
ओम प्रकाश यादव
रौतहट, मंसिर २८ गते । पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं २ का सांसद अफताव आलमका भाई महताव आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन ।
रौतहटको राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं सांसद आलमका भाइ महताब आलम आइतबार कारागार चलान भएका हुन ।
२०६४ चैत २७ गते राजपुरमा रहेको सांसद आलमका काका शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तर सहितका व्यक्तिहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलमलाई आइतवार जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस भएको थियो ।
तत्काल प्राप्त प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने कुरा नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो ।
जिल्ला अदालत गौरले कारागार चलान गर्ने आदेश दिएलग्तै महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।
१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटमा परी घाईते भएकाहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा फरार आलमलाई गत मंसिर २२ गते प्रहरीले पक्राउ गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ सांसद मोहम्मद आफताव आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।
संविधानसभाको चुनावमा धाँधली गरी चुनाव जित्नको लागि सांसद आलम सहित उनका भाइ मोहम्मद महताव आलम सहितका व्यक्तिहरुले २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका ४ स्थित आफनै काका सेख इद्रिसको गोठमा विष्फोटक पदार्थ स्टोक गरी बम बनाउने क्रममा विष्फोट भएको थियो ।
उक्त बम विष्फोटमा परी यमुनामाई गाउँपालिका–४ का श्रीनारायण सिंह राजपुतका २४ वर्षिय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षिय ओसी अख्तर सहित १५,१६ जना घाइते भएका थिए भने २,३ जनाको मृत्यु भएको थियो ।
घटना लुकाउन सांसद आलम र उनका भाइ महताव आलमले विष्फोटमा घाइते भएका तथा मृत्यु भएकाहरुलाई टयाक्टरमा लोड गरी नजिकैको ईट्टाभट्टामा लगेर जिउँदै जलाएको आरोप छ ।
घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव आलम यसअघि नै पक्राउ परी पुर्पक्षका लागी अहिले नख्खु कारागारमा रहेका छन । रौतहट प्रहरीले आफ्तावलाई २०७६ असोज २७ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।
Facebook Comments