Loading...
राजपुर बम काण्डमा पूर्वमन्त्री आफ्ताव आलमका भाइ बंकुल एरियाबाट पक्राउ ।

ओम प्रकाश यादव
रौतहट, मंसिर २२ गते । रौतहटको राजपुर हत्याकाण्डका फरार अभियुक्त पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्धामा फरार आलमलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र २ नं प्रदेश प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा नेपाल भारत सिमानामा पर्ने बौधीमाई नगरपालिका ७ बडकी बंकुल एरियाबाट आज महताव आलमलाई पक्राउ गरेको हो ।

१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटमा परी घाईते भएकाहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा फरार आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ सांसद मोहम्मद आफताव आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।
संविधानसभाको चुनावमा धाँधली गरी चुनाव जित्नको लागि सांसद आलम सहित उनका भाइ मोहम्मद महताव आलम सहितका व्यक्तिहरुले २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका ४ स्थित आफनै काका सेख इद्रिसको गोठमा विष्फोटक पदार्थ स्टोक गरी बम बनाउने क्रममा विष्फोट भएको थियो ।

उक्त बम विष्फोटमा परी यमुनामाई गाउँपालिका–४ का श्रीनारायण सिंह राजपुतका २४ वर्षिय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षिय ओसी अख्तर सहित १५,१६ जना घाइते भएका थिए भने २,३ जनाको मृत्यु भएको थियो ।

घटना लुकाउन सांसद आलम र उनका भाइ महताव आलमले विष्फोटमा घाइते भएका तथा मृत्यु भएकाहरुलाई टयाक्टरमा लोड गरी नजिकैको ईट्टाभट्टामा लगेर जिउँदै जलाएको आरोप छ ।
घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव आलम यसअघि नै पक्राउ परी पुर्पक्षका लागी अहिले नख्खु कारागारमा रहेका छन । रौतहट प्रहरीले आफ्तावलाई २०७६ असोज २७ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।

पक्राउ परेका महताव आलमले प्रहरीको प्रारम्भिक अनुसन्धानमा आफना दाई पुर्व मन्त्री समेत रहेका मोहम्मद आफ्ताव आलमको निर्देशनमा नै घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएकाहरुलाई टयाक्टरमा राखी ईट्टाभट्टामा लगेर जिउँदै जलाएको स्वीकार गरिसकेको २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्ष शिद्धि विक्रम साहले जानकारी दिनुभएको छ । यसअघि आलम भारतको मोतिहारीबाट पक्राउ परेको भन्दै खबर सार्वजनिक भएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *