
ओम प्रकाश यादव माघ १७ गते, रौतहट । उद्योगीबाट ठगिएका रौतहटका उखु किसानहरु अब उखु उत्पाद संघ रौतहटबाट समेत ठगिएका छन । बन्द अवस्थामा रहेको रौतहटको श्रीराम सुगर मिल्स माघ १५ गतेदेखी सञ्चालन हुने भन्दै उखु उत्पादक संघले किसानहरुलाई सुचना नै निकालेर जानकारी गराएको थियो भने मिल्स सञ्चालन नहुन्जेलसम्म कहि कसैको दवावमा परेर उखु नबेच्न पनि किसानलाई आवहान गरेको थियो । तर अझै मिल्स सञ्चालन नहुँदा श्रीराम सुगर मिल्समा उखु बेच्न पर्खिरहेका उखु किसानहरुलाई अहिले ठुलो समस्या भएको छ । किसानहरुका अगुवा नेता राज कुमार दासले मिल्स सञ्चालनको नाममा उखु उत्पादक संघ रौतहटले किसानहरुलाई ठगी गरेको आरोप लगाएका छन । मिल्स सञ्चालन हुन्छ तपाईहरु कतै उखु नलैजानुस भन्ने झुठा आश्वासन दिएर संघले यहाँका सोझाँसाझाँ किसानहरुलाई गठेको नेता दासले बताए । आफनो नाम कमाउन गलत प्रचार प्रसार गरी किसानलाई ठगि गर्ने र खेलवाड गर्ने उखु उत्पादक संघका पदाधिकारीहरुलाई कार्यवाही हुनुपर्ने नेता दासको माग छ । उखु उत्पादक संघ रौतहटले निकै तामझामका साथ केहि दिन अघिदेखी नै श्रीराम सुगर मिल्स गरुडा यहि माघ १५ गतेदेखी सञ्चालन हुन गईरहेको भन्ने प्रचार प्रसार गरेको थियो । एफएम रेडियो देखी लिएर पत्रपत्रिकाबाट समेत संघले मिल्स माघ १५ गतेबाट सञ्चालन हुन गइरहेको भन्ने व्यापक रुपमा प्रचारबाजी गरेको थियो । तर आज माघ १७ गते भएपनि गरुडा मिल्स अझै सञ्चालन हुन सकेको छैन, मिल्स सञ्चालनको त कुरै छाडौ मिल्स सञ्चालनको अहिलेसम्म कुनै सुरसार नै देखिएको छैन । मिल्स सञ्चालन हुने किसानहरुसँग प्रतिवद्धता गरेको उखु उत्पादक संघले निर्धारित समय माघ १५ सम्ममा मिल्स सञ्चालन नहुँदा किसानलाई झुठा आश्वासन दिएर गठेको कुरा प्रस्ट भएको नेता राजकुमार दासको ठम्याई छ । मिल्स सञ्चालन हुन नसक्दा माघ १५ गतेबाट गरुडा मिल्समा उखु बेच्ने तयारीमा रहेका उखु किसानहरु फेरी निराश भएका छन । माघ १५ गतेबाट मिल्स सञ्चालन हुने आशमा रहेका किसानहरु मिल्स सञ्चालन हुन नसक्दा फेरी निराश भएका छन ।
Facebook Comments