
१५ कात्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्जका सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गरेको छ । प्रहरीले झुठा बहाना बनाएर शाहलाई फसाउन खोजेको तरुण दलको आरोप छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियारको फिङ्ग प्रिन्ट जाँच गर्न माग गरेका छन् । अध्यक्ष बस्नेतले सन्दीपको पक्राउलाई ‘झुठा बहाना बनाइ फसाउने, सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणहरुलाई दुःख दिने नियत’ भनेका छन् ।
विज्ञप्तिमा -निर्दोष नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपन्च रच्ने षडयन्त्रकारी प्रहरीहरुलाई हदैसम्मको कारबाही गर्न, बरामद गरिएको भनिएको हतियारमा फिङ्गर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ ।’ लेखिएको छ l
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नमस्ते रिसोर्टबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनु भएको छ ।
Facebook Comments