Loading...
पुराना पुस्ताले गरेका अविष्कार नयाँ पुस्ताले बिर्संदै, रौतहटमा घरेलु प्रविधि लोप हुँदै ।

आम प्रकाश यादव
रौतहट, फागुण १ गते । पछिलो समय रौतहट जिल्लामा परापूर्वकालदेखि चलिआएका मौलिक संस्कृतिहरु हराउँदै गएका छन । बदलिँदो परिवेशसँगै हाम्रा पुर्खाले आर्जेका ज्ञानहरू हराउँदै जान थालेको छ ।

हाम्रा पुर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरू उचित संरक्षण र अभिलेखीकरणको अभावमा आज हामीहरूबाट गुम्ने स्थितिमा छन् । नेपाल त्यसै पनि कला र संस्कृतिको धनी देश भनेर चिनिन्छ । तर, वर्तमान समयमा यस्ता हाम्रा मौलिक संस्कृति हराउँदै गएका छन् ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण रौतहटमा विभिन्न किसिमका घरेलु प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिन तथा फलामका औजारहरू हराउँदै गएका हुन् ।

करिब दुई दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् ।
विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि यहाँ यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदारहण प्रशस्तै छन् ।

तुलो ः विशेषतः जिल्लाको ग्रामीण भेगमा मासु जोख्नका लागि प्रयोग गरिने सामग्री हो । यो तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदिमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो ।

 

तर, आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुँदैन नै तर देख्नधरी पाइँदैन । तुलोजस्तै अर्को सामग्री झुलो चकमक पनि हो । यसको प्रयोग पहिला पहिला धेरै हुने गरेको थियो तर, आजभोलि देख्न समेत छाडेको छ ।

यो आगो निकाल्न (बाल्न) का लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्सिङ ढुंगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ ।
दर्सिङ ढुंगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्छ । अहिले यो पनि हराउँदै गएको छ ।

आधुनिक सामग्रीहरू सलाई, लाइटर, ग्यास लगायतका सामग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो ।

डेली ः डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो भन्ने बुझिन्छ । डेली बाँसबाट बनेको हुन्छ । पशु चौपायालाई खुवाउनको लागि खेतबारीबाट घास लान डेलीको प्रयोग गरिन्थ्यो । डेलीमा नै घास राखेर टाउकोमाथी बोकेर घरसम्म ल्याउने गरिन्थ्यो । तर, आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ ।

धिरी ः यो एक प्रकारको पानी बोक्ने बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नका लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् ।

खलाती ः यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती विशेष गरी विश्वकर्मा समुदायले फलामका सामग्री पगाल्न तथा काँचो फलामबाट विभिन्न आकृति निर्माण गर्नका लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ ।

आधुनिक प्रकारका मेसिनको प्रयोगका कारण आजकल यो इतिहास मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएका छन् न त अन्य सरोकारवाला निकायले नै । आजकल खलातीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ ।
कोल, ढिकी, जातो
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममा उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर रौतहटको शहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ ।
त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् ।
आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् । पहिला पहिला महिलाहरु ढिकी र जातोमा नै लगेर अन्नहरु कुटने र पिस्ने गर्दथे तर अहिले मिल भएको हुनाले मिलमा नै कुटानी पिसानी भइरहेकोले ढिकी र जातो लोप हुन थालेको छ ।

माधोपुरका ९० वर्षिय असर्फि रायका अनुसार आधा रातदेखि ढिकीच्याउँ ढिकीच्याउँ र घुइँघुइँ गर्ने ढिकीजाँता लोप हुँदै गएका छन् । बुढापाकाहरूले प्रयोग गर्दै आएका मौलिक हाते औजार ढिकी, जाँतो र कोलसमेत नयाँ पुस्ताका लागि इतिहास मात्र रहने भएको उहाँको भनाई छ ।

अहिले आधुनिक बाजागाजाले स्थान पाएपछि मौलिक संस्कृति लोकबाजाहरू पनि हराउँदै गएका छन् । यस जिल्लाका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको स्थानीयहरु बताउँछन ।
घरेलु मेसिन लगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै संकटमा परेको मर्यादपुरका राम प्रवेस यादवले बताउनुभएको छ ।
हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ ।
स्थानीय स्रोतसाधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।
लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्नेमा स्थानीयहरुको जोड रहेको छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु उपकरणको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ ।

सामूहिक प्रयोगका माध्यमबाट घरेलु उपकरण आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवं सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाइ छ । परम्परागत ज्ञानको उपयोगकै आधारशिलामा वर्तमान विश्वले यो छलाङ मारेको हो । सोही कारण पनि यो ज्ञान तथा सीपलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ ।
परम्परागत ज्ञानको अभिलेखीकरण हुनु अहिलेको समयमा अति महत्व भइसकेको छ । समुदायमा रहेको परम्परागत ज्ञानको संरक्षणको महत्व दिनानुदिन बढिरहेको अवस्थामा राज्यले उचित नीति निर्माण गर्दै कार्यान्वयनतर्फ जानुपर्ने देखिन्छ । राज्यले परम्परागत ज्ञान संरक्षणको वातावरण तयार पारी सम्पूर्ण समुदायहरूले साथ दिनु पर्दछ ।

परम्परागत ज्ञानको फाइदा लिनका लागि र आफ्नो सीप तथा ज्ञान सुरक्षित राख्न समुदाय सजक हुन जरुरी छ । परम्परागत ज्ञान लोप भएमा समुदायले मात्र हानि व्यहोर्ने नभएर देशले नै क्षति व्यहोर्छ । हाम्रा छरपष्ट रहेका परम्परागत तौरतरिका, सीप, कला, सिर्जना, र प्रविधिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो र आजको आवश्यकता पनि हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *