Loading...
“कुनै पनि हालतमा एकीकरण हुन्छ” यसरी राजपा नेपाल चल्दैन – राजेन्द्र महतो

काठमाडौँ । समाजवादी पार्टीसँग एकताको विषयलाई लिएर राष्ट्रिय जनता पार्टीमा ठूलो मतभेद रहेको छ । एकीकरणको विषयलाई लिएर पार्टीको शीर्ष नेतृत्व कै मतविभाजित छ । त्यसले गर्दा बेलाबेलामा उनीहरुको बीचमा आन्तरिक विवादहरु पनि भइरहेका हुन्छन् । एउटा पक्ष तत्कालै एकीकरणमा गइहाल्नुपर्ने पक्षमा छ भने अर्को पक्ष तत्कालै होइन पार्टीको महाधिवेशन गरेर जाने पक्षमा देखिन्छ । आइतबार यही विषयलाई लिएर राजपा नेपालमा चर्काचर्की नै भएको छ । पार्टी एकीकरण, उपनिर्वाचन, पार्टीको महाधिवेशन लगायतको विषयमा छलफल गर्न अध्यक्षमण्डलको बैठक बोलाइएको थियो । सो बैठकमा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकताका लागि भइरहेको अनौपचारिक छलफलको बारेमा कुरा राखेका थिए । त्यही क्रममा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले एकीकरण गर्न गरिएको छलफलबारे प्रश्न उठाएपछि बैठकमा चर्काचर्की परेको थियो । बैठकमा महतो र यादवबीच प्रश्न–प्रतिप्रश्न चलिरहेकै बेला अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झाले पनि महतोको कार्यशैलीको आलोचना गरे । ‘तपाईं को हुनुहुन्छ मेरो मूल्य तोक्ने व्यक्ति ? तपाईं को हुनुहुन्छ मलाई बेच्ने व्यक्ति ? पार्टीमा सल्लाहै नगरी पार्टीको एकीकरणको बारेमा किन छलफल गर्नुभएको छ ? हामी पनि छौँ नि एकीकरणको बारेमा कुराकानी गर्ने,’ झाले आपत्ति जनाउँदै भने । जवाफमा महतोले राजपा नेपाल अब यसरी नचल्ने बताउँदै समाजवादी पार्टीसँग एकीरकण गर्नैपर्ने कुरा दोहोर्याए । ‘कुनै पनि हालतमा एकीकरण हुन्छ, यसको बारेमा पार्टीमा कसरी छलफल गर्नुपर्छ गर्नुस् । तर, एकीकरणको प्रकृया अगाडि बढ्छ,’ महतोले भनेका थिए ।

Ratopati.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *