Loading...
भारतमा तीन किलोमिटर सम्म भएको चाँदीको वर्षाको यस्तो छ कथा, परीक्षण गर्दा चाँदी शुद्ध

भारतको सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको समाचारहरु आइरहेको छ । बुधबार बिहानै सडकमा मानिसको चहलपहल सुरु भएपछि सडकभरी चाँदी पाइएको हो । चाँदीका स–साना टुक्रा टिप्नका लागि मानिसहरु सडकमा ओइरिए । परीक्षणका क्रममा सडकमा भेटिएको चाँदी ‘शुद्ध’ पाइएको छ । यतिधेरै चाँदी सडकमा फेला परेपछि स्थानीय प्रशासनले पनि छानविन अघि बढाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी भेटिएको थियो । केहीले रातिदेखि नै सपरिवार सडकमा चाँदी टिप्दै रात बिताएको बताइन्छ ।

बुधबार बिहान थप मानिस सडकमा चाँदी टिप्न आइपुगेका थिए । स्थानीयबासिन्दाले सडकमा कुल ५० किलोभन्दा बढी चाँदी फेला पारेको बताइन्छ । सडकमा खोज्नेहरुले प्रतिव्यक्ति १०० ग्रामदेखि दुई किलोसम्म चाँदी बटुलेको चर्चा छ । सडकमा यतिधेरै चाँदी कहाँबाट आयो भन्नेबारे प्रष्ट हुन सकेको छैन ।

यस्तो छ कथा

उक्त क्षेत्रका बासिन्दाका अनुसार नेपालबाट तस्करहरुले ल्याएको चाँदी सडकमा छरिएको हुन सक्छ । बोरामा हालेर ल्याएको चाँदी चुहिएर सडकमा छरिएको हुन सक्नेमा स्थानीय प्रशासन पनि सहमत देखिन्छ । विशेषगरी नेपालको धनुषा र महोत्तरी जिल्लाबाट सुरसन्डमा व्यापारिक कारोबार हुने गरेको छ । नेपालका यिनै दुई जिल्ला हुँदै तस्करहरुसमेत सुरसन्डबाट भारतीय सामान ल्याउने तथा नेपालबाट सुन–चाँदी लगायतका सामान तस्करी गर्दै आएका छन् । तस्करहरुले राति मोटरसाइकलमा सामान तस्करी गर्दै आएका छन् । नेपालबाट तस्करी गरी ल्याइएको चाँदीको बोरा चुहिएर सडकमा छरिएको हुन सक्ने सुरसन्डका बासिन्दा बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *