Loading...

ओम प्रकाश यादव
रौतहट, मंसिर २५ गते । दरबन्दी अनुसारको अधिकृत नहुँदा रौतहटको अधिकांश स्थानीयतह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको पाइएको छ ।
नेपाल सरकारले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव र गाँउपालिकाको हकमा शाखा अधिकृतका दरबन्दीको व्यवस्था गरे पनि रौतहटका अधिकांश स्थानीय तहहरुमा उपसचिव तथा अधिकृतभन्दा तल्लो तहका कर्मचारीहरु निमित प्रमुखको रुपमा काम गरिरहेका छन ।

नियामनुसार नगरपालिकाको प्रमुख हाकिम उपसचिव र गाउँपालिकाको प्रमुख हाकिम शाखा अधिकृत हुने व्यस्था भएपनि जिल्लाका अधिकांश पालिकामा प्रमुख प्रशासकीय र शाखा अधिकृतको दरबन्दी हुन नसक्दा निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै प्रमुख हाकिम बनेर कार्यालय सञ्चालन गरिरहेको देखिएको छ ।
रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तहहरु रहेको छ जसमध्ये एक गौर नगरपालिकामा मात्रै दरबन्दी अनुसार उपसचिवले काम गर्न पाएका छन । बाँकी रहेको जिल्लाको १५ नगरपालिका र २ गाँउपालिकामा अझै दरबन्दी अनुसारको कर्मचारी आउन सकेका छैनन ।

दरबन्दी अनुसारको अनुभव भएका कर्मचारीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जीम्मेवारी दिदा नीती, नीयम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै रौतहटका जनप्रतिनिधीहरुले आफु अनुकुलका कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकिय अधिकृत भन्दै हाकिम बनाउने गरेका छन ।

दरबन्दी अनुसारको कर्मचारी आउँदा निति नियम अनुसार काम गर्ने भएकोले जनप्रतिनिधिहरुले आफुले सोचे जस्तो बजेट खर्च गर्न पाउँदैन त्यसैको डरले यहाँका जनप्रतिनिधिहरुले आफना अनुकुलका लेखापाल, खरिदार, नायव सुब्बा, ईन्जिनियर लगाएत तहका कर्मचारीलाई पालिकाको प्रमुख कर्मचारी बनाएर राखेका छन । जनप्रतिनिधिहरुको यस्तो गैर कानुनी कार्यले जिल्लाका स्थानीय तहहरुमा भ्रष्टाचारको चरम सिमा नाघेको छ ।

आफु अनुकुलका तल्लो तहका कर्मचारीहरुलाई नै पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत बनाएर आफना मनपर्दी बजेट खर्च गर्न जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दी अनुसारको सरुवा भएर आउने कर्मचारीहरुलाई हाजिर नै हुन नदिने गरेका छन ।

दरबन्दी अनुसारको कर्मचारी सरुवा भएर आउदा उनीहरुलाई हाजिर हुनै नदिने र तल्लो तहका कर्मचारीहरु निमित्त प्रमुख प्रशासकिय अधिकृत बनेर रजाई गर्ने प्रवृतिले रौतहटको स्थानिय तहमा भ्रष्टाचार मौलाएको छ ।
केहीदिन अघि मात्रै जिल्लाको चन्द्रपुर, यमुनामाइ लगाएत पालिकाहरुमा सरुवा भइआएका प्रमुख प्रशासकिय अधिकृतहरुलाई जनप्रतिनिधिहरुले हाजिर नै हुन दिएनन ।
रौतहटको कटहरीया नपामा लेखा अधिकृत रामप्रकाश साह, गरुडा नपामा खानेपानीका ईन्जिनियर मुस्ताक आलम, बृन्दाबन नपामा ईन्जिनियर नागेन्द्र यादब, मौलापुर नपामा ईन्जिनियर रामबाबु साह, चन्द्रपुरमा शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देल, राजदेबी नपामा ईन्जिनियर सुबोध साह, गढिमाईमा स्थानिय तहका नागेन्द्र साह, गुजरा नपामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवा बिजयपुर नपामा स्वास्थ्यकर्मी प्रमोद कुमार गुप्ता, बौद्धिमाई नपामा स्थानीय तहका रामईश्वर राय, राजपुर नपामा स्थानीय तहका बैजु ठाकुर, देबाही गोनाही नपामा स्थानीय तहका राजदेब रामले प्रशासकिय अधिकृतको जिम्मेबारी थामेर बसेका छन ।
यसैगरी ईशनाथ नपामा रामजी जोशी, माधवनारायण नपामा प्रलव कायस्थ र परोहा नपाका हाकिम पनि शाखा अधिकृत रहेका छन ।
रौतहटका दुई गाँउपलिका दुर्गाभगवति र यमुनामाईमा पनि शाखा अधिकृतको सट्टा नायब सुब्बा समसाद आलम र जगत प्रसाद साहले निमित्तको जिम्मा पाएका छन ।
रौतहटका २ गाउपालिका र १६ नगरपालिका मध्ये अधिकांस तहमा ईन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीयतहका कर्मचारीलाइ प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिइएको छ । अधिकांश स्थानियतहमा प्रशासन तर्फका कर्मचारीहरुले प्रशासकिय अधिकृतको जीम्मेवारी पाएका छैनन ।
रौतहटमा मेयर, उपमेयर, वडाअध्यक्षका अनुकुलका कर्मचारी लाइ प्रमुख प्रशासकिय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृतले बताउने गरेका छन ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा हुना साथ नै स्थानीय तहका जनप्रतिनिधिहरु काठमाण्डौं दौडधुपमा व्यस्त हुन्छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारेर जनप्रतिनिधि र निमित्त प्रमुखहरुले सरुवा भएका कर्मचारीको सट्टा आफ्नै अनुकुलको कर्मचारीको थमौती गराउने गर्दछन तर केहि जनप्रतिनिधिहरुले दरबन्दी अनुसारको कर्मचारी नै नपाएको कारणले तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने बाध्याता भएको बहाना बनाउने गरेका छन ।

दरबन्दी अनुसारको कर्मचारी नआउनुमा जनप्रतिनिधिहरुले सरकारको नै दोष लगाउने गरेका छन ।
सरकारले दरबन्दी अनुसारको कर्मचारी नपठाउँदा बाध्य भएर दरबन्दी भन्दा तल्लो तहका कर्मचारीलाई प्रमुख हाकिम बनाउनु परेको भन्दै जनप्रतिनिधिहरुले उल्टै सरकारको नै दोष लगाएर आफुले गर्ने गरेको कलाकर्तुतलाई ढाकछोप गर्ने गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *