Loading...
देशमा बलात्कार, महिला हिँसा बढिराख्दा सिंहदरवारको छाती किन पोल्दैन ? – जसपा नेता श्रेष्ठ

६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि, जातीय विभेद र महिला हिंसाविरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा जसपाका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले संविधानको धारा ७६ (५) अनुरूप बनेको सरकारले विश्वासको मत लिन नसकेको अवस्थामा बाहेक अरु अवस्थामा संसद विघटन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षक र पालनकर्ताको भूमिका निर्वाह नगरेकोमा आक्रोश व्यक्त गरे । उनले राष्ट्रपती आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो भनेर प्रश्न गरे । नेपाल आयल निगमले मंगलबार पेट्रोल, डिजेल, हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँले बढाएको थियो भने खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै निगमले समायोजन गरेको पेट्रोलियम पदार्थको मूल्य साढे २ वर्ष यताकै उच्च हो । यता प्रदर्शनकारीहरुले भने एक साता नबित्दै पुनः मुल्य बढेकोमा आक्रोस व्यक्त गरेका छन ।

जसपा नेता श्रेष्ठले निगमले स्वचालित मुल्य प्रणाली भने पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तद्नुरूप नघटाएकोमा ओली सरकारको कटाक्ष गर्दै लोककल्याणकारी सरकार हो भने जनताको लागि अत्यावश्यक वस्तुमा अनुदान दिनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास करको नाममा थप १० रुपैयाँ लिने गरेकोमा आपत्ति जनाउँदै यसले विपन्न, गरिव, बेरोजगार तथा विद्यार्थीहरूलाई समस्या परेकाले पूर्वाधार विकासको नाममा लिएको अतिरिक्त कर खारेज गर्नुपर्ने बताए । उनले जातीय विभेद तथा लैंगिक हिँसा र बलात्कार गर्नेहरूमाथि कडा कारवाहीको माग गरे । जसपाका सांसद समेत रहेका नेता श्रेष्ठले केपी ओलीको सरकार प्रति इशारा गर्दै भन्नु भयो -” म सरकारलाइ भन्नु चाहन्छु निर्मलादेखि भागरथीसम्मको बलात्कारपछि भएको हत्यामा यो सरकार किन चुप लागेको छ ? देशमा छोरी चेली प्रतिको हिँसा बलात्कार बढिराख्दा सिंहदरवारको छाति किन पोल्दैन?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *