
बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई पक्राउको विरोधमा सांसद साहलाई जनकपुर एयरपोर्टमा ल्याइएको बेलापनि राजपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए। राजपाका प्रदेशसभा सांसद निरा साह, परमेश्वर साहलगायतका नेताहरु प्रदर्शनमा उत्रिएका थिए। सांसद साहलाई तत्काल रिहाइ नगरिए उनीहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) सांसद प्रमोदकुमार साहलाई गरिएको पक्राउ विरुद्ध जनकपुरमा युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन्। राज्यले षडयन्त्रपूर्वक सांसद साहलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मंगलबार साँझ राजपा निकट विद्यार्थी तथा युवा संगठनले रामानन्द चोकमा प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा युवाहरुले बुद्ध एयर र सरकार विरुद्धमा चर्को नाराबाजी गरेका छन्। राजपा कार्यकर्ताको प्रदर्शनपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जनकपुर विमानस्थललगायत चोकहरूमा धेरैको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
राजपाकी महिला नेतृहरुले समेत जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी टायर बालेर प्रदर्शन गरेकी छन्। चर्को नाराबाजी गर्दै दर्जनौ महिला नेतृ तथा कार्यकर्ताहरुले प्रदर्शन गरेकी हुन्।
Facebook Comments