Loading...
रौतहटको क्वारेन्टाइनमा बस्नेहरुको संख्या पुग्यो २४३, कुन क्वारेन्टाईनमा कति जना पुरा हेर्नुहोस ।

ओम प्रकाश यादव रौतहट, चैत्र २५ गते । कोरोनाभाइरस संक्रमणको आशंकामा रौतहटको क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या दैनिक बढ्दै गएको छ । लकडाउन सुरुभएदेखि नै भारत लगायत विभिन्न स्थानबाट आउनेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ । सोही व्यवस्था अनुसार चोर बाटो प्रयोग गरेर नेपाल आएकाहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने गरिएको छ । जिल्लास्थित क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या मंगलबार साँझसम्म २ सय ४३ पुुगेको छ ।

तीमध्ये १५ महिला र २ सय २८ जना पुुरुष रहेका छन् । जिल्लाको गौर, गरुडा, चन्द्रपुर, कटहरिया, मौलापुर, बौधीमाई, फतुवा बिजयपुर, माधवनारायण, देवाही गोनाही, ईशनाथ, राजपुर, लगायतका स्थानमा गरी कुल २७ वटा क्वारेन्टाइन निर्माण भइ सञ्चालनमा रहेको छ । कुल २७ वटा क्वारेन्टाईन मध्ये सबभन्दा बढी अखिल नेपाल फुटवल संघको भवन चन्द्रपुर नगरपालिका ६ मा निर्माण भएको क्वारेन्टाईनमा महिला पुरुष गरी ५४ जना बसिरहेका छन भने ईशनाथ नगरपालिका ३ जनता माविमा ३९ जना, कटहरिया नगरपालिका ५ जनता माविमा ३४ जना, परोहा नगरपालिका ७ लौकाहा स्थित ब्रहमज्योति माविमा २५, गरुडा नगरपालिका ५ हेल्थ पोष्टमा २१ जना, गौर नगरपालिका ५ गौर नर्सिंग इन्स्टिच्युटमा १८, राजपुर नगरपालिका ३ राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १४, बौधिमाई नगरपालिका ७ वडा कार्यालय भवनमा ११, यमुनामाई गाउँपालिका ४ सरुअठा जनता माविमा १२, दुर्गा भगवति गाउँपालिका २ सरस्वती मावि पिपरामा ५, देवाही गोनाही नगरपालिका ९ धरहरी जय किसान पोली टेकनिकल इन्स्टिच्युटमा ४, मौलापुर नगरपालिका ५ लक्ष्मीनीया आधारभुत विद्यालयमा ३ र माधवनारायण नगरपालिका ३ मावि सखुअवाको क्वारेन्टाईनमा २ जना रहेका छन । जिल्लाको २७ ठाउँमा गरी कुल ८ सय ३६ बेड संख्याको क्वारेन्टाईन सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण लागेका शंकास्पद व्यक्तिलाई उपचार गर्नको लागि कुल २५ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको समेत उहाँले बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा रहेका क्वारेन्टाईनबाट उपचारपछि १५ जना निको भएर घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताउनुभयो । त्यस्तै अहिलेसम्म १७ जनाको स्वाब परिक्षण गरिएको र उहाँहरुको रिपोर्ट नेगेटिभ आएको नायब सुब्बा साहले बताउनुभयो । क्वारेन्टाइनमा रहेका बिरामीको औषधिउपचार खर्चका साथै डाक्टर तथा बिरामीको खानपिन लगायत सबै ब्यवस्था स्थानीय तहले नै गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *