Loading...
सेन्ट जेभियर स्कूलले बच्चाको जीवन संग खेलबाड गर्दै, ९० प्रतिशत आउट ६० प्रतिशत इन

क्षितिजा अधिकारी

 

 

मेरो छ वर्षीय छोराले मलाई सम्बोधन गर्दा बोल्ने शब्द हो मम्मा अर्थात् मम्मी । उमेरले सानो भए पनि कतिपय कुरामा ऊ मभन्दा अझ बढी चलाख छ, जान्ने छ । आर्थिक हैसियत निम्न मध्यम परिवारको भए पनि हामीले उसले चाहेका प्रायः हरेक चिज उपलब्ध गराउँछौँ ताकि उसको दिमागमा अरू केही असर नपरोस् । तर मेरो सानो छोराले अहिलेसम्म हाम्रो हैसियतभन्दा बाहिरको कुनै वस्तु मागेको छैन ।

यति हुँदाहुँदै पनि केही विषय यस्ता हुन्छन् जो हाम्रो बसभन्दा पनि बाहिर हुन्छन् । विषय ठूलो होइन तर कुनै कुरा कति ठूलो हुँदो रहेछ । विषय दुई दिनअघि मेरो छोराले सेन्ट जेभियर्स स्कुलको लक्की ड्रमा आफ्नो नाम नआएपछि दिएको प्रतिक्रियाले अभिभावकमाथि परेको दबाबलाई प्रष्ट पारिदिएको छ । प्रत्येक अभिभावकलाई आफ्नो सन्ततिलाई राम्रो शिक्षा र संस्कार दिने चाहना हुन्छ । निम्न मध्यम वर्गका परिवार भएकै कारण अति महँगो विद्यालयमा पढाउने हैसियत हामीसँग थिएन, छैन । नढाँटीभन्दा दोस्रो सन्तान जन्माउँदा पहिलो सन्तानलाई उचित माया, स्नेह, आवश्यकता पूर्ति आदि गर्न सकिँदैन भनेर नै हामीले अर्को सन्तान नजन्माएका हौँ । अझ भनौँ, पहिलो सन्तानको खुशीका लागि नै हामी दोस्रो सन्तानको कल्पनामा छैनौँ । दोस्रो सन्तान जन्माउँदा थपिने आर्थिक भारले कुनै पनि सन्तानको सामान्य आधारभूत आवश्यकतालाई असर नगरोस् भन्ने हाम्रो चाह थियो र हो । त्यही कारणले पनि छोरालाई सकेसम्म सुलभ शिक्षा र विशिष्ट संस्कार सिकाउने भनिएको सेन्ट जेभियर्स स्कुलमा भर्ना गराउने चाहना हाम्रो थियो नै । हुन त हामीले कहिल्यै पनि छोरालाई सेन्ट जेभियर्स स्कुलमै पढाउने भनेर भनेका थिएनौँ । घरमा सामान्य कुरा हुँदा नाम निस्केको अवस्थामा सेन्ट जेभियर्स स्कुलमै पढाउने र त्यहाँ नाम ननिस्केमा अन्य विद्यालयमा पढाउने चर्चा भएको थियो । नाम निस्कियो भने डेरा पनि जावालाखेल मै सार्ने हाम्रो सल्लाह थियो ।

सेन्ट जेभियर्स स्कुलमा धेरै विद्यार्थीबाट छानिएर आउनुपर्ने भएकाले कडा मिहिनेत गर्नुपर्ने र राम्रो नतिजा दिनुपर्ने कुराबारे हामी जानकार नै थियौँ । कहिलेकाहीँ सेन्ट जेभियर्समा नाम निकाल्ने भए पढ है पढ भनेर छोरालाई भनिरहन्थ्यौँ ।

हाम्रो त्यही भनाइले दबाब महसुस गरेर पनि हुनसक्छ छोराको दिमागमा पढेर सबै जानेर प्रतिस्पर्धाको माध्यमबाटै सेन्ट जेभियर्स स्कुलमा नाम निकाल्छु भन्ने परेको रहेछ । ऊ आफैँ प्रत्येक दिन स्पेलिङ, डिक्टेसन आदि सोध्न भन्थ्यो र प्रत्येक दिन लेखेर हेन्डराइटिङ राम्रो बनाउनमा केन्द्रित थियो ।

सेन्ट जेभियर्स स्कुलले असार १० गते भर्चुअल विधिबाट लिएको इन्ट्रान्स परीक्षा पनि उसले राम्रो गरेको थियो । ४ हजार २ सय विद्यार्थीबाट ऊ टप १,३०० भित्र छानिएको थियो । यद्यपि सेन्ट जेभियर्स स्कुलमा १७५ सिटमध्ये ब्राह्मण, क्षत्री समुदायबाट खुला प्रतिस्पर्धामा छानिने भनेको जम्मा ५४ जना छात्र थिए ।

शिक्षक कर्मचारीका छोराछोरी, त्यहीँ पढ्ने दिदी वा दाजुका भाइबहिनी, पूर्व विद्यार्थीका छोराछोरी, दलित, सीमान्तकृत, स्थानीय तहका विद्यार्थी आदि सबै कटाउँदा पाउने ९० सिट । त्यसमा पनि छात्राको ३६ सिट छुट्याएर बाँकी ५४ सिटको प्रतिस्पर्धा । यद्यपि छोरो अन्य विद्यार्थीभन्दा केही चलाख र हरेक दृष्टिकोणमा अब्बल भएको कारण उसको नाम निस्कने कुरामा हामी धेरै नै आशावादी थियौँ ।

असार १८ गते शुक्रबार गोलाप्रथा सुरु भयो । उक्त गोलाप्रथाको प्रत्यक्ष प्रसारण न्युज २४ टेलिभिजनबाट भएको थियो, जुन कार्यक्रमलाई हामी प्रत्यक्ष रूपमा हेरिरहेका थियौँ ।

सुरुका २७ जना छात्रको नाम गोलाप्रथाबाट निकाल्दासम्म छोरा आफ्नै तालमा खेलिरहेको थियो । ऊ भविष्यमा ग्याजेट इन्जिनियर बन्ने भन्दै हामीले खेल्नका लागि ल्याइदिएको प्लास्टिकको ब्लक्सबाट कहिले रोबोट, कहिले ल्याम्बरगिनी, बोट, नयाँ नयाँ डिजाइनका घर, मोबाइल स्ट्यान्ड आदि बनाएर देखाइरहन्थ्यो । उसले ब्लक्सको माध्यमबाट बनाएको आकृति हेर्दा साँच्चै हामीलाई नै लोभ लाग्ने बनाउँथ्यो । उसले युट्युबमा भिडियोहरू हेरेर राइफलहरू समेत बनाएर देखाउने गथ्र्यो, जुन साँच्चै आकर्षक देखिन्थ्यो । घरमा एक्लै भएर होला, उसको साथी भनेको त्यही ब्लक्स र ब्याट्रीबाट चल्ने किड्स बाइक मात्रै थियो । हामी टिभीमा लाइभ हेरिरहँदा छोरा भने ती सामानसँग खेल्नमै व्यस्त थियो ।

जब पहिलो २७ जनामा छोरा रिदमको नाम आएन, त्यसपछि भने उसमा केही छटपटी देखिन थाल्यो । खेल्दै गरेको छोरा दोस्रो २७ जनाको नाम गोला प्रथाबाट निकाल्न थालेपछि ऊ पनि हामीसँगै टिभी हेर्न थाल्यो । यद्यपि ऊ कहिले टाउको समात्ने, कहिले आफ्नै घाँटी न्याकेजस्तो गर्ने, लामो लामो स्वास लिन थाल्ने गर्न थाल्यो । दोस्रो पटक १५ जनाको नाम आउँदासम्म उसमा त्यति छटपटी देखेनौँ । तर त्यसपछि भने उसको अनुहारको भाव भङ्गीमा परिवर्तन हुन थाल्यो । अनायसै ऊ रुन थाल्यो र टिभीको अझै अगाडि गयो । अन्तिम ३ जनाको नाम बाँकी हुँदा भने ऊ पूरै रुन थाल्यो । जब अन्तिम नाम पढियो तब ऊ यति धेरै रुन थाल्यो कि म आफैँ पनि आँसु थाम्न सकिरहेको थिइनँ ।

त्यसपछि ऊ हामी सुत्ने कोठामा पुगेर पातलो ब्ल्याङ्केटले मुख छापेर रुन थाल्यो । ‘त्यो मोबाइलमा भएको भएको नामको कहिले हुन्छ’ भनेर सोध्यो, जुन मोबाइलमा भएको नामलिस्ट सर्ट लिस्टिङमा परेका विद्यार्थीहरूको नाम थियो । मैले अब मोबाइलमा भएको नामको फेरि हुँदैन भने । ब्वाइजको लक्की ड्र अझै हुन थियो कि, हजुरबाट हेर्न मिस्टेक भयो कि ? मेरो नाम अझै आउँछ कि भनेर सोध्यो । मैले सम्झाउने कोसिस गरेँ तर सकिनँ ।

ऊ अझै बढी रुन थाल्यो । उसले फेरि सोध्यो कि ‘अब अर्को चान्स मिल्छ कि ? म अझै राम्रो गर्छु ।’ मैले अब अर्को वर्ष मात्रै हुन्छ भनेँ । त्यसपछिको उसको प्रतिक्रिया मेरा लागि झनै दर्दनाक बन्यो । उसले भन्यो कि ऊ अर्को वर्ष अझै मिहिनेत गरेर सेन्ट जेभियर्समै नाम निकाल्नेछ र त्यहीँ पढ्नेछ । तर उसलाई के थाहा कि त्यहाँ कक्षा १ मा मात्रै नयाँ भर्ना लिइनेछ ।

हामीले अब अर्को वर्ष तिम्रो उमेर बढी हुन्छ र त्यहाँ भर्ना हुन पाइँदैन भनेपछि ऊ यति धेरै रोएको थियो कि सेन्ट जेभियर्स स्कुलबारे उसको दिमागमा परेको छापले म हैरान थिएँ ।

मामाको दुई छोराहरू सेन्ट जेभियर्स स्कुलमै पढ्थे । कहिलेकाहीँ उनीहरूसँग खेल्ने क्रममा कुराकानीले गर्दा हो कि उसको दिमागमा सेन्ट जेभियर्सभन्दा दोस्रो स्कुलको कल्पनासमेत रहेनछ । भर्ना मिलेन भने ब्याकअप त चाहिन्छ भनेर हामी असारको सुरुवातमै एलआरआई स्कुलमा पुगेर विद्यालय हेरेका थियौँ । त्यतिबेला उसले मलाई किन यहाँ ल्याएको ? यो त मेरो स्कुल होइन, मेरो स्कुल त सेन्ट जेभियर्स हो भनेको थियो, त्यतिबेलादेखि नै हामीलाई डर भने लाग्न थालिसकेको थियो । त्यहाँ पढेका मान्छे राम्रा राम्रा डाक्टर, इन्जिनियर आदि बनेको कुरा ऊ आफैँ गथ्र्यो । आफू भविष्यमा राम्रो इन्जिनियर बन्ने भन्दै ऊ त्यही स्कुलमा पढ्न लालायित थियो । ऊ पढ्न, लेख्न, खेल्न र सोच्न हर विषयमा अब्बल नै थियो र एकपटक पढेको कुरा बिर्संदैनथ्यो । त्यसकारण पनि ऊ आफैँलाई पनि म ट्यालेन्ट छु भन्ने आत्मविश्वास बढी नै थियो । उसले पढेको मन्टेस्वरीमा पनि सबैभन्दा अब्बल भएका कारण म जोकोहीसँग कम्पिटिसन गरेर राम्रो नतिजा ल्याउन सक्छु भन्ने आत्मविश्वास उसमा थियो ।

तर सबै कुरा हामीले सोचेजस्तो नहुने रहेछ । छोरा अब्बल थियो भन्नेमा हामीलाई कुनै शङ्का छैन । तर फस्ट कम फस्ट प्रायोरिटी भन्ने प्रयोग यस पटक सेन्ट जेभियर्स स्कुलले गरेन । प्रवेश परीक्षामा उत्तीर्ण भएका मध्येबाट गोलाप्रथा गरेर छान्ने विषय नराम्रो कदापि होइन । तर त्यही गोलाप्रथामा नाम ननिस्केपछि छोरामा देखिएको छटपटी, पीडा आदिले भने छोराको दिमागमा मात्रै होइन, छोराको साथी र आमाको नाताले मेरो दिमागमा समेत केही तरङ्ग पैदा गरिदिएको छ ।

सेन्ट जेभियर्समा नाम ननिस्केपछि अब अर्को राम्रो विद्यालयमा पढ्नुपर्छ छोरा भनेर सम्झाउँदा उसले भन्यो ‘मलाई त्यही विद्यालयमा पढ्नुछ । मलाई ग्याजेट इन्जिनियर बन्नु छ ।’

गोलाप्रथामा आफ्नो नाम ननिस्केपछि उसले सोधेका केही प्रश्नले मलाई अहिले पनि पीडा बोध हुन्छ । उसले ‘त्यो मोबाइलमा भएको नामको भर्ना कहिले हुन्छ ? अर्को इन्ट्रान्स कहिले हुन्छ ? कहिलेसम्म पढ्न पाइन्छ ? भन्ने प्रश्नहरूले उसको दिमागमा सेन्ट जेभियर्सको छाप कसरी गडिएको रहेछ भन्ने स्पष्ट हुन्छ । अझ सबैभन्दा पीडादायी क्षण त त्यतिबेला भयो कि उसले रुँदैरुँदै सोध्यो ‘मम्मा म ट्यालेन्ट छैन र ?’

छोरो ट्यालेन्ट पक्कै थियो, छ र झनै ट्यालेन्ट हुनेछ । तर उसको बालमनोविज्ञानमा परेको ट्यालेन्ट विद्यार्थीले सेन्ट जेभियर्समा भर्ना पाउँछ भन्ने छाप कसरी हटाउने ? के सेन्ट जेभियर्समा भर्ना पाउने विद्यार्थी ऊभन्दा अब्बल भएर मात्रै होइन भनेर मैले कसरी बुझाउने ? उसले अझै भन्यो कि फेरि एक्जाम लिन भन्नुस् न म सबैलाई टप गर्न सक्छु । तर त्यो समय छैन, परिस्थिति छैन र विधि पनि छैन । कर्म र मिहिनेतमा विश्वास गर्नेहरूलाई पनि यस पटक सेन्ट जेभियर्सको नतिजाले भाग्यमा पनि विश्वास गर्नुपर्ने अवस्था ल्याइदियो । हरेक कुरामा म अब्बल बन्नुपर्छ भन्ने मेरो ६ वर्षका छोराको मनोविज्ञानलाई म कसरी परिवर्तन गर्न सक्छु र । सायद मेरो तर्फबाट सम्भव छैन भनेर हो कि किन हो, उसले उसको बाबालाई भन्यो कि ‘म स्कुल गएर सबैलाई देखाउँछु कि म ट्यालेन्ट छु ।’ उसको बाबाले पनि हुन्छ म तिमीलाई फादरसँग भेट गराउँछु भनिदिनुभयो । त्यसपछि उसले तत्काल रुन छाडे पनि लगातार भनिरहन्छ कि फादरसँग कहिले भेट गराउने ?

प्रत्येक अभिभावकलाई आफ्ना बालबच्चाहरू सेन्ट जेभियर्स, रातो बङ्गला, बूढानीलकण्ठ, युलेन्स, प्रिमियर आदिमा पढाउन पाए हुन्थ्यो भन्ने लाग्छ नै । तर आर्थिक अवस्था तथा शैक्षिक गुणस्तरको कारण पनि त्यो सम्भव हुँदैन । कतिपय सरकारी विद्यालय पनि राम्रा छन् तर सामाजिक दबाबका कारण पनि सरकारी विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन सक्ने अवस्था छैन ।

विद्यालय आफैँमा केही होइन । तर त्यहाँ रहेका शिक्षक तथा कर्मचारी, शैक्षिक वातावरण, परिवेश, हैसियत आदिले सिकाइ उपलब्धिमा भने पक्कै फरक पार्नेछ । तर सबै विद्यालय उस्तै हुन् भन्नका लागि पहिले त्यहाँको शैक्षिक वातावरण उत्कृष्ट बनाउनुपर्छ । शिक्षकको गुणस्तर, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुशासन आदि कारणले विद्यालय र विद्यार्थीको गुणस्तरमा धेरै असर गर्छ । अहिले राम्रा भनिएका विद्यालयहरू केही वर्षमै नराम्रामा दर्ज हुन सक्छन् भने अहिले नराम्रा भनिएका विद्यालयहरू केही वर्षमै अब्बल विद्यालय बन्न सक्छन् । तर बालमस्तिष्कमा यो विद्यालय उत्कृष्ट हो र यो नराम्रो हो भन्ने छाप भने पर्न दिनु हुँदैन ।

अब मेरा सामु आएको चुनौती के हो छ भने मैले जुन विद्यालयम मेरो छोरालाई पढाउँछु, त्यो विद्यालय झनै उत्कृष्ट हो भनेर प्रमाणित गराउनुपर्नेछ । हामीले कुरा गर्दा सेन्ट जेभियर्सकै विद्यार्थीलाई हरेक कुरामा जित्ने बनाउँछौँ भन्दा ऊ अझै भन्दैछ, ‘म अन्त त पढ्दै पढ्दिनँ ।’

यी अनुभवले सिकाएको पाठ के हो भने बालबालिकालाई कुन विद्यालयमा पढाउने भन्ने विषय उनीहरूको अगाडि नगरौँ । कुन विद्यालय अब्बल छ र कुन छैन भन्ने कुरा पनि उनीहरूको अगाडि नगरौँ । बालबालिकालाई हरेक विषयमा जित्न मात्रै सिकायौँ भने बालबालिकामा हारको समयमा फ्रस्टेसन आउन सक्छ । त्यसकारण एकले जित्दा अर्कोले हार्न पनि सक्छ भन्ने कुरासमेत सिकाउनुपर्छ । यदि समयमै यस्ता कुरा सिकाउन सकेनौँ भने बालमस्तिष्कमा धेरै नराम्रो असर पर्नेछ ।

रातोपाटि बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *