Loading...
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टिभएपछि जिल्लाको दुई इलाका गरियो सील

ओम प्रकाश यादव रौतहट, बैशाख १६ गते । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने रौतहटमा संक्रमितको संख्या तिन पुगेको छ जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटले यस जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो । जिल्लाको देवाही गोनाही नगरपालिका १ नहरटोल निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ भुषहा निवासी २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

भारतबाट आएका दुवै जनाको स्वाब नमुना परिक्षणका लागि प्रादेशीक अस्पताल जनकपुर पठाईएको थियो तर त्यहाँ नतिजा नेगेटिभ आएपछि अशंका लागेर पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाउँदा दुवै जनाको नतिजा पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरका अधिकृत महेश साहले बताउनुभयो ।

देवाही गोनाही नगरपालिका १ का संक्रमित जय किसान पोलि टेकनिकल ईस्टिच्युट धरहरीको क्वारेन्टाईनमा बसिरहेका छन भने अर्का संक्रमित वृन्दावन नगरपालिका ९ का पुरुष चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाईनमा बसेर डिस्चार्ज भई घर फर्किसकेका छन । यसैविच रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै कोरोना भाइरसको संभावित जोखिमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले दुई ठाउँको ईलाका सील गरेको हो । मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमित फेला परेको व्यक्तिको गाउँ आसपासको क्षेत्रलाई अति संवेदनशीलको रुपमा तोकेर इलाका सील गर्ने निर्णय गरेको हो ।

वृन्दावन नगरपालिका ९ भुषहाको दक्षिणमा भिमडावर गाउँ, उतरमा आकरपाथर गाउँ, पच्छिममा बहुअरी र बरगजवा तथा पुर्वमा विर्ता गरी यी चार गाउँलाई एउटा इलाका तोकेर सील गरिएको छ भने अर्को देवाही गोनाही नगरपालिका १ नहरटोल पुर्वमा कन्जुल मस्जिद, पच्छिममा लाल बकैया नदिको नहर, दक्षिणमा नहर मन र उतरमा खेसरहिया गाउँ गरी यी चार गाउँलाई एउटा इलाका तोकेर सील गरिएको हो । सील गरिएको इलाका भित्रका व्यक्तिहरुलाई अर्को आदेश नआउन्जेलसम्म बाहिर निस्कन र उक्त इलाका भन्दा बाहिरका व्यक्तिलाई यस इलाकामा प्रवेस गर्न पुर्ण रुपमा रोक लगाइएको हो ।

सील गरिएको ईलाकाबाट कुनै पनि व्यक्ति बाहिर निसके वा अन्यत्रबाट सील गरिएको इलाकामा प्रवेस गरेमा कानुन बजोजिम कडा कार्यवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका वृन्दावन नगरपालिका ९ का ति पुरुष १० दिनदेखी घरपरिवारमा बसिरहेका कारण निजको घर परिवार तथा संक्रमण हुन सक्ने संभावना देखिएको र देवाही गोनाही नगरपालिका १ का संक्रमित समेत क्वारेन्टाईनमा बस्नु अघि घर परिवार तथा ससुरालीमा बसेको पाईएकोले उनिहरुको परिवार एवं समुदायलार्ई समेत मास स्क्रीनिंग गर्नुपर्ने भएको हुँदा इलाका सील गरिएको उहाँले बताउनुभयो ।

संक्रमित दुवै जनाको परिवार एवं समुदायको मास स्क्रीनिंग भई त्यसको रिपोर्ट नआउन्जेलसम्मको लागि इलाका सील गरिएको नायब सुब्बा साहले बताउनुभयो । यसअघि पनि जिल्लाको इशनाथ नगरपालिकाको औरैया क्वारेन्टाईनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर उनी स्वस्थ भएर घर फर्किसकेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *