Loading...
रौतहटमा थप १८ जना संक्रमित थपिएसँग कुल संक्रमितको संख्या २३३ पुग्यो

ओम प्रकाश यादव रौतहट, जेठ १९ गते । रौतहटमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै रौतहटमा संक्रमित हुनेको संख्या २३३ पुगेको छ । धुलिखेल अस्पतालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा रौतहटको परोहा नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा सोमवार संक्रमण पुष्टि भएको हो । परोहा नगरपालिकाका १४ र दुर्गा भगवती गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएका सबै जना हालै भारतबाट फर्किएका नेपालीहरु रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन । यसअघि शुक्रवार ५६ जनामा संक्रमण पुष्टि भएको थियो भने आईतवार २९ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै रौतहटमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३३ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस जिल्लामा अहिलेसम्म ९८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने स्वाब संकलन गरिएका १४ सय ९१ जनाको रिपोर्ट आउँन अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ । जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको ९ हजार ३ सय ५२ बेडको क्वारेन्टाईनमा ३ सय २४ महिला र ७ हजार ७ सय ३५ पुरुष गरी जम्मा ८ हजार ५९ जना बसिरहेका छन । यस जिल्लाको क्वारेन्टाईनबाट नेगेटिभ रिपोर्ट आएका ११ सय ८७ जनालाई घर फिर्ता गरिसकिएको छ । संक्रमितको संख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरुको अभाव हुन थालेको छ । भारतबाट फर्कनेहरुको संख्या नरोकिएकोले रौतहटका स्थानीयतहहरु यतिखेर धमाधम क्वारेन्टाईनको संख्या बढाउन थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *