Loading...
मुलुक लकडाउनमा हुँदा ओलीले किन बजाए पार्टी फुटाउने बेमौसमको बाजा ? यस्तो छ कारण !

सरोज खिलाडी

८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ ।

सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । यसकोे रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेलामा सरकार भने बेमौसमको काममा व्यस्त भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ ।

अध्यादेश पारित भएसँगै नेकपाभित्र तरंग उत्पन्न भएको छ । मन्त्रिपरिषद बैठकलगत्तै पूर्वमाओवादी खेमाका मन्त्री प्रचण्डनिवास खुमलटार पुगेका छन् । यद्यपि कतिपय नेकपा नेताहरुले चाहिँ पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुलाई तर्साउनका लागि मात्र यो अस्त्र प्रयोग गरेको हुन सक्ने अनुमान पनि लगाइरहेका छन् ।

पार्टीभित्र प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम लगायतको भूमिकाप्रति असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डसँग लामो छलफल गरेका थिए । सोही छलफलमा प्रधानमन्त्रीले अध्यादेश ल्याउने चेतावनी प्रचण्डलाई दिएका थिए । अव संशोधन ऐनअनुसार कुनैपनि पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या भए पार्टी विभाजन गर्न मिल्ने छ ।  खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षबीचको  प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा दरार उत्पन्न भइरहेका बेला यस्तो प्रस्ताव आएपछि नेकपा विभाजनकोे संघारमा पुगेको विश्लेषण हुन थालेको छ । ओली संसदीय दलमा ४० प्रतिशत पुर्याएर छुट्टै पार्टी गठन गर्ने योजनामा रहेको प्रष्ट भएको छ’, नेकपाका एक नेताको भनाइ छ । ओलीको एकलौटी निर्णय प्रक्रियाविरुद्ध अन्य नेताहरु एकमत भएपछि ओलीले आफूलाई हटाउन कसरत भइरहेको भन्दै असन्तुष्टि जनाउने गरेका थिए । प्रधानमन्त्री ओलीले तत्काल दल विभाजन गर्छन्, या आफ्ना नेताहरुलाई तर्साउनेका लागि मात्र यो अस्त्र प्रयोग गर्छन् ? यो चाहिँ हेर्न बाँकी छ l महामारीका बेला सरकारले गरेको यो निर्णय ‘बेमौसमको बाजा’ नै हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *