Loading...
विर्ति प्रस्टोकाका किसान नर्सरी व्यवसायबाट राम्रो आम्दानी गर्दै, सरकारले सहयोग नगरेको गुनासो ।

ओम प्रकाश यादव
रौतहट, पुष २० गते । रौतहटको कटहरिया नगरपालिका ३ विर्ति प्रस्टोकाका किसान नर्सरी व्यवसाय गरेर नै आत्मनिर्भर बन्न थालेका छन ।
विर्ति प्रस्टोकाका प्रत्येक किसान व्यवसायीक रुपमा नै नर्सरी व्यवसाय गरेर जिविकोपार्जन गरिरहेका छन ।

नर्सरीको लागि विर्ति प्रस्टोका गाउँ रौतहट सहित देशमै प्रसिद्ध रहेको छ । त्याँहाका प्रत्येक व्यक्ति नर्सरी व्यवसाय गरेर नै जिविकोपार्जन चलाउने गरेका छन ।
नर्सरीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका युवाहरु अन्य पेशा छाडेर नर्सर व्यवसाय गर्ने तर्फ नै लागेका छन ।

थोरै लागत र मिहिनेतबाट बढी आम्दानी हुने भएपछि यहाँका युवाहरु नर्सरी व्यवसाय तर्फ आकर्षित भएका छन ।
उनिहरुले आफनै गाउँ ठाउँमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर नै वार्षिक २५ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ।
विर्ति प्रस्टोकामा करिव ७० विघा भन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाको खेती गरिएको छ ।

उक्त गाउँका किसानहरु पुस्तौ पुस्तादेखी नै विरुवा उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन । त्याँहाका किसानको मुख्य पेशा नै नर्सरी व्यवसाय रहेको छ ।
साथै, त्यहाँका बासिन्दाले धान, मकै तथा कोदो पनि फलाउँदै आएका छन । अहिले भने कम मात्रामा धान, मकै तथा कोदो उत्पादन गरी बाँकी जग्गा जमिनमा विभिन्न फलफुलका विरुवा उत्पादन गरिरहेका छन् ।
विगतको दिनमा परम्परागत खेतीले वर्षभरी खाना नपुग्ने जमिनमा अहिले लाखौं कमाई भइरहेको नर्सरी व्यवसायीहरु बताउँछन ।
जमिन पनि धेरै आवश्यक नपर्ने र मौसम अनुसारको फलफूलको बिरुवा उत्पादन गरेर बिक्री गर्दा धेरै आम्दानी गर्न पाएको उनिहरु बताउँछन ।
विर्ति प्रस्टोकाका किसानहरु आ आफना खेतमा आँप, लिची, कटहर, कागती, सुन्तला, स्याउ, अम्बा, नासपाती, अनार, केरा, टिमुर, अलैँची, ओखर, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन ।

त्यस्तै बकाइनो, टाँकी, बडहर, किमु, बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा पनि उत्पादन हुँदै आएका छन् ।
घर सजावटका बिरुवामा अशोक, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते, गुलाबलगायतका बिरुवाको उत्पादन नर्सरीमा हुँदै आएको छ ।
त्यहाँ उत्पादन भएको विरुवाहरु रौतहट सहित देशैभरी खपत हुने गरेको छ । त्यहाँ नर्सरीबाट करिव ५ सय मजदुरले प्रत्यक्ष रोजगारी समेत पाएका छन ।
विर्ति प्रस्टोका घर भएका जनता समाजवादी पार्टीका नेता रहेका खेन्हा राय यादवले आफना ३ विघा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगाएत प्रजातिका विरुवा लगाएका छन ।
विरुवा उत्पादन गरेर नै वार्षिक २० देखी ३० लाख रुपैयासम्म आम्दानी गर्दै आएको यादवले बताएका हुन ।
शुरुमा खेन्हा राय यादव नर्सरी तथा फलफुल उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा उहाँले धेरै चुनौतीको सामना गर्नुभयो ।

उहाँलाई बिरुवा बिक्री गर्न निकै समस्या भयो । यादवले भन्नुभयो “बिरुवा उत्पादन त भए तर खरीद कर्ता कोही आएन । आफैँ बिरुवा बिक्री गर्न बजार र गाउँ घरमा खटिएपछि थोरै बिक्री भए ।” बिरुवा बिक्री नहुँदा यादवले पहिलो वर्ष केही घाटा व्यहोर्नु परे पनि हिम्मत भने हार्नु भएन ।

दोस्रो वर्षदेखि ग्राहकको रोजाइमा पर्ने बोट बिरुवा उत्पादन गरेपछि सहजै बिक्री हुन थालेको र यसबाट राम्रो आम्दानी पनि भइरहेको उहाँले बताउनुभयो ।
पैसा कमाउन विदेशनै जानुपर्छ भन्ने होइन मान्छेमा एउटा न एउटा सिप हुन्छ उक्त सिपलाई प्रयोगमा ल्याउन सक्ने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।
घर खर्च, छोराछोरीको पालनपोषण तथा पढाई खर्च र मजदुरलाई पारिश्रमिक दिएर राम्रो आम्दानी भइरहेको उनी बताउँछन । उनी भन्छन्, ’केही गर्छु भन्ने इच्छाशक्ति हुने हो भने विदेश होइन स्वदेशमै प्रशस्तै पैसा छ।’

उनले आर्थिक हिसाबले समृद्ध बन्न तथा समाजमा नयाँ परिचय स्थापित बनाउन व्यवसाय गर्न युवाहरूलाई आग्रह गरेका हुन । विदेशभन्दा स्वदेशमै कुनै एउटा व्यवसाय गरेमा सन्तुष्ट र सफल हुने उनको दावि छ ।
विर्ति प्रस्टोकाकै विदयानन्द यादवले पनि नर्सरी व्यवसाय गरेका छन । यादवले व्यवसायीक रुपमा अत्याधुनिक प्रविधिबाट गुणस्तरीय विरुवा उत्पादन गरी देशका विभिन्न जिल्लामा विक्रि वितरण गर्दै आएका छन ।

यादवले वार्षिकरुपमा नर्सरीबाट करोडौ आम्दानी गर्दै आएका छन ।
यादवले यसवर्ष नेपालमै पहिलो पटक वर्षमा तिन पटकसम्म फल्ने र बढी उत्पादन हुने नयाँ प्रजातिका आँप, लिची, कटहर, कागती लगाएतका फलफुलको विरुवा भारतबाट ल्याउन लागेको बताएका हुन ।

नर्सरीमा काम गर्ने मजदूर, प्लाष्टिक झोला, बिरुवाको बीउ, सिँचाइ, मल, विषादीसहितमा खर्चेर पनि राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो ।
उनको नर्सरीमा १० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।
नर्सरी व्यवसाय गर्ने तरिका बारे ७ दिनको तालिम लिएर यस व्यवसायमा लागेको उहाँले बताउनुभयो ।
तालिममा नर्सरी तयार गर्ने तरिका सिकेपछि यसलाई व्यवसाय बनाएको उनले बताएका हुन ।

विर्ति प्रस्टोकाकै अर्का किसान राम ध्यान यादवले पनि अन्न र अन्य व्यावसायिक खेतीभन्दा नर्सरी व्यवसायबाट बढी आम्दानी लिन सकिने भएकाले नर्सरी व्यवसाय नै अँगालेको बताउनुभएको छ ।
सिजनमा देशका विभिन्न ठाउँका व्यवसायीहरुले विरुवा लिन गाडीसहित घरमै आउँने गरेको उहाँले बताउनुभयो ।

तराईकाभन्दा पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको बताइएको छ ।
आठ वर्षदेखि नर्सरी सञ्चालन गरिरहेका उनी बिरुवाबाट गतिलो आम्दानी गरिरहेको बताउँछन् ।

यहाँ उत्पादन भएको बिरुवामा रोग किरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय हुने भएकोले व्यवसाय फस्टाएको उनी बताउँछन ।
त्यहाँका युवाहरू नर्सरीले आफुहरूको जीवनमा परिवर्तन ल्याएको र रोजगारीको खोजीमा बर्सेनि देश बाहिर जानुपर्ने बाध्यता पनि अन्त्य भएको बताएका छन ।
पहिला घरखर्च चलाउन निकै समस्या हुन्थ्यो तर अहिले नर्सरीबाट राम्रो आम्दानी भइरहेको युवाहरु बताउँछन ।

गाँउमा युवाले बिरुवा उत्पादन गर्न थालेपछि बाहिरबाट बिरुवा ल्याउनु पर्ने झन्झटबाट मुक्त भएको किसानहरू बताउँछन् ।
विगतमा मजदुरी गर्न भारत जाने विर्तिका युवाले गाउँमै बसेर नर्सरी व्यवसायबाट नै लाखौँ रुपैयाँ कमाएर अन्यलाई पनि रोजगारी दिएको बताउँछन् ।
थोरै लगानीबाट राम्रो फाइदा लिन सकिने भएकोले नर्सरीलाई व्यवसायको रूपमा अपनाएको उनीहरु बताउँछन् ।

व्यावसायिक नर्सरी खेती गर्दै आइरहेका विर्ति प्रस्टोकाका किसानहरुले सरकारीस्तरबाट कुनै सहयोग वा सुविधा नपाएको गुनासो गरेका छन ।
आफुहरु नर्सरी व्यवसायमै आश्रित रहेपनि स्थानीय, प्रदेश वा केन्द्रमध्ये अहिलेसम्म कुनै पनि सरकारलेआफुहरुलाई कुनै सहयोग नगरेको दुखेसो गरेका छन ।
किसानहरुले नर्सरी व्यवसायको लागि सहयोग गर्न सबै तहको सरकारलाई आग्रह गरेका छन ।

किसानहरुले मल, खाद्य, विउमा अनुदान, सीप, तालिम आदि उपलब्ध गराउन सरकारसँग माग गरेका छन । किसानहले बजारको पनि व्यवस्था गर्न माग गरेका छन । बजारीकारणको व्यवस्था नहुँदा अहिले किसानहरुले विरुवाको पौधाहरु साइकलमा राखेर गाउँ गाउँमा गएर बेच्न बाध्य छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *