ओम प्रकाश यादव
गरुडा, माघ ५ गते । सरकारले पीडित उखु किसानलाई बक्यौता रकम भूक्तानीका लागि चिनी उद्योगीलाई दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ ।
सरकारले बक्यौता रकम भुक्तानीका लागि उद्योगीलाई दिएको २१ दिनको समय सीमा भित्रमा रौतहटको श्रीराम सुगर मिल्सले ३५ करोड भन्दा बढी रकम किसानलाई भुक्तानी गरेको छ ।
जिल्लाकै सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्सले उखु किसानको ४० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
जिल्लाको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्सले विभिन्न वर्षको गरी कुल ४० करोड ४६ लाख रुपैया भुक्तानी गर्न बाँकी राखेकोमा सरकारले दिएको समय सीमा भित्रमा कुल ३५ करोड ७५ लाख ४४ हजार रुपैया भुक्तानी दिएको छ ।
सो रकम किसानहरुको खातामा नै पठाईसकेको र अब ४ करोड रुपैया मात्र भुक्तानी दिन बाँकी रहेको श्रीराम सुगर मिल्स प्रशासनले जनाएको छ ।
श्रीराम सुगर मिल्सले अब ४ करोड ७० लाख ५६ हजार रुपैया मात्र भुक्तानी गर्न बाँकी राखेको जनाएको छ ।
गत पुस १३ गते बसेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पीडित उखु किसान संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा २१ दिनभित्र किसानहरुको बाँकी सम्पूर्ण बक्यौता रकम भूक्तानी गराउने सहमति भएको थियो । तर, पनि श्रीराम सुगर मिल्सले किसानको सम्पुर्ण बक्यौता रकम भुक्तानी गर्न सकेका छैनन ।
भुक्तानी लिन बाँकी रहेका किसानहरुकै विवरण तथा तथ्याङ्कमा तलमाथि देखिएकाले बाँकी भूक्तानी दिन नसकेको र उक्त बक्यौता रकम पनि केहि दिनमै भुक्तान गर्ने श्रीराम सुगर मिल्सले जनाएको छ ।
उखु खरिद गरेको वर्षौदिन सम्मा पनि मिल्सले किसानको उखुको भुक्तानी गर्न नसकेपछि बाध्य भएर उखु किसानहरुले केहि दिन अघि मात्रै काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो ।
बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग राखेर किसानहरुले आन्दोलनमा उत्रेपछि बाध्य भएर सरकारले २१ दिन भित्रमा सबै उद्योगीहरुलाई किसानको बक्यौता रकम भुक्तानी गर्न अन्तिम समय सीमा दिएको थियो ।
पटक–पटक आन्दोलन गर्दा समेत ५–६ वर्ष देखिको उखुको भूक्तानी नपाएका पींडित उखु किसानहरुले सरकारले दिएको २१ दिनको समय सीमा भित्रमा पनि पुर्णरुपमा उखुको भुक्तानी नपाएको भन्दै फेरु आन्दोलन गर्ने चेतावनी दिएका छन ।
Facebook Comments