Loading...
रौतहटका ७ जना संक्रमित भारतबाट आएका थिए भने महिला घरमै बसिरहेकी थिईन

ओम प्रकाश यादव रौतहट, जेठ ५ गते । रौतहटमा सोमवार फेरी एक महिला र सात पुरुष गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रौतहटमा सोमबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड(१९) का ७ जना संक्रमित हालै भारतबाट आएको खुलेको छ तर महिलालाई भने घरमै बसिरहेको अवस्थामा बाहिरबाट आएका श्रीमानबाट संक्रमण लागेको बुझिएको छ ।

जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । इशनाथ नगरपालिकाका मेयर संतोश मेहताका अनुसार भारतको कानपुरबाट फर्केलगत्तै सातै जनालारुई सिधै क्वारेन्टाइनमा पठाइएको थियो । त्यस्तै माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादवका अनुसार संक्रमित महिला वडा नं ३ सखुअवा क्वारेन्टाईनमा १२ दिन देखी बसिरहेकी छिन ।

महिलाको श्रीमान १३ दिन अघि भारतबाट चोरबाटो भएर घरसम्म आएको थियो तर क्वारेन्टाईनमा बस्ने डरले उनी फेरी भारततिर नै भागेका थिए । महिलाको श्रीमान १२ घण्टासम्म घर परिवारको सम्पर्कमा रहेका कारण उनको घर परिवारमा रहेको श्रीमति सहित १२ जनालाई क्वारेन्टाईनमा पठाई स्वाबको नमुना संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाईएकोमा ११ जनाको रिपोट नेगेटिभ आएको छ भने एक जना मात्रै उक्त महिलाको रिपोर्ट पोजेटिभ आएको मेयर यादवले बताउनुभयो ।

त्यस्तै इशनाथ नगरपालिकाका संक्रमितहरुको गत शुक्रबार स्वाबको नमुना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो । यसअघि हिजो मात्रै रौतहटको इशनाथ र राजपुर नगरपालिकामा गरी १० जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनिहरु पनि ५ दिन अघि मात्रै भारतबाट फर्केको खुलेको थियो । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या २१ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमित फेला परेका थिए । संक्रमितहरुको जिल्लामै उपचार गर्ने तयारी भइरहेको बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *