Loading...
उपेन्द्र-बाबुरामलाइ पूर्ब सपा कै सांसदले पार्टी नफ़ुटाउन दिए चेतावनी, को को हुन् ति नेताहरु ?

काठमाडौं । लुम्बिनी प्रदेशसभाका चार जना सांसद्लाई एकलौटी रुपमा कार्यकारिणी समितिको निर्णय भनेर प्रदेशसभा र पार्टी सदस्यबाट निष्काशन गर्ने अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको निर्णयविरुद्ध पूर्ब समाजबादी पार्टीमा कै शक्तिशाली नेताले विद्रोह गरेका छन् ।

तत्कालीन समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका नेता उमाशंकर अरगरिया र सांसद विमलप्रसाद श्रीवास्तवले उपेन्द्र र बाबुरामको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीलाई कमजोर बनाउने, फुटतिर लैजाने गतिविधि नगर्न चेतावनी दिएका छन् । उपेन्द्र र बाबुरामको निर्णयविरुद्ध अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग र कारवाहीमा परेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे अदालत पुगेका बेला पूर्वसमाजवादीकै नेता वेथितिविरुद्ध बोलेका हुन् ।

अरगरियाले देशको वैकल्पिक शक्तिको रुपमा स्थापित भएको पार्टीमा उपेन्द्र यादवहरुले गरेको काम निन्दनीय भएको बताए । उपेन्द्रले आफू बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेलेको भन्दै उमाशंकरले आपत्ति जनाए ।

लुम्बिनी सरकारमा सहभागी चार सांसद्लाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै अरगरियाले भने, ‘न कसैले सम्पर्क नै गरेको छ, न बैठक बसेको छ, यसरी आँखा छलेर गैरकानुनी रुपमा कारबाही गर्नु गलत हो ।’

पार्टीमा कसैलाई कारबाही गर्नुछ भने बैठक बसेर छलफल गर्ने परम्परा रहेको बताउँदै उमाशंकरले भने, ‘यस्तो विषयमा छलफल गरेर वैधानिक रुपमा सर्वसम्मतिले निर्णय गर्नुपर्छ, बैठक नै नबसी एउटा समूहले कारबाही गर्नु गलत हो ।’ पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने बेला विभाजनको खेल भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘हाम्रो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा बुझिन्छ, यस्तो तरिका र प्रवृत्तिले वैकल्पिक शक्ति हुनै सक्दैन,’ उनले भने ।

लुम्बिनीका सांसद्लाई कारबाही गर्ने निर्णय पार्टीको नभई एउटा गुटको निर्णय भएको उनको टिप्पणी छ। ‘यो पार्टीको निर्णय होइन, गुटको हो । बैठकमा अल्पमत बहुमत हुनु स्वभाविक हो । तर निर्णय बैठकबाटै हुनुपर्छ,’ उनले भने ।

पार्टीमा व्यक्ति हाबी हुनु नराम्रो पक्ष भएको बताउँदै उनले थपे, ‘व्यक्ति बलियो हुँदा पार्टी कमजोर हुन्छ, त्यसैले शीर्ष नेता बसेर गहन छलफल गरेर मात्र कुनै प्रक्रिया अगाडि बढाउनुपर्छ, व्यक्तिगत हिसाबले अघि बढ्दा पार्टीलाई र देशलाई नै राम्रो हुँदैन ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *