Loading...
लज्जाजनक रुपमा सत्ताबाट बहिर्गमन भए अनि मधेश सम्झे र ओलीको गालि खादै निस्के

काठमाडौं : मधेशमा एउटै पार्टी हुनुपर्ने मधेशी जनताको भावनाबमोजिम एकीकरण भइ मुलुकमा वैकल्पिक शक्तिको रुपमा स्थापित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टी औपचारिक रुपमै विभाजनतर्फ उन्मुख भएको छ । पछिल्लोपटक उपेन्द्र यादवले सर्वस्वीकार्य मधेशका नेता तथा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निस्कासनको डण्डा चलाएपछि जसपा विभाजनतर्फ उन्मुख भएको हो । लगत्तै यादव पनि जसपाबाट निस्कासित भएका छन् ।

कुनै बेला मधेशको एकमात्र वैकल्पिक शक्तिको रुपमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल यादवकै निरंकुश नेतृत्व र सत्तालोभका कारण एकत्रित रहन सकेन् । नेपालको अन्तरिम संविधान २०६३ जारी हुने बेला यादवले अधुरो सहमति गरेपछि ठाकुरकै नेतृत्वमा सफल आन्दोलन मधेशमा भएको थियो । काँग्रेसको कोषाध्यक्ष जस्तो शक्तिशाली पदाधिकारी र मन्त्रीको पद त्याग गरी ठाकुर तराई मधेशको हक अधिकारका लागि आन्दोलनमा होमिएका थिए । उनले त्यसबखत पद र कुर्सीलाई तिलान्जली दिएर मधेशको मुद्दा उठाए र संघर्ष गरे । जसको परिणामस्वरुप अन्तरिम संविधान संशोधन भयो र समानुपातिक समावेशी सिद्धान्तले संवैधानिक रुपमै मान्यता पायो ।

पहिलो संविधानसभा निर्वाचनमा यादव नेतृत्वको फोरमले राम्रै जनमत ल्यायो । तर त्यो लामो समयसम्म टिकाउ हुन सकेन् । पार्टीभन्दा मन्त्री पदलाई महत्व दिने यादवकै कुर्सी मोहका कारण फोरम फुटदै गयो । विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता, राजकिशोर यादव, अमर यादव, भाग्यनारायण गुप्ता, किशोर विश्वास लगायतको नेतृत्वमा टुक्रा टुक्रामा फोरम विभाजित भयो । विभाजनका क्रममा सबैले यादवकै निरंकुश नेतृत्व र सत्तामोहका कारण पार्टी विभाजन गर्नुपरेको बताएका थिए ।

पछिल्लोपटक पनि यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटनै लाग्दा ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग रातारात एकता गरेर बचाइएको जगजाहेर नै छ । सपा फुटाउनकै लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि सपा फुटको संघारमा पुगेको थियो । कतिपय सांसद एकत्रित भएर कागज दुरुस्तसमेत बनाइसकेका थिए । त्यसबखत यादवको पार्टी बचाउन ठाकुर, नेताहरु राजेन्द्र महतो र अनिलकुमार झा लगायत अग्रसर भएका थिए । जसका कारण मध्यरातमा पार्टी एकीकरण गरी जसपा निर्माण भएको सपा फुटनबाट जोगिएको थियो । तर पार्टी जोगिएपछि पनि यादवको रवैयामा भने कुनै अन्तर नआएको जसपाका नेताहरु बताउँछन् ।

एक नेताका अनुसार यादव पार्टी नै कब्जा गर्ने रणनीति अख्तियार गरी एकलौटी रुपमा पार्टी संगठन निर्माण गर्न थाले कार्यक्रम गर्न थाले । अध्यक्ष ठाकुरबाट पटक पटक चेतावनी हुँदा पनि मानेनन् । प्रदेश २ मा पनि एकलौटी सरकारजस्तो चलाएर ठाकुर समूहलाई वेवास्ता गरिरहे । ती कुराहरु प्रदेश सरकारले गरेको विभिन्न राजनीतिक नियुक्तिबाट पनि प्रष्ट हुन्छ । पछिल्लोपटक पनि उनी मुद्दाभन्दा कुर्सी मोहमा फसेपछि पार्टी विभाजनतर्फ उन्मुख भएको हो । स्थानीय तहको निर्वाचनमा यादव सहभागी हुँदा ठाकुर समूह बहिष्कारमा थियो । नेपालको संविधान २०७२ सालमा जारी हुँदा विरोध गरिरहेका ठाकुरले संविधानको विरोध गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी भएनन् । जबकि यादव संविधानको विरोध छाडेर निर्वाचनमा सहभागी भयो । त्यसपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मात्रै ठाकुर सहभागी भएको थियो । किनभने संविधान संशोधनका लागि संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि चाहियो भनेर नै प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भए । निर्वाचनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा यादव स्वयं उपप्रधानमन्त्रीसहित सहभागी भए तर ठाकुर सहभागी भएनन् । बाहिरबाटै समर्थन जनाए । एक वर्षसम्म मधेशको माग सम्बोधन नभएपछि ठाकुरले ओली सरकारको समर्थन फिर्ता लियो, तर यादव भने उपप्रधानमन्त्री पदमा विराजमान भइरहे । जब व्यक्तिगत लडाइमा यादवले मन्त्रालय र मन्त्रिपरिषदमा जथाभावी गर्न थाले अनि ओलीले यादवलाई निकाल्ने मनस्थिति बनाए । यादव दिल्लीमा रहेकै बेला स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रीमा सीमित राखिए । तर पनि उनको रवैयामा परिवर्तन नआएपछि ओली सरकारबाट लज्जाजनक बहिर्गमन हुनुपरेको जसपाका नेता बताउँछन् । त्यसपछि उनी ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदैआएका छन् ।

‘‘ओली सरकारमा एक वर्षभन्दा पनि बढी समय रहिरहँदा सिन्कोसमेत भाँचेनन्, दुई बुँदे सहमति गएर गएका यादव सरकारमा रहिरहँदा त्यो सहमतिको कुनै कुरा नै गरेनन्’’, जसपाका नेता डा. सुरेन्द्रकुमार झाले भने–‘‘सत्तामा रहिरहँदा न त पार्टी सम्झे, न सहमति सम्झे, नत तराई मधेशको मुद्दा नै सम्झे, सबै बिर्से । जब लज्जाजनक रुपमा सत्ताबाट बहिर्गमन भए अनि तराई मधेशको माग सम्झे र ओलीविरुद्ध आक्रामक बने । तर अध्यक्ष ठाकुर सदा झै मधेशको मुद्दा र मागप्रति अडिग रहिरहनुभयो ।’’

अध्यक्ष ठाकुर मधेशको माग र मुद्दा जसले सम्बोधन गर्छ उसलाई समर्थन गर्ने अडानमा रहिरहे । काँग्रेस र माओवादी केन्द्र मधेश मुद्दाप्रति अनुदार देखिए । कुनै बेला प्रचण्ड मधेशी दलसँगै आन्दोलनमा थिए तर हठात रुपमा आन्दोलन छोडर एमालेसँग सहकार्य एकता गरे र मधेश जनजाति आन्दोलन विर्सिए । काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले मधेशको मुद्दामा सरकार बनेपछि सोचौला भनेर अविश्वसनीय जवाफ दिइरहे तर ओली पुराना तितामिठा सोच त्यागेर नयाँ ढंगका प्रस्तुत भए । राजनीतिमा गरिएको पुराना भाषण र विरोधलाई तत्कालीन आवश्यकता सम्झेर मधेशको माग सम्बोधन गर्न अग्रसर भए । फलस्वरुप जसपाका ठाकुरसमूहसँग नजिकिदै गए । मधेश तराई थरुहट आन्दोलनताका लागेका मुद्दा फिर्ता, नेता कार्यकर्ता रिहा, संविधान संशोधन सुझाव कार्यदल गठन र नागरिकता अध्यादेश त्यसकै परिणामस्वरुप आयो । जसले जसपालाई मुद्दा सम्बोधनको हिसाबले ओली निकट पुर्यायो । तर यादव र ठाकुरबीचको दुरी भने बढयो । मधेशको मुद्दा सम्बोधन गर्ने दिशातर्फ ठाकुर अग्रसर भएपछि एक्लै श्रेय लिने भए भनेर यादव झस्किएका हुन् ।

युवा नेता झा भन्छन्–‘‘यादवमा देखिएको कुर्सी मोहका कारण आज पार्टी विभाजनको अवस्थामा आइपुगेको हो, काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफू पुनः उपप्रधानमन्त्री बन्नका लागि दौडधुपमा हुनुहुन्छ, मधेश र थरुहटका मुद्दाबारे कुनै पहल छैन, ठाकुरजीकै पहलका कारण १३९ जनाविरुद्धका मुद्दा फिर्ता भएको छ, थप केही मुद्दा फिर्ता हुँदैछ, केही नेता कार्यकर्ता रिहा भए केही रिहा हुने प्रक्रियामा छन् । मुद्दा सम्बोधन गर्नेलाई समर्थन गर्नु स्वाभाविक हो, यो सरकारले माग पूरा गर्यो, गर्दैछ अनि समर्थन गर्नुपरेन त?’’
जसपाका प्रथम अध्यक्ष ठाकुर भएकाले यादवको पत्रले मान्यता नपाउने बताउँदै उनले यादवलाई निस्कासन गरिएको जानकारी दिए । यादवले भनेको केन्द्रीय कार्यकारिणी समितिको बैठक फर्जी र नक्कली भएको दावी गर्दै झाले ठाकुरकै नेतृत्वमा तराई मधेश थरुहट आन्दोलनले सफलता पाउने बताए ।

पार्टी एकताकै पक्षमा रहेका ठाकुर पछिल्लोपटक यादवले एकलौटी रुपमा कारबाही गर्न थालेपछि त्यसको प्रतिवाद गर्दै ठाकुरले पनि बाध्य भएर निस्कासन गरी निर्वाचन आयोगमा पत्र पठाएका छन् । आयोगमा ठाकुरले यसअघि नै पत्राचार गरी यादवको फर्जी र नक्कली पत्रलाई कुनै मान्यता नदिन आग्रह गरिसकेको छ । यादव पक्षका एक नेताले भने जसपा विभाजित हुनुको कारण ओली सरकारलाई समर्थन दिनु नै रहेको बताए । सरकार बचाउन मात्रै मधेशप्रति झुकाव राखेका र हतारमा मधेशको माग सम्बोधन गरेको उनले बताउँदै उनले पार्टी एक ढिक्का रहने अवस्था नभएकाले छुट्टिनु नै वेश हुने बताए ।

www.thenepaltop.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *