
ओम प्रकाश यादव
असोज २८ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं विकास प्रेमी नेता योगेन्द्र यादवले अपराध गर्ने मानसिकता बोकेका केही राजनैतिक दलका नेता कै कारण पछिलो समय रौतहटमा आपराधिक क्रियाकलाप बढेको बताएका छन ।
आफ्ना व्यक्तिगत स्वार्थ पूर्ति तथा फाइदाका लागि जसरी पनि अपराध गर्ने र गराउने मानसिकता बोकेका केही नेता कै कारणले रौतहटमा हत्या हिंसाको घटना बढेको राज्य मन्त्री यादवले बताएका हुन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरको सिया पेलेश होटलमा आज आयोजना गरेको विपद् जोखिम व्यवस्थापन एवं शान्ति सुरक्षा सम्बन्धी छलफल कार्यक्रम लाई सम्बोधन गर्दै कृषि राज्य मन्त्री योगेन्द्र यादवले यस्तो बताएका हुन ।
समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध गर्नेहरूलाई कार्यवाही गर्नको लागि आवाज उठाउनुको सट्टा केही राजनीतिक कर्मीले अपराधीलाई उल्टै बचाउन खोजेको करण अपराधीको मनोवल झन् बढ्दै गएको बताए ।
अपराधीलाई घरमा लुकाउने, संरक्षण गर्ने, निर्दोषलाई बलजबर जस्ती मुदा लादी फसाउन खोज्ने जस्ता मनोवृत्ति जुनसुकै नेता एवं व्यक्तिले नत्यागे सम्म जनताले शान्तिसुरक्षा, सुशासन र समृदिको अनुभूति पाउन नसक्ने मन्त्री यादवले बताए ।
प्रहरी प्रशासन बाट मात्रै अपराध न्यूनीकरण हुन् नसक्ने बताउँदै उनले अपराध नियन्त्रण को लागि राजनैतिक कर्मी लगायत सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
हत्याराको पक्षमा आफू एक शब्द पनि नबोल्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले आफू जस्तै अरु नेता लाई पनि अपराधीको संरक्षण नगर्न सुझाव दिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद समेत रहेका कृषि राज्य मन्त्री यादवले रौतहटको पूर्वमा बागमती, मध्य भागमा झाँझ र पछिममा रहेको लालबकैया नदीबाट बर्सेनि हुने बाढी तथा डुबानको समस्या समाधान गर्न जिल्लाका सम्पूर्ण पालिका, संघीय एवं प्रदेश सांसदहरु मिलेर नदी नियन्त्रणका दीर्घकालीन उपाय खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
नदी नियन्त्रणको लागि प्रहरी प्रशासन, राजनैतिक कर्मी र स्थानीय सरकारलाई एकजुट भई दीर्घकालीन समाधान खोज्न मन्त्री यादवले सुझाव दिएका हुन् ।
कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष एवं पूर्व मन्त्री तथा संघीय सांसद प्रभु साह, जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद अनिल कुमार झा, प्रदेश २ का भौतिक पूर्वाधार राज्य मन्त्री डिम्पल झा, विकास समितिको सभापति कल्याणी खड्का, जिल्लाका विभिन्न पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, नेपाल प्रहरीका एसपी सिद्धि विक्रम शाह, शसस्त्रको एसपी, लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments