Loading...
नेपालभाषा नबुझ्ने नेवार समुदायको लागि उपयोगी ः म्हपुजा के हो ? कसरी गर्ने र किन गर्ने ?

पवन राज बनेपाली

नेपालका विभिन्न आदिवासीहरु मध्ये नेवार समुदाय एक महत्वपूर्ण जाति हो । काठमाडौं उपत्यकाको निर्माण महाचीनबाट आउनु भएका मञ्जुश्रीले तालको रुपमा भएको काठमाडौको पानी चोभारको गल्छीबाट निकालेर बसोबास गर्न योग्य उपत्यका बनाए पछि नेवारहरुको सभ्यताको शुरुवात भएको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनीहरुले काठमाडौं उपत्यकामा विभिन्न र्मूत अर्मूत सम्पदाहरु निर्माण गरे । यहाँका मन्दिर, सत्तल पाटी पौवाहरु र्मूत सम्पति हुन् भने यहाँको भाषा, साहित्य, कला, जात्रा, चाड पर्व नेपालकै अमूल्य अर्मूत साँस्कृतिक धरोहरहरु हुन् । नेवारहरुको उच्चस्तरीय सांस्कृतिक सम्पदाहरुले गर्दा नै धेरै मानिसहरु उत्तर, दक्षिण पूर्व पश्चिम बाट आएर बसोबास गर्न आएर कालान्तरमा नेवार नै भएर बस्न थालेका हुन् । त्यसैले नेवारहरुभित्र धरै किसिमका विविधताहरु देखिन्छन् । नेवारहरुको विभिन्न अर्मूत सम्पदाहरु मध्ये नेवारहरुको म्हपूजाका बारेमा केही जानकारी यस लेखमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
नेवारहरुको जीवन दर्शन अनौठो छ । नेवारहरुले सकारात्मक काम गरेर गएका ब्यक्तिहरुनै देवी देवता बनेका हुन् र हामीले पनि सकारात्मक काम र जन उपयोगी काम गर्दै गएमा देवता नै बन्न सक्दछौं भन्ने दर्शन बोकेको पाइन्छ । यसै दर्शनको आधारमा प्रत्येक मानिसहरु भित्र पनि देवता छ वा प्रत्येक व्यक्ति आफू पनि देवतासरह नै हो भनेर आफूले आफैलाइ पूजा गर्दछन् । यसरी आफैले आफूलाई पूजा गर्ने परम्परा एक अनौठो र मौलिक परम्परा हो । नेवारी भाषामा ‘म्ह’ भनेको शरीर हो त्यसैले ‘म्ह पूजा’ भनेको शरीरको पूजा भनेर बुझन सकिन्छ । हाम्रो शरीर विभिन्न प्राकृतिक तत्वहरु स्थल, जल, वायु, आकाश, तेजतत्वहरु संयोजन भएर बनेको छ । मासु थल तत्व हो, रगत जल तत्व हो, शरीर भित्र- बाहिर गरिरहने बायु तत्व हो , हामीले खाएका कुराहरु पचाइ दिने शक्ति तेजतत्व हो , हाम्रो शरीर भित्र पनि केही केही भाग खाली रहन्छ त्यो आकाश तत्व हो वा हाम्रो मन आकाशको प्रंतिबिम्ब हो भन्ने दर्शन म्हपूजा गर्ने परम्परामा अन्तर्निहित रहेको छ ।
यी पाँच तत्वहरु सबै आफ्नो आफ्नो ठाउँमा काम गरेर हाम्रो शरीर परिपूर्ण भएको हो । बाहिर रहेको पञ्च तत्वहरुसित पनि हामी संयोजित भएर रहन सक्नु पर्दछ भन्ने दर्शन अनुसार म्हपूजा मा जहिले पनि यीनै पाँच तत्वहरुको प्रत्येकको प्रयोग गरिन्छ । जस्तै म्हपूजाका दिन दिइने अण्डा सगुनमा अण्डाले आकाशतत्व, बाराले बायु तत्व, माछाले जल तत्व, मासुले स्थल तत्व र रक्सीले तेज तत्वको प्रतिनिधित्व गरेको हुन्छ । यस्तै गरी म्हपूजा गर्दा खेरीको मण्डपमा पाँचओटा गोलो वृत्त अन्तर्निहित रहेको हुन्छ यसले पनि पञ्च तत्वको  प्रतिनिधित्व गरेको हुन्छ । मण्डप वरिपरि आठवटा पात पनि रेखी बाटै बनाइएको हुन्छ जसले कमलको फूल वरिपरिको पात संकेत गरेका हुन्छन् भने यीनैले अष्टमंगल, शिवका आठ रुप, अष्ट बोधिसत्व, वा अष्टमातृका भनी विभिन्न अर्थ लाइएको हुन्छ । धेरै जसो म्हपूजाको मण्डप राम्रो संग बनाए पछि हाम्रो मन नै प्रफुल्लित बन्दछ । अब म्हपूजा कहिले गरिन्छ – कसरी गरिन्छ – किन गरिन्छ भनेर केही कुराहरु कोट्याउन चाहन्छु । नेवारहरुले म्ह पूजा नेपाल सम्बतको तिथि अनुसार कार्तिक शुक्लपक्ष परेवाको दिन गर्ने गर्दछन् । तिहारको एक दिन अगाडि लक्ष्मी पूजा हुन्छ । लक्ष्मी पूजाको भोलिपल्ट बेलुकी पख यो पूजा गरिन्छ । यो दिन नेपाल सम्वतको साल फेरिने दिनमा गरिन्छ भने अक्सर गरी घरका सबभन्दा उमेर पाको महिला – नेवारभाषामा नकिं ) ले गर्नु पर्दछ । यसमा मुख्यतया पूजा सामान रेखी, अवीर, अक्षता, धान, चामल, धुप, पुरानो कपडाले बनेको इता, लावा जजंका फूलमाला आदि आवश्यक पर्दछ । त्यस पछि एउटा नयाँ कुचो, एउटा नाङलो, शुद्ध पानीको कलश, र सुकुन्डा कसैले सिलौटोको बच्चा, पाथी पनि ल्याएर देवताको प्रतीकको रुपमा मण्डप सहित सजाएर राखिन्छ । म्हपूजा गरिने जति जना छन् त्यति नै ओटा मण्डप पनि बनाउन आवश्यक छ । यस बेलामा यमराज, चित्रगुप्त, बलिराजा, यमराजकी बहिनी यमुनाको लागि पनि मण्डप बनाइएका हुन्छन् । यस्तै गरी अन्य खाद्य पदार्थहरुमा दही, फलफूल मिठाइ आवश्यक पर्दछ भने विमिरो त नभइहुंदै हुँदैन । त्यसै गरी अण्डा सगुन दिनको लागि उसिनेर तारेको अण्डा, माछा, मासु, बारा आवश्यक पर्दछ । अब म्हपूजा गर्दा मुख्य मुख्य कुन कुन चरणहरु पार गरिन्छ भन्ने तर्फ हेरौ ।
सबभन्दा पहिले म्हपूजा गरिनेहरु समेत सफा सुग्घर भएर सके नुहाएर बस्नु पर्दछ । म्हपूजा गर्नु भन्दा पहिले घरको अगाडि आँगन पूजा, घरको सबै ठाउँमा बत्ती बालेर अधिल्लो दिन पूजा गरेकै लक्ष्मीलाई पूजा गरेपछि म्हपूजा गरिने ठाउँमा रातोमाटो गोबर मिसाएर लिप्नु पर्दछ । लिपे पछि कुचोले सरक्क बढार्नु पर्दछ । बढारी सके पछि पँहेलो रेखीले आफ्नो परम्परा अनुसार जसरी मण्डप बनाउने हो बनाउनु पर्दछ । यसमा उत्तर तिर फर्काएर अघि भनचो, कलश सुकुण्डा आदिको लागि सानो सानो मण्डप समेत बनाएर सजाएर राख्नु पर्दछ ।
त्यस पछि यमराज, चित्रगुप्त हरुलाई पनि साना सानो दक्षिण तिर र्फकने गरी सानो सानो मण्डप बनाउनु पर्दछ । यसरी उत्तरतिर फएका देवताहरु र दक्षिण फर्किएका यमराज गणका लागि बनाइएका मण्डप को बीचमा घरमा जति जना परिवारसख्या छ सोही अनुसार ठूलो ठूलो मण्डप बनाउनु पर्दछ । मण्डप बनाए पछि आफ्नो परम्परा अनुसार मण्डपमा तेलको टीका, पहेंलो टीका, फुस्रे टीका, अक्षता, धान, चामल अलि अलि राखेर आफ्नो परम्परा अनुसार सजाउनु पर्दछ । यी सबै गर्नु भन्दा पहिले एउटा ठूला ठूलो पानीको चक्का बनाउनु पर्दछ । यति गरे पछि म्हपूजा गर्नेहरुले आफ्नो आफना मण्डप अगाडि जेष्ठताको क्रम संगै देवताहरुको मुनी पारेर लहरै बस्नु पर्दछ र सकेसम्म पूर्वतिर फर्केर बस्नु उपयुक्त मानिन्छ । यति गरेपछि विधिवत म्हपूजा शुरु हुन्छ ।
म्हपूजा गर्नेहरुले पहिले आफ्ना आफ्ना मण्डपमा धुप बत्ति गर्दछन् । यसमा पनि पहिले देवताहरु र यमराज तिर धुप बत्ति गरिन्छ । त्यस पछि नकिं -घरको महिलामूलीले) दहिको भा“डो, पूजाको थाली र अण्डा सगुन सामग्री सबैलाई ढोगन लाइन्छ । यति गरे पछि सबैलाई दहीको टीका पुरुषलाई भए दायाँ कञ्चटमा महिलालाई भए बा“या कञ्चटमा टीका लाइदिन्छ । त्यस पछि चामल अक्षता अविर दही मुछेर म्हपुजा गनै सबैलाई पालै पालो दिएर देवताहरुतिर, यमराज भए तिर, आफ्ना आफ्ना अगाडीको मण्डप र गृहलक्ष्मी सभ्झेर माथितिर टिका लगाइन्छ । यति सिध्याए पछि नकींले सबैलाई त्यहि टीका सबैको निधारमा लगाइन्छ । यति भए पछि सबैलाई लामो लामो खेलु इता (करिब एक हातको लामो बत्ती) बाल्दै पूजा गराउँदै सुम्पी दिइन्छ र सबैले आफ्नो आफ्नो मण्डपमा आफूतिर फर्काएर राखिन्छ । यसपछि सबैलाई फलफूलको थाली सुम्पीदिइन्छ । यसलाई सिसगं भनिन्छ अर्थात फलफूलको सगून भन्ने बुझिन्छ । फलफूल लिए पछि लगतै प्रत्येकले त्यहाँ भएको लामो जजंका र माला आफैले लगाउँछन् । फलफूलको सगून दिए पछि मिठाइको सगुन (सेल, पुरी, निम्की आदिको थाली ) सुम्पिइन्छ । यति गरे पछि अण्डा सगुन दिइन्छ । अण्डा सगुन दिनेले दायाँ हातमा अण्डाबारा र बायाँहातमा रक्सी लिएर हात क्रस गरेर म्हपूजा ग्रहण गर्नेलाई दिने र लिने ले पनि दायाँ हातमा अण्डाबारा र बा“या हातमा पर्ने गरी लिइन्छ । लिनासाथ सगुन खान भने हुँदैन नखाने सबैले नपाएसम्म नखाइकन कुरेर बस्नु पर्दछ । म्हपूजा गर्नेले समेत अण्डाबाला रक्सी लिए पछि सबैले सबभन्दा जेठोले खाए पछि बल्ल जेष्ठताको क्रम अनुसार अण्डा टोक्दैजाने । सगुनको अण्डा लिने पनि तीन पटक टोकेर लिनु पर्दछ भने रक्सी पनि तिन पटक गरेर पिउनु पर्दछ । र एक पटक पिए पछि रक्सी पनि तीन पदक थपि दिनु पर्दछ । यसको के अर्थ छ भने हामीलाई जे काम गर्न पनि तिनओटा शक्तिको आवश्यकता पर्दछ । यी तिन शक्ति हुन – पहिलो शारीरिक शक्ति, दोस्रो मानसिक शक्ति , तेस्रो बौद्धिक शक्ति । यसरी तीनै थरीको शक्तिले भरिपूर्ण भएर आफ्नो आफ्नो जीवन सफल होस भन्ने कामना गर्नु हो ।
अण्डा सगुन सबैले खाए पछि सबैलाई एउटा मानो वा पाथीमा फूलका टुक्राहरु, फलफूलका टुक्राहरु, लावा आदिले भरेर तीन पटक टाउको देखि प्रत्येक ब्यक्तिलाइ खन्याएर अभिषेक गरिन्छ । यसलाई नेवारी भाषामा घ्वाल्ल गर्ने भनिन्छ । यति गरे पछि घरको नकींले सबैलाई तीन पटक घुंडामा छोएर कुममा छोएर र टाउकोमा छोएर ढोग्नु पर्दछ । यसमा नकींले आफ्नो छोरा वा छोरी नाति नातिनी भए पनि यसरी ढोग्नु पर्दछ । -अरुकोलागि यो अनौठो हुन सक्तछ । ) यति गरे पछि समापन गर्नको लागि एउटा कचौरामा दही राखेर त्यसमा कुनै एक खालको फलफूल राखेर मुछेर सबैलाइ अलि अलि ख्वाउनु पर्दछ । यसलाई नेवारीमा धौमू ख्वाउने भनिन्छ । धौमू समेत ख्वाए पछि एउटा कूचोले देउता स्थापना भएतिरबाट यमराजको सानो मण्डप भए तिर बढारेर लानु पर्दछ । यस पछि त्यही ठाउँमा रहेर खुसियाली भोज खाने गरिन्छ । यस म्हपूजा प्रक्रियामा जे जसो लेखिए पनि म्हपूजा गर्ने प्रक्रिया ठाउ ठाउँ अनुसार थर थर अनुसार पनि फरक हुन सक्तछ । यसमा सबभन्दा राम्रो आफूले पहिले गरे जसै गरी पूजा गर्नु नै राम्रो हुन्छ । म्हपूजा गर्ने, मण्डप लेख्ने कुराहरुमा केही विविधता भए पनि म्हपूजामा लुकेको दर्शन एउटै हो । नेवारहरुको म्हपूजा एक मौलिक पर्व हो । यसलाइ आत्म पूजा वा स्वपूजा पनि भन्न सकिन्छ । धरैजसो हाम्रा परम्पारगत सम्वतहरुका अनुसार कार्तिक मंसिरमा वर्ष फेरिन्छ । एक वर्ष जसोतसो विभिन्न कृयाकलाप कृषि उद्योग, व्यापार गरेर एक दिन अगाडि लक्ष्मी पूजा गरेपछि एक वर्ष पूरा भएको सम्झिएर अर्को वर्ष स्वस्थहोस्, आफ्ना यावत क्रियाकलापहरु अझ व्यवस्थित होस्, आफ्नो शरीर भित्र रहेको पञ्चतत्व स्थीर भएर सन्तुलित भएर रहोस् । आफ्नो, तन, मन, धन स्थीर रहोस् । आफैमा आत्मबल आओस् ताकि जीवनमा आइपरेका यावत समस्याहरु समाधान गर्न सकियोस् । आफूमा मानसिक शक्ति बौद्धिक शक्ति वृद्धि होस् भनी शुभकामना दिने हो । म्हपूजा सम्बन्धमा एउटा भ्रम के छ भने नेपाल सम्बत र म्हपूजा एकै दिनमा परेको हुनाले नेपाल सम्वत्को प्रणेता शंखधरले सबै आसामीको ऋण तिरिदिएर म्हपूजाको परम्परा थालिएको हो भन्ने यदा कदा सुनिन्छ । वास्तवमा यो कुरा सत्य होइन । यो म्हपूजा गर्ने भनेको नेपाल सम्वत् भन्दा पनि धेरै पहिले आइसकेको चलन हो । केबल शंखधरले स्थापना गरेको सम्वत अनुसार वर्ष फेरेर नयाँ वर्ष आउने दिन एक पवित्र दिन सम्झेर म्हपूजाको दिन पारेको हो । उदयबहादुर अमात्य
म्हपूजा सम्बन्धमा अर्को कुरा गर्दा यो नेवार जातिको एक सशक्त पहिचान हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *