Loading...
चीनले जिम्मा लिएको सबै आयोजना अलपत्र, नेपालको बिकास कोमामा, नेपाल सरकार बेखबर

२५ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीले चीनको जिम्मामा रहेर अलपत्र परेका आयोजनाहरुबारे छलफल गर्ने तय त भएको छ l करिब अढाई वर्षदेखि चीनले आफैं गरिदिने गरी जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । दैलेखमा चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम अन्वेषणबाहेकका परियोजनाहरु अहिले पनि महामारी सुरु हुनुभन्दा अघिकै अवस्थामा छन् ।

चीनको भरमा छाडिएका विभिन्न विकासे आयोजना निर्माण तथा प्राकृतिक स्रोत उत्खखनको सम्भाव्यताको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् । काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग, प्रसारणलाइन, स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार, काठमाडौंको चक्रपथ विस्तार जस्ता परियोजना निर्माणका चरणमा पुगेर अलपत्र छन् । ‘बेल्ट रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गत अघि बढ्नुपर्ने अन्य परियोजना पनि कोमामै छन् ।

कोशी–गण्डकी–कर्णाली करिडोर, मदन भण्डारी प्राविधिक शिक्षालय, तमोर जलविद्युत् आयोजना, किमाथांका–हिले सडक, फुकोट जलविद्युत् परियोजना, दिपायल–चीन सडक जस्ता परियोजना त द्विपक्षीय सहमति भएर निर्माण अघि बढाउने विषय तय भएको छैन । चीनसँग ऋण लिएर परियोजना बीआरआईको परियोजना अघि बढाउन सरकारले चाहेको छैन । अनुदानमै थप परियोजना लिने सरकारको इच्छा छ । तर, त्यसमा चीन तयार भइसकेको छैन ।

चीनले पर्याप्त चासो नदिंदा काठमाडौंमा चक्रपथ विस्तारको काम पनि अघि बढ्न सकेको छैन । विभागले एक वर्षअघि नै कलंकी–महाराजगञ्ज–धोबीखोला विस्तार गर्न आग्रह गरेपनि महाराजगञ्जचोकमा मुआब्जाको समस्या देखिएपछि महाराजगञ्ज चोकबाहेकको खण्ड विस्तार अघि बढाउन चीनलाई आग्रह गरेको थियो । तर, चीन अझै यसमा सकारात्मक बनेको छैन ।

गत पुसमा चीनको प्राविधिक टोलीले चक्रपथका विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएपनि चीनले चक्रपथको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पठाएको छैन ।

विस्तारका लागि काम गर्ने टोली कहिले आउँछ भन्ने टुंगो पनि छैन । चीनले अनुदान सहयोग खर्च गर्ने गरी जिम्मा लिएको स्याफ्रुबेसी–रसुवागढी सडकको विस्तार तथा स्तरोन्नतिको काम पनि अलपत्र छ । चीन सरकारले पठाएको ठेकेदार कम्पनी २०७६ चैतपछि साइटमा फर्किएको छैन । ३ वर्षभित्र सकाउने गरी २०७६ मंसिरमा निर्माण सुरु भएको सडकमा अढाई वर्षदेखि काम ठप्प छ । चीनले टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गर्ने काम पनि अलपत्र छाडेको छ ।

२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म (टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो ।

त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययनबारे अन्योल छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *