Loading...
माइत बसेकी श्रीमतीलाई बोलाइ, कोशेली खाएर, उसकै पैसाले रक्सि पिएर ढुंगाले हानि हत्या

धरान । १४ कात्तिक, धरान । धरानका एक युवकले टाउकोमा ढुंगाले प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि फरार भएका उनलाई प्रहरीले घटना भएको ४ घण्टापछि पक्राउ गरेको छ । प्रहरीका अनुसार घटना जीना माइतबाट आएकै दिन बुधबार साँझ ८ बजेतिर भएको हो । श्रीमानसँग घरायसी मनमुटाव भएपछि जीना एक महिनाअघि माइत घर गएकी थिइन् । जीनालाई बुधबार मात्रै सम्झाईबुझाई गरेर अर्जुनले तिहारको भाइटीका सकिएपछि घर ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटनास्थलबाट मृतक २० वर्षीया जीना तामाङको शव बरामद गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका राईलाई सेउती खोलाको पुल नजिकैबाट राति साढे ११ बजेतिर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले घरायसी मनमुटावको कारण निर्माणधिन सेउती खोलाको पुल नजिकै लगेर अर्जुनले श्रीमती जीनाको टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको पुष्टि गरे । सामान्य ज्याला मजदुरी गरी खाने अर्जुन र जीनाको ५ वर्षअघि किशोरावस्थामै प्रेम विवाह भएको थियो । साथमा ४ वर्षकी छोरी छिन् । घर आइसकेपछि साँझ जीनाले माइतबाट ल्याएको कोसेली मिलर दुवै जनाले खाए । जीनाले श्रीमानलाई रक्सी समेत किनेर ल्याएर खान दिएको पाइएको छ । खाइसकेपछि दुवैजना सहमतिमा एकछिन टहलिन घरनजिकैको सेउती खोलाको निर्माणाधीन पुलमा निस्केका थिए । एक महिनापछि भेट भएका उनीहरुबीच बाहिर निस्केर पुल पुग्ने बित्तिकै फेरि विवाद हुन थाल्यो । विवाद हुन थालेपछि अर्जुनले एक्कासी ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डीएसपी न्यौपानेका अनुसार अर्जुनले प्रारम्भिक बयानमा ‘अरु केटासँग शंका लागेपछि बेला–बेला विवाद भने हुने गरेको थियो । त्यही झोकमा आएर हत्या गरेको हुँ ।’ श्रीमतीको हत्यापछि शव पुलमै छाडेर अर्जुन भागेका थिए । पक्राउ पर्ने डरले बाझगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको अर्को पुलमूनि लुकिबसेको अवस्थामा ११ः२५ बजे अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । भाइटीकाको भोलिपल्ट अर्थात् बुधबार मात्रै जीना घर आएकी थिइन् । तर, राति ८ बजेतिरै उनको हत्याको खबर टोलमा फैलिएको स्थानीय बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *