अमेरिकाको वीचमा हामीले सन्तुलित सम्बन्ध राख्नुपर्छ । व्यवहारतः कसैसँग बढी गर्नुपर्ला । आर्थिकरुपमा भारतसँग बढी गर्नुपर्ला, चीनसँग एउटा पक्षमा गर्नुपर्ला । अमेरिकासँग अरु कुराहरुमा गर्नुपर्ला । तर, हामीले तीनवटै देशसँग सन्तुलित सम्बन्ध राखेर जानुपर्छ ।
यसमा हामी सबैले एउटै राष्ट्रिय पोलिसी बनाउन आवश्यक छ । हामीले गल्ती गर्‍यौं भने अहिले जुन अवसर पैदा भएको छ, यो गुम्न सक्छ । अहिले अवसरचाहिँ राम्रो पैदा भएको चाहिँ हो ।
अहिले अमेरिकनहरुले पनि नेपालमा चासो लिइराखेका छन् । हुन त हामीले अमेरिकाको पुँजीवादी प्रणालीको आलोचना गरेको पनि हो । तर, अमेरिकाको पनि आफ्नो जुन वौद्धिक, प्राविधिक अग्रता छ, त्यहाँबाट सिक्नुपर्ने कैयौं कुराहरु छन् । ऊ अहिले पनि विश्वशक्ति हो । 

के पि भट्टराईको फेसबुकबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *